नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगनकुमार थापाले आफू सर्लाहीमा फोटो खिचाउन र हात हल्लाउन मात्र नभई यहाँका जनताको सेवक बन्न आएको बताएका छन्।
सोमबार पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र आइपुगेका थापाले सर्लाहीको धनकौल गाउँपालिका–२ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
मतदाता तथा शुभेच्छुकहरूलाई सम्बोधन गर्दै थापाले भने, ‘म यहाँ एकछिन आएर, बोलेर, हात हल्लाएर र फोटो खिचाएर जान आएको होइन। म तपाईंहरूकै हुन आएको हुँ, तपाईंहरूको अंग र अंश हुन आएको हुँ।’
सम्बोधनका क्रममा थापाले सर्लाही टेक्ने बित्तिकै यहाँको माटोलाई ढोगेको स्मरण गरे। ‘मधेसले कांग्रेसलाई लगाएको गुन, नेपालको प्रजातन्त्र र सिङ्गो देशलाई लगाएको गुन मलाई राम्रोसँग थाहा छ,’ थापाले भने, ‘दिवंगत नेता प्रदीप गिरिको संगतले मलाई मधेस बुझ्ने र चिन्ने मौका मिल्यो। जबसम्म आफूलाई मधेसमा समर्पित गर्दिनँ, तबसम्म पूर्ण रूपमा नेपाली बन्न सक्दिनँ भन्ने लागेर म यहाँ आएको हुँ।’
पूर्वमन्त्री समेत रहेका थापाले यस क्षेत्रको शिक्षा, स्वास्थ्य र कृषिको अवस्था सुधार्न आफ्नो टिमले काम सुरु गरिसकेको जानकारी दिए। विगतमा मुलुकलाई गणित र विज्ञानका शिक्षक दिने मधेसका विद्यालयहरूको अवस्था अहिले खस्किएकोप्रति उनले चिन्ता व्यक्त गरे।
‘मेरो बुबालाई सोलुखुम्बुमा गएर सप्तरीको शिक्षकले गणित पढाएर इन्जिनियर बनाउनुभयो, तर आज मधेसकै विद्यालयमा गणित, विज्ञान र अंग्रेजी कमजोर हुनु दुभाग्यपूर्ण छ,’ उनले भने, ‘यहाँका नौजवानहरू रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न र सूचना प्रविधिको युगमा यहाँका विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन मेरो प्राथमिकता रहनेछ।’
काठमाडौं क्षेत्र नम्बर-४ बाट तीन पटक सांसद भइसकेका थापाले चौथो पटक सर्लाही रोज्नुको कारण यहाँका जनताको मन जित्न भएको बताए।
उनले सांसद भनेको शासक नभई सेवक भएको जिकिर गर्दै काठमाडौंमा सर्लाही–४ का जनताका लागि छुट्टै र स्थायी सम्पर्क कार्यालय स्थापना गर्ने घोषणा गरे।
‘तपाईंहरू सांसद खोज्न काठमाडौंका गल्ली धाउनुपर्दैन। काठमाडौंमा तपाईंहरूको गुनासो सुन्ने र समस्या समाधान गर्ने व्यवस्थित कार्यालय हुनेछ,’ थापाले प्रतिबद्धता जनाए, ‘म यहाँको विकास र तपाईंहरूको सुखदुःखमा सधैं साथमा रहनेछु।’
आगामी फागुन २१ गते हुने निर्वाचनमा रुख चिह्नमा मतदान गरेर आफूलाई प्रतिनिधि चुनेकोमा कुनै पनि मतदाताले शिर निहुराउन नपर्ने उनले विश्वास दिलाए।
उनले भने, ‘म अरू ठाउँका लागि कांग्रेसको सभापति वा नेता हुँला, तर सर्लाही–४ का लागि म तपाईंहरूको सेवक हुँ।’
प्रकाशित: १२ माघ २०८२ १८:३७ सोमबार





