डा. सीके राउत नेतृत्वको जनमत पार्टीभित्र एकपछि अर्को विवाद उठिरहेका छन्। पार्टीकै कतिपय नेताहरूले अध्यक्ष राउतले पार्टीलाई ‘परिवारवाद’मा फसाएको आरोप लगाउने गरेका छन्। पार्टीभित्रको यो पछिल्लो विवाद हो।
यसको कारण भने अध्यक्ष राउतले आफ्नो सहोदर दाजु डा. जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्षसहित एकैपटक तीन पदमा मनोनीत गरेको विषय हो। यसपछि पार्टीका राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साह, राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण साह, केन्द्रीय सदस्य वीरेन्द्र यादवलगायतका नेताहरूले चरम असन्तुष्ट जनाएका मात्रै छैनन्, ‘काउन्टर’मा ‘जनस्वाभिमान यात्रा’ समेत गर्दैछन्, जुन, भोलि सुरु हुँदैछ।
त्यसअगावै भर्खरै राष्ट्रिय उपाध्यक्ष मनोनीत डा. जयकान्त राउतले एक अपिल जारी गरेका छन्। पार्टी अध्यक्ष राउत अर्थात् आफ्ना भाइलाई ‘युगपुरुष’को संज्ञा दिँदै जयकान्तले विवादको समाधान संवादमार्फत खोजिनुपर्ने बताएका छन्। ‘व्यक्तिगत असन्तुष्टिहरूलाई परिपक्व राजनीतिक चेतनाबाट सम्बोधन गरौँ, पार्टीभित्र संवाद, सहकार्य र सहमतिका माध्यममार्फत समाधान खोजौँ अर्थात् असन्तुष्टिलाई आत्ममन्थनको माध्यम बनाऔँ, विचलनको होइन,’ जयकान्तले लेखेका छन्।
उनले अध्यक्ष राउतको गुणगान गाउँदै उनको नेतृत्व नै मधेसका लागि राम्रो हुने बताएका छन्। राउत असफल हुनु भनेको मधेस नै असफल हुनु भएको जिकिर उनको छ। ‘सीके राउत जस्तो कुशल, स्वच्छ छविको, त्यागी, बौद्धिक, दूरदर्शी नेतृत्वमाथि विगत केही महिनादेखि सुनयोजित रूपमा निरन्तर चरम घेराबन्दी हुँदै आएका छन्। यस्ता प्रयासहरूलाई असफल पार्न र स्वराज स्थापनाको लागि हामी सबैले उच्च मनोबलका साथ, एकताबद्ध भई विवेकशील र दूरदर्शी ढङ्गले अघि बढ्न अत्यावश्यक भएको छ। सीके राउतलाई असफल बनाउनु भनेको समग्र मधेश र मधेशीको विचार र मुद्दा असफल हुनु हो। जुन हामी सबैको लागि दुर्भाग्य हुनेछ। समस्त मधेशीको भाग्य र भविष्य फेरि गुलामीको अन्धकार गोलचक्रमा फस्नेछ। यस्तो सक्षम, योग्य र दूरदर्शी नेतृत्व पाउन मधेशले फेरि दशकौं कुर्नुपर्ने हुन्छ। किन भने भनिन्छ— युगपुरुष युगमा एक चोटी जन्म लिन्छ।’
जयकान्तले अवसरवादलाई अन्त्य गर्नुपर्ने, सबै नेता-कार्यकर्ता पार्टी र नेतृत्वप्रति जिम्मेवार, इमान्दार र निष्ठावान् बन्नुपर्ने, हरेक नेता-कार्यकर्ताको योगदानको मापन वैज्ञानिक मूल्याङ्कन प्रणालीबाट गर्नुपर्ने, विरोधीहरूबाट परिचालित एजेन्ट र घुसपैठियाहरूबाट बच्नुपर्ने बताएका छन्।
यता अध्यक्ष राउतसँग असन्तुष्ट पक्षीय नेताहरूले जयकान्तले माग गरेकै विषयहरू वर्षौँदेखि उठाइरहेका छन्। स्वयम् जयकान्त राष्ट्रिय उपाध्यक्ष मनोनीत हुँदा पनि नेताहरूले नेताहरूको पार्टीभित्र योगदानमा आधारित मूल्याङ्कन नभएको बताएका छन्। उनीहरूले पार्टी निर्माणार्थ नेताहरूलाई ‘बाइपास’ गरेर अरुलाई नै राजनीतिक लाभ दिलाइएको बताएका छन्।
राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहले अब आफूहरूको जिम्मेवारी स्वराजी आन्दोलनको मूल मर्मलाई बचाउनु रहेछ भनेर बुझेको बताएका छन्। ‘जनतासँग साँचो हिसाब गर्न सक्ने स्वच्छ, सत्य र वैकल्पिक राजनीति निर्माण गर्नु अब हाम्रो जिम्मेवारी हो,’ उनले भनेका छन्, ‘हामीले एक वैज्ञानिक, एक विद्वान् भनेर विश्वास गरेका थियौँ। तर, आज उहाँको अभिव्यक्तिमा असक्षमता, अहङ्कार र आत्मकेन्द्रितता स्पष्ट देखिन्छ। पार्टी केवल उहाँको व्यक्तिगत सम्पत्ति होइन, यो सयौं स्वराजीको बलिदान, संघर्ष र योगदानबाट बनेको हो।’
उनले जनस्वाभिमान यात्रामार्फत सत्य बोल्नेहरूको आवाजलाई 'संस्कृति' बनाउने बताएका छन्। 'हामी नयाँ राजनीति गर्ने सपना देख्यौँ। तर, हामीमाथि पुरानै शैलीको अत्याचार दोहोरिएको छ। सत्य बोल्नेहरूको आवाज दबाउने होइन, सुन्ने संस्कृति बनाऔँ। भविष्य भडुवा भन्नेले बनाउँदैन, भविष्य प्रश्न गर्नेहरूले बनाउँछन्,' उनले भनेका छन्।
यो पनि पढ्नुहोस्
जनमत विवाद : ‘जनस्वाभिमान यात्रा’मा निस्किँदै अध्यक्ष राउतसँग असन्तुष्ट नेताहरूप्रकाशित: २६ असार २०८२ १५:१६ बिहीबार





