प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको नतिजा आएसँगै नयाँ सरकारलाई सहज रूपमा सत्ता हस्तान्तरण गरेर आफूहरू घर फर्कने बताएकी छन्।
बिहीबार जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनपछि बन्ने नयाँ सरकारलाई कुनै अवरोध विना जिम्मेवारी सुम्पिने स्पष्ट पारिन्।
‘तपाईंहरू ढुक्क मान्नुस्, चुनाव आयो। जनताले मतदान गर्न पाउँछन् र त्यसको रिजल्ट आउँछ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘रिजल्ट आएपछि सरकार बन्छ, हामी थपक्क हस्तान्तरण गर्छौँ र आ-आफ्नो घरतिर जान्छौं।’
उनले ठट्यौली शैलीमा आफू सरकारी निवास बालुवाटारमा बसेको र अब आफ्नै घर फर्कने बताइन्। ‘अरु मन्त्रीज्यूहरू त आफ्नै घरमा बस्नुभएको छ, उहाँहरू घरतिरै जानुहुन्छ। म मात्र बाहिर बसेको हो, म पनि आफ्नो घरतिर जान्छु,’ उनले थपिन्।
प्रधानमन्त्री कार्कीले चुनाव दुई चरणमा नभई तोकिएकै मितिमा देशभर एकै दिन सम्पन्न हुने ठोकुवा गरिन्।
‘चुनाव दुई चोटी हुने वाला कहिँ छैन, एकै दिनमा हुन्छ,’ उनले भनिन्, ‘मौसम पनि राम्रो हुन्छ होला। जे कुरा गर्दै गयो, त्यो राम्रो हुँदै गइरहेको छ।’
मतपत्र छपाइको काम र निर्वाचन आयोगको तयारीप्रति उनले उच्च सन्तोष व्यक्त गरिन्। जनक शिक्षाका कर्मचारी र निर्वाचन आयोगले ‘स्विफ्ट’ गतिमा काम गरेको भन्दै उनले निर्वाचन आयोग चुनावको एउटा मुख्य खम्बा भएको बताइन्।
निरीक्षणमा प्रधानमन्त्रीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहभागी थिए।
प्रकाशित: २२ माघ २०८२ १८:१९ बिहीबार





