१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

जनमत विवाद : ‘जनस्वाभिमान यात्रा’मा निस्किँदै अध्यक्ष राउतसँग असन्तुष्ट नेताहरू

मूलधारको राजनीतिमा अवतरण गरेयता नै डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी विवादरहित बन्न सकेको छैन। पछिल्लो संसदीय निर्वाचनमा राष्ट्रिय पार्टी बनेको जनमतभित्र त्यसयता लामै विवादका शृङ्खला चलेका छन्। पछिल्लो पटक अध्यक्ष राउतले सहोदर दाजु डा. जयकान्त राउतलाई एकैपटक तीनवटा जिम्मेवारी दिएयता त्यो विवाद झन् चर्केको छ।

अध्यक्ष राउतले पार्टी निर्माणार्थ योगदान गरेका नेताहरूलाई ‘बाइपास’ गरेर अरु व्यक्तिहरूलाई सङ्गठनात्मक लाभ दिएको, एकलौटी ढङ्गले पार्टी चलाएको, नेताहरूलाई बिना गल्ती कारबाही गरेको, पार्टीमा ‘परिवारवाद’ लादेको लगायतका आरोप लगाउँदै पार्टीका केही नेताहरूले असन्तुष्ट व्यक्त गर्ने गरेका छन्।

यसैबीच ती नेताहरू ‘जनस्वाभिमान यात्रा’मा निस्किँदै छन्। पार्टीका राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साह, राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव, केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारलगायतका नेताहरू ‘जनस्वाभिमान यात्रा’मा निस्कँदै छन्। सुरुवाती यात्रा मधेस प्रदेशकेन्द्रित हुने राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहले जानकारी दिए।

यात्रा आउँदो २७ गतेदेखि सुरु हुनेछ। यात्रा मधेसमा आठ दिन रहने र कोशी हुँदै अरु प्रदेशहरूमा जाने नेताहरूको योजना छ। ‘जनताको न्यायका लागि लड्छौँ। पार्टीभित्र लोकतन्त्र र पारदर्शिता पुनर्स्थापित गर्छौँ। विचार, आत्मसम्मान र वैकल्पिक नेतृत्वको नयाँ बाटो खोल्छौँ,’ उपाध्यक्ष साहले भनेका छन्, ‘मधेशमा शिक्षा, रोजगारी र स्वाभिमानको अभियान चलाउँछौँ।‘

साहले जनस्वाभिमान यात्रामार्फत जनताको बीचमा पुग्ने बताए। ‘साँचो शक्ति जनतासँगै छ। हाम्रो आवाजमा आवाज मिलाएर साथ दिनुस् भनेर भन्नेछौँ। हामी निलम्बित होइनौँ, जनताको नियुक्त प्रतिनिधि हौँ,’ उनले भनेका छन्।

साहसहित यादव र सोनार पनि पार्टीको कारबाहीमा परेका नेताहरू हुन्। पार्टी र नेतृत्वका प्रति सन्तुलित व्यवहार नगरेको, पदीय जिम्मेवारीअनुसार भूमिका ननिभाएको लगायतका आरोप लगाउँदै यी नेताहरूलाई पार्टीले काबाही गरेको हो। यद्यपि, नेताहरूले पार्टीले लगाएको आरोप आरोप मात्रै रहेको बताएका छन्।

त्यसो त नेताहरूले आफूमाथि लगाइएका आरोपहरूको प्रमाण मागिरहेका छन् तर, पार्टीले उपलब्ध गराएको छैन। त्यहीँबाट ती आरोपहरू आरोपभन्दा केही नभएको पुष्टि हुने साह बताउँछन्। ‘कुन हिसाबले ती आरोपहरू लगाइयो। त्यसका प्रमाण मागेको ९ महिना भइसक्यो, दिइएको छैन,’ साहले भने।

साहले आफूविरुद्धका आरोपहरूको प्रमाण मागेको पत्र।

साहले त पटक-पटक लिखित रूपमै निवेदनसमेत हालेका छन्। तर, पार्टीले उपलब्ध गराएको छैन। पछिल्लो पटक असार १८ गते मात्रै पनि साहले पार्टीक सूचना अधिकारीलाई सम्बोधन गर्दै पुन: ती प्रमाणहरू मागेका छन्। तर, अहिलेसम्म प्राप्त गरेका छैनन्। 

पार्टीका नेता-कार्यकर्ताहरूसमक्ष विकल्प प्रस्तुत

यात्रामा रहँदा नेताहरूले पार्टीका नेता-कार्यकर्ताहरूका बीचमा विकल्पसमेत प्रस्तुत गर्नेछन्। पार्टीभित्रै वैकल्पिक आवाज बन्न सक्ने मञ्च वा समूह बनाउनका नेताहरूले पार्टीका नेता-कार्यकर्ताहरूसमक्ष प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।

पार्टीका नेता-कार्यकर्ताहरूसमक्ष प्रस्तुत गर्ने विकल्पहरू।

‘वैकल्पिक राजनीतिक मञ्चको सम्भावना निर्माण समान सोच भएका पार्टीभित्रका र बाहिरका इमानदार नेता-कार्यकर्तालाई समेट्‌दै एउटा जनस्वाभिमानी मञ्च वा जनमत मूल विचार समूह बनाउने, जुन पार्टीभित्र वैकल्पिक आवाज बन्न सकोस्,’ अभियानका लागि बनाइएको बूकलेटमा भनिएको छ।

यो पनि पढ्नुहोस्

अध्यक्ष राउतका सहोदर दाइ उपाध्यक्ष बनाइएपछि जनमतमा चर्कियो विवाद

प्रकाशित: २२ असार २०८२ २१:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App