काभ्रेकी रामकुमारी तामाङ पति सन्तबहादुर तामाङकी कुरुवा बनेको महिनौं भइसकेको छ। नसारोगका कारण हिँड्न नसक्ने भएपछि सन्तबहादुर तीन–चार महिनादेखि उपचारका लागि अस्पताल धाइरहेका छन्। यही क्रममा दुई साताअघि उनी वीर अस्पतालको मेल मेडिकल वार्डमा भर्ना भएका हुन्। अस्पताल भर्ना भएयता रामकुमारी दिनरात पतिकी कुरुवा छिन्।
रामकसमारी दिनभरि कुर्सीमा बस्छिन् र राति पतिको शय्यामुनि साँघुरो ठाउँमा भुइँमा म्याट बिछ्याएर सुत्छिन्। चिसो भुइँमा सुत्नु सहज नभएकाले उनलाई खोकी लाग्न थालेको छ। तर पतिको हेरचाहका लागि कुरुवा बन्नु उनको बाध्यता हो। ‘भुइँमा सुतेर बिरामी हेर्न सजिलो छैन। हेरचाह राम्रो होला भनेर धेरैजसो आफैं कुरुवा बस्छु,’ उनले भनिन्। धेरै बिरामी भएको वार्डमा भुइँमा सुत्नुपर्दा असहज लाग्ने भए पनि विकल्प नभएको उनको भनाइ छ। ‘कुनै उपाय नभएपछि भुइँमै सुत्दै आएकी छु,’ उनले भनिन्।
सोही वार्डमा पति श्यामचन्द्र अधिकारीको उपचारका लागि अर्की महिला पनि एक महिनादेखि कुरुवा बस्दै आएकी छन्। यसअघि उनले कलंकीस्थित नेसनल अस्पतालमा पतिको उपचार गराएकी थिइन्। थप उपचारका लागि दुई सातादेखि वीर अस्पतालको मेल मेडिकल वार्डमा उनी पतिसँगै बस्दै आएकी छन्। पतिको सहजताका लागि प्रायः सबै रात उनी नै कुरुवा बन्छिन् तर अस्पतालमा कुरुवाका लागि सुत्ने व्यवस्था नभएकाले भुइँमै सुत्नुपर्ने बाध्यता रहेको उनले सुनाइन्।
‘चिसो भुइँमा म्याटका भरमा रात काट्नुपर्छ। चिसोका कारण शरीर दुख्न थालेको छ। दिनभरि धेरै मानिस हिँड्ने र धेरै बिरामी भएको कोठाको भुइँमा सुत्दा कुनै रोग सर्छ कि भन्ने चिन्ता पनि उत्तिकै लागिरहन्छ,’ उनले भनिन्, ‘यहीँ बिरामीको दिसापिसाब हुन्छ, म पनि भुइँमै सुत्नुपर्छ।’ फोहोर र चिसोका कारण आफू बिरामी पर्ने हो कि भन्ने चिन्ता रहेको उनले बताइन्। ‘अस्पतालमा बिरामीसँगै सानो पलङ भए सबै कुरुवालाई सजिलो हुन्थ्यो,’ उनले भनिन्। यसअघि पति आइसियुमा हुँदा पनि आफूले भुइँमै सुत्नुपरेको र अहिले पनि छोराछोरी आइसियुनजिकैको कुरुवा कक्षमा भुइँमै सुत्ने गरेको उनले सुनाइन्।
काठमाडौं उपत्यकाका अधिकांश सरकारी अस्पतालमा कुरुवाका लागि सुत्ने व्यवस्था छैन। उनीहरू चिसो र फोहोर भुइँमा रात कटाउन बाध्य छन्। यसकारण बिरामीको हेरचाह गर्न आएका उनीहरू आफैं बिरामी पर्ने जोखिम बढेको छ।
वीर अस्पताल मात्र होइन, काठमाडौं उपत्यकाका अधिकांश सरकारी अस्पतालमा कुरुवाले बिरामीको हेरचाहसँगै भुइँको सुताइ पनि झेल्नुपर्छ। गत साता गंगालाल अस्पतालमा आफ्ना बुवाको हेरचाहमा खटिएका चेतलालले पनि भुइँमै सुतेको बताए। उनी बसेको जनरल वार्डमा पनि कुरुवाका लागि सुत्ने व्यवस्था थिएन। गंगालालमा क्याबिन र पोस्ट अपरेटिभ वार्डका कुरुवाका लागि सुत्ने मेचको व्यवस्था भए पनि अन्य वार्डमा छैन। उपत्यकाका टिचिङ, वीर, प्रसूति र कान्ति अस्पतालमा पनि अधिकांश कुरुवा भुइँमै सुत्ने गर्छन्। आइसियुका बिरामीका कुरुवाका लागि कुरुवा कक्ष तथा क्याबिनका कुरुवाका लागि मेच वा सोफाको व्यवस्था भए पनि जनरल तथा अन्य वार्डका कुरुवाका लागि त्यस्तो व्यवस्था छैन।
प्रसूति अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी भन्छन्, ‘प्रसूतिका लागि भर्ना भएका बिरामीका कुरुवालाई छुट्टै कक्षको व्यवस्था छ। जनरल बेडका कुरुवाले भने भुइँमै म्याट राखेर सुत्ने गरेका छन्। पोस्ट अपरेटिभ वार्डका कतिपय ठाउँमा मेच पनि राखेका छौं।’ टिचिङ अस्पतालमा पनि आइसियुका बिरामीका कुरुवाका लागि कुरुवा कक्षमा एउटा बेडको व्यवस्था छ। क्याबिनका कुरुवाले क्याबिनकै मेच प्रयोग गर्न पाउँछन्। तर जनरल तथा अन्य वार्डका कुरुवा भने भुइँमै सुत्न बाध्य छन्।
टिचिङ अस्पतालका नेफ्रोलोजिस्ट डा. महेश सिग्देलका अनुसार अस्पतालको भुइँमा सुतेर बिरामी कुर्नु स्वास्थ्यका हिसाबले उपयुक्त होइन। ‘कुरुवाका लागि पलङ राख्ने हो भने बिरामीका शय्या घटाउनुपर्ने अवस्था आउँछ,’ उनले भने। यद्यपि कुरुवाका लागि पलङ वा मेचको व्यवस्था आवश्यक रहेको चिकित्सकहरू स्वीकार्छन्। सरकारी अस्पतालमध्ये सिभिल अस्पतालमा भने हरेक बिरामीका कुरुवाका लागि फोल्डिङ मेचको व्यवस्था छ। यस्तै अभ्यास अन्य अस्पतालमा पनि हुनुपर्ने कुरुवाहरूको माग छ।
रेफरल भएर राजधानी आउने अधिकांश बिरामी उपत्यकाबाहिरका हुन्छन् र उनीहरूको उपचार लामो समय चल्र्छ। सीमित कुरुवाका भरमा बिरामीको हेरचाह गर्दा एउटै व्यक्ति लामो समयसम्म भुइँमा सुत्न बाध्य हुने चिकित्सकहरू बताउँछन्। वीर अस्पतालका फिजियोलोजिस्ट डा. ध्रुव गैरेका अनुसार जनरल वार्डमा लामो समय भुइँमा सुत्ने कुरुवा आफैं बिरामी पर्ने गरेका छन्। ‘अस्पतालमा लामो समय कुरुवा बसेका धेरै व्यक्तिपछि आफैं ओपिडीमा उपचार गर्न आएको देखिन्छ,’ उनले भने।
डा. गैरेका अनुसार सरकारी अस्पतालमा बिरामीको चाप धेरै हुँदा वार्ड प्रायः भरिभराउ हुन्छन्। टिचिङ अस्पतालका सहायक निर्देशक डा. पवन चालिसे कुरुवालाई भुइँमा सुत्न बाध्य बनाउनु अमानवीय व्यवहार भएको बताउँछन्।
कुरुवा आफैं बिरामी पर्छन्
भरिभराउ वार्डमा शौचालय पर्याप्त सफा हुँदैनन्। कुरुवाका लागि नुहाउने बाथरुमको व्यवस्था पनि छैन। खाना बाहिर खानुपर्दा पनि स्वास्थ्य जोखिम बढ्छ। त्यसका कारण झाडापखाला, डेंगी, अस्पतालको भुइँमा मुसाले टोकेर रेबिज, छालासम्बन्धी संक्रमण, चिसोका कारण बाथ, दम र निमोनियाजस्ता समस्या हुन सक्ने डा. गैरे बताउँछन्।
उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्पतालमा शय्याबिच पर्याप्त दुरी, कुरुवाका लागि छुट्टै पलङ र सरसफाइको उचित व्यवस्थापन हुनुपर्ने भए पनि नेपालका अधिकांश सरकारी अस्पतालमा त्यो सम्भव भएको छैन। ‘कुरुवाका लागि पलङ राख्ने अवस्था अहिले देखिँदैन,’ उनले भने। सहिद गंगालाल हृदय केन्द्रका सूचना अधिकारी सुदीप दाहालले यस विषयमा अस्पतालको पर्याप्त ध्यान पुग्न नसकेको स्वीकार्दै आगामी दिनमा व्यवस्थापनसँग छलफल गरेर विकल्प खोजिने बताए। ‘अस्पताल व्यवस्थापनसँग हामी कुरा राख्छौं,’ उनले भने।
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार पछिल्लो समय नयाँ प्रविधि भित्र्याएर सेवा सहज बनाउने प्रयास भइरहेको छ। उनका अनुसार अस्पताल भवनमा छुट्याइएको खुला स्थान कुरुवाको सुविधालाई ध्यानमा राखेर बनाइए पनि सबै अस्पतालमा मेच राख्ने व्यवस्था हुन सकेको छैन। टिचिङ अस्पताल महाराजगन्जका सहायक निर्देशक डा. पवन चालिसे उपचारको माग बढ्दै जाँदा अस्पतालले बिरामीका लागि शय्या विस्तार गरे पनि कुरुवाको व्यवस्थापनमा पर्याप्त ध्यान दिन नसकेको स्वीकार्छन्। ‘टिचिङ अस्पताल मेडिकल अध्ययनका लागि स्थापना भएको थियो तर बिरामीको अत्यधिक चापका कारण पछिल्ला चार दशक शय्या विस्तारमै बिते,’ उनले भने।
उनका अनुसार आइसियु र क्याबिनमा केही व्यवस्था भए पनि अन्य वार्डमा अझै पर्याप्त व्यवस्थापन हुन सकेको छैन। अस्पतालले गुणस्तर प्रवर्द्धन तथा बिरामी सुरक्षा कार्यक्रम लागु गरिसकेको र त्यससँगै कुरुवाको सुरक्षालाई पनि प्राथमिकतामा राखिने उनले बताए। पछिल्लो समय कान्ति बाल अस्पतालको मनोचिकित्सा वार्डमा आधुनिक शय्यासँगै कुरुवाका लागि पनि फोल्डिङ पलङको व्यवस्था गरिएको उनले जानकारी दिए। यस्ता व्यवस्थापनका लागि मन्त्रालयले यस वर्ष बजेट पनि विनियोजन गरेको उनको भनाइ छ। ‘कुरुवाका लागि पनि देशभर एकरूप व्यवस्था हुनुपर्छ। सरकारले नयाँ संरचनामा त्यहीअनुसार व्यवस्था गर्दै जान्छ, पुराना अस्पतालमा पनि आवश्यक सुधार गर्नुपर्छ,’ उनले भने।
प्रकाशित: १२ श्रावण २०८३ १०:०२ मंगलबार





