नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको प्रक्रियामा आदिवासी जनजातिको पहिचान सुरक्षित हुने व्यवस्था मिलाइने बताएका छन् ।
नेपाली कांग्रेसको आदिवासी जनजाति विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘आदिवासी जनजाति योद्धाहरू’ पुस्तक विमोचन समारोहमा बोल्दै आदिवासी जनजाति समुदायले प्रजातन्त्र स्थापनाका लागि पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गरेको बताए ।
सभापति देउवाले भने, ‘नेपाली कांग्रेस स्थापनाअघि नै आदिवासी जनजातिका साथीहरूले प्रजातन्त्रका लागि संघर्ष गर्नुभएको छ। उहाँहरूले प्रजातन्त्र स्थापनामा घरपरिवारको प्रवाह नगरी जीवनसम्म बलिदान दिनुभएको छ। यिनै योगदानकै आधारमा आज नेपाल लोकतान्त्रिक गणतन्त्र बन्न सफल भएको हो।’
कार्यक्रममा विमोचित ‘नेपाली कांग्रेसका आदिवासी जनजाति योद्धाहरू’ पुस्तकमार्फत पुर्याएको योगदानलाई दस्तावेज गरिएको जानकारी दिँदै देउवाले ती अग्रज योद्धाहरूको योगदान अमूल्य रहेको बताए । साथै, योद्धाका परिवारजनलाई सम्मान गर्न पाउँदा आफूलाई खुशी लागेको देउवाले बताए ।
सभापति देउवाले पार्टीको संरचना समावेशी र समानुपातिक मूल्यमा आधारित बनाइएको उल्लेख गर्दै आदिवासी जनजातिको सहभागिता सुनिश्चित गर्न केन्द्रीय समितिमा एक जना सहमहामन्त्री र कम्तीमा १५ जना केन्द्रीय सदस्य निर्वाचनमार्फत चयन हुने व्यवस्था गरिएको जानकारी दिए ।
‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशिताजस्ता ऐतिहासिक उपलब्धिहरू कांग्रेसकै नेतृत्वमा सम्भव भएका हुन्। ती उपलब्धिहरूको प्रभावकारी कार्यान्वयनमा हाम्रो पार्टी दृढ छ,’ उनले भने।
देउवाले आदिवासी जनजाति विभाग र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघजस्ता संरचनामार्फत पार्टीमा पहिचान र प्रतिनिधित्व सशक्त बनाइएको उल्लेख गर्दै आदिवासी जनजातिको सक्रियताले पार्टी थप बलियो बनेको बताए ।
उनले समावेशी संविधानको संरक्षण आवश्यक रहेको भन्दै सबै समुदायको सहभागितासहितको संविधान देशको लोकतान्त्रिक भविष्यको आधार रहेको बताए ।
त्यसैगरी, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको कमजोरी सुधार्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कांग्रेस निराशा होइन, भरोसा बाँड्ने पार्टी भएको बताए ।
प्रकाशित: ६ भाद्र २०८२ २०:३८ शुक्रबार





