२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

एमालेको दाबी: जनता र कार्यकर्तासँग नेताको सम्बन्ध सुध्रिँदै गएको छ

नेकपा एमालेले जनतासँग पार्टीको र कार्यकर्तासँग पार्टीका नेताको सम्बन्धमा सुधार हुँदै गएको निष्कर्ष निकालेको छ । पार्टी बिस्तारको महत्त्वपूर्ण अंगको रूपमा रहेको संगठन विभागको बैठकले एमालेले सञ्चालन गरेको जरा केन्द्रित अभियानले आम कार्यकर्ता पनि चलायमान भएको जनाएको हो।

संगठन विभागका सचिव माधव ढुंगेलले मंगलबार एक विज्ञप्ति जारी गर्दैै २०८१ माघ देखि चैतसम्म सञ्चालन भएको वडा केन्द्रित पार्टी निर्माण अभियान (जरा अभियान)का कारण पार्टी गतिविधि बढेको, पार्टी चलायमान भएको, मातहतका अधिकांश पार्टी कमिटीका अधिवेशन भएको, पार्टी सदस्यता नवीकरण र बिस्तारमा उल्लेख्य प्रगति भएको जनाइएको छ।

‘जनतासँग पार्टी नेता र कार्यकर्ताको सम्बन्धमा सुधार आएको। समय पुगेका जनसंगठनका महाधिवेशन र अधिवेशनहरू भएका र उनीहरू क्रमशः आफ्नो समुदायमा स्थापित हुँदै गएको देखिएको छ’ ढुंगेलले विज्ञप्तिमा लेखेका छन्, ‘जरा अभियानले जिम्मेवारी पाएका नेता कार्यकर्ताको सक्रियता बढाएको र निर्णय कार्यान्वयनमा  सुधार आएको महसुस भएको छ ।’

एमालेले राजवादीको प्रतिगामी हर्कतले जरा अभियानमा निर्धारण काम हुन नसके पनि त्यस बेलाका कार्यभारलाई निरन्तरता दिन सबै कमिटीहरूलाई निर्देशन पनि दिएको छ। माघदेखि हालसम्म करिब ९८ प्रतिशत पालिका कमिटीका अधिवेशन भएका, ८५ प्रतिशत वडाका अधिवेशन भएका र करिब १७ हजार मध्ये १० हजार भन्दा बढी टोल कमिटीहरू गठन गरिएको संगठन विभागले जनाएको छ।

विभागले महाधिवेशन तथा अधिवेशनहरूमा जिम्मेवारी नपाएर बाहिर रहेका नेताहरूलाई अविलम्ब जिम्मेवारी दिनका लागि पार्टी नेतृत्वसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ । 

‘जरा अभियान जस्तै अभियान लिएर जनताको घरघर सम्म पुग्ने र जनसेवा गर्ने काममा निरन्तरता दिनुपर्ने आवश्यकता गहिरो गरी महसुस गरियो’ विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा २३ वटा जनसंगठनका महाधिवेशन सम्पन्न भएका, पार्टीका ७७ जिल्लामध्ये ४९ वटामा निर्वाचन र २८ वटामा सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ। 

पार्टीका आसन्न विधान महाधिवेशनका सन्दर्भमा विधान संशोधन र सङ्गठनात्मक दस्ताबेजका लागि माग गरिएका विषयमा पार्टी नेतृत्वलाई सङ्गठनात्मक रिपोर्ट र आवश्यक विवरण बुझाउन पनि आग्रह गरेको छ। यसै गरी पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा बनाउन व्यवस्थित र योजनाबद्ध ढंगले अघि बढ्ने पनि बैठकको निर्णय छ । ‘पार्टीका कोर भ्यालुज स्थापित गर्न,पार्टीलाई डिजिटलाइज  गर्न प्रणालीमा अभ्यस्त गराउन विशेष अभियान चलाउने प्रस्ताव पनि पारित गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ । 

पार्टी सदस्यहरूमा एमालेका बारेको आधारभूत जानकारी परीक्षण गर्नका लागि पार्टी सदस्य वितरण पूर्व अनिवार्य रूपमा परीक्षा गर्ने, मतदाताको ६ प्रतिशत पार्टी सदस्य संख्या पु¥याउने प्रस्ताव पारित गरेको छ । यसै गरी समुदायसँग जनसंगठन अभियान सञ्चालन गर्ने, सबै तहका कमिटीका लघु प्रशिक्षण आयोजना गर्ने, जिल्लामा एमालेको प्रोफाइल तयार गर्ने, दुई पुस्ता सँगसँगै कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले आगामी विधान महाधिवेशनका लागि संशोधन प्रस्तावहरू मर्यादित भाषामा पठाउने सबै पार्टी कमिटीहरूलाई निर्देशन पनि गरेको छ।

प्रकाशित: ३१ असार २०८२ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App