रौतहटको राजनीतिमा ‘टाइगर’ र ‘शेर’ जस्ता उपनामले परिचित महम्मद आफताब आलमले शनिबार अन्तिम सास फेरे।
राजनीतिमा आएदेखि नै सधैं चर्चामा रहेका आलमको एक महिनादेखि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको थियो। उपचारकै क्रममा आलमले शनिबार बिहान ३ बजे भेन्टिलेटरमा अन्तिम सास लिएका हुन्।
नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले ६३ वर्षीय ‘टाइगर’ को असामयिक निधनले रौतहटको राजनीतिमा सधैं रिक्तताको अनुभूति हुने बताएका छन्। गत जेठ १४ गते काठमाडौंस्थित नख्खु कारागारबाट रिहा भएका आलम निरन्तर बिरामी परिरहेका थिए।
रिहा भएको केही समयपछि आलमलाई मस्तिष्कघात भएको थियो। आलमलाई काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा एक हप्ताभन्दा बढी समयसम्म आइसियुमा राखेर उपचार गरिएको थियो।
आलमका छोरा डा. राजीक आलमले बुबालाई डेढ महिनाअघि भारतको राजधानी नयाँ दिल्लीस्थित मेदान्ता अस्पतालमा उपचार गराइएको थियो।
मेदान्तामा आलमको स्वास्थ्यमा सुधार आएपछि रौतहटस्थित घर ल्याइएको थियो। केही समयपछि स्वास्थ्यमा झन् खराबी देखिएपछि आलमलाई काठमाडौं मेडिकल कलेज (केएमसी) मा भर्ना गरियो।
दसैंअघिदेखि नै बिरामी परेका आलमको उपचार जारी थियो। उपचारकै क्रममा आलमले केएमसीमै आफ्नो राजनैतिक विरासतलाई विराम दिएका छन्।
आलम पटक-पटक प्रतिनिधिसभा सदस्य भई मन्त्रीसमेत बनेका थिए। आफ्ना काका नेपाली कांग्रेसका चर्चित नेता तथा पूर्वमन्त्री शेख इद्रिशको उत्तराधिकारीको रुपमा उनलाई राजनीतिक विरासत प्राप्त भएको थियो।
नेपाली कांग्रेसको रौतहट सभापति हुँदै केन्द्रीय सदस्यसमेत भएका रौतहटको राजपुर निवासी महम्मद आफताब आलमकोजिल्लामा ठुलै धाक थियो।
२०६४ चैत २७ गते पहिलो संविधान सभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुर र ओसी अख्तरलाई इँटाभटामा जिउँदै जलाएर हत्या गरेको कसुरमा रौतहट जिल्ला अदालतबाट महम्मद आफताब आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको थियो।
आलमलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसलालाई गत जेठ १४ गते उल्टाउँदै सफाइ दिएको थियो।
उच्च अदालतबाट सफाइ पाएको खुसी राम्ररी मनाउन नपाउँदै आलम बिरामी परेका थिए। बिरामी अवस्थामै आलम अस्ताए।
हाल आलमका छोरा डा. राजीक आलम राजपुर नगरपालिकाको नगर प्रमुख छन्।
प्रकाशित: २२ कार्तिक २०८२ २२:५१ शनिबार





