३० भाद्र २०८३ मंगलबार
image/svg+xml
खेल

भारतले ट्रफी लिन अस्वीकार गरेपछि महिला एसिया कपको पुरस्कार समारोह विवादमा

महिला एसिया कप क्रिकेटको फाइनलपछि दुबईमा भएको पुरस्कार वितरण समारोह विवादमा परेको छ। श्रीलंकालाई ७२ रनले हराउँदै उपाधि जितेको भारतले एसियन क्रिकेट काउन्सिलका अध्यक्ष मोहसिन नक्वीबाट ट्रफी र पदक लिन अस्वीकार गरेपछि समारोह चर्चामा आएको हो।

नक्वी पाकिस्तानका गृहमन्त्रीसमेत हुन्। भारत र पाकिस्तानबीच जारी राजनीतिक तनावका कारण भारतीय टोलीले नक्वीबाट उपाधि ग्रहण गर्न अस्वीकार गरेको बताइएको छ।

आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनल राति करिब ९ः५० बजे सकिएको थियो। तर पुरस्कार वितरण समारोह ४५ मिनेटभन्दा बढी ढिला हुँदै राति १०ः४० बजे मात्रै सुरु भएको थियो। खेलाडीहरू लामो समयसम्म आ-आफ्नो ड्रेसिङ रुममै प्रतीक्षा गरिरहेका थिए।

अस्थायी मञ्च तयार भएपछि नक्वी अन्य विशिष्ट अतिथिसँगै पुरस्कार वितरणका लागि उपस्थित भएका थिए। सुरुमा खेलका अधिकारीलाई पदक प्रदान गरिएको थियो। त्यसपछि उपविजेता श्रीलंकाका खेलाडीलाई पदक प्रदान गरियो।

श्रीलंकाकी कप्तान चामरी अटापट्टुले नक्वीबाट उपविजेताको पुरस्कार ग्रहण गर्दै आफ्नो टोलीको प्रदर्शनबारे धारणा राखिन्।

तर त्यसपछि भने व्यक्तिगत पुरस्कारसमेत वितरण भएन। खेलको उत्कृष्ट खेलाडी र प्रतियोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार दिइएन भने भारतीय खेलाडीलाई पदक तथा ट्रफी लिन मञ्चमा समेत बोलाइएन।

भारतले श्रीलंकालाई ७२ रनले हराउँदै महिला एसिया कपको उपाधि कीर्तिमानी आठौँ पटक जितेको हो। यसअघि श्रीलंकाले सन् २०२४ मा उपाधि जितेको थियो।

पुरस्कार समारोहपछि प्रतियोगिताको आधिकारिक सामाजिक सञ्जालमा पनि भारतको ट्रफी जितेको तस्बिर सार्वजनिक गरिएको थिएन। भारतीय महिला क्रिकेट टोलीको सामाजिक सञ्जालमा भने खेल सकिएपछि खाली रंगशालाजस्तो देखिने स्थानमा प्रशिक्षक र खेलाडीसहितको सामूहिक तस्बिर सार्वजनिक गरिएको थियो।

भारत र पाकिस्तानबीचको राजनीतिक तनावको असर क्रिकेटमा समेत देखिँदै आएको अवस्थामा महिला एसिया कपको पुरस्कार समारोहमा देखिएको घटनाले दुई देशबीचको क्रिकेट सम्बन्धलाई थप चर्चामा पाएको हो।

प्रकाशित: २९ भाद्र २०८३ १०:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App