राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँगको भेटवार्ता नयाँ र वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयासको सुरुवात भएको बताएका छन्।
सोमबार राति अबेरसम्म चलेको भेटवार्तापछि मंगलबार सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति लामिछानेले परिवर्तनका पक्षधर र वैकल्पिक शक्तिहरूलाई संवादमार्फत एकताबद्ध बनाउने पहल स्वरुप छलफल अघि बढाइएको स्पष्ट पारेका हुन्।
‘रास्वपाले पहिलेदेखि नै भन्दै आएको छ, परिवर्तनमा लाग्नुभएका नयाँ र वैकल्पिक शक्तिहरूलाई संवादमार्फत एक ठाउँमा ल्याउनुपर्छ,’ लामिछानेले भने, ‘त्यही प्रयासको एउटा महत्त्वपूर्ण कडीका रूपमा हामी अगाडि बढिरहेका छौं।’
बालेनसँगको भेटमा प्रधानमन्त्रीको उम्मेदवार वा अन्य राजनीतिक पद बाँडफाँटका विषयमा सहमति भएको भन्ने हल्लाहरूमा सत्यता नरहेको लामिछानेले संकेत गरे।
उनले दुई जना बस्दा बाहिर अनेक अड्कलबाजी हुनु स्वभाविक भए पनि अहिले नै राजनीतिक भागबण्डाको चरणमा प्रवेश नगरिएको बताए।
‘हामी दुईजना मात्र बसेको वार्तामा बाहिर सबैले आफूलाई जे स्वाद लाग्छ, त्यही भन्दिन त भएन,’ लामिछानेले भने, ‘अहिले हामी राजनीतिक चरणमा प्रवेश गरेका छैनौं। पहिला त थाहा हुनुपर्यो, कुराकानी हुनुपर्यो। एक अर्काको परिस्थिति र विचार बुझ्नुपर्यो। अहिले हामी त्यही चरणमा छौं। त्यसैले तपाईंहरूले पनि हतार नगर्नुहोला।’
सभापति लामिछानेले यो प्रयास बालेन शाहसँग मात्र सीमित नरहेको बताए। उनले सुदन गुरुङ लगायत अन्य स्वतन्त्र व्यक्तिहरूसँग पनि निरन्तर संवाद भइरहेको र समय मिलेमा कुलमान घिसिङसँग पनि छलफल गर्ने योजना रहेको जानकारी दिए।
‘सबै शक्तिसँग कुराकानी गरेर एक ठाउँमा आउनका लागि हामी प्रयास गर्छौं,’ उनले थपे, ‘रास्वपाले यसमा नेतृत्वदायी भूमिका खेल्छ र यो हाम्रो जिम्मेवारी पनि हो।’
यसअघि सोमबार साँझ सभापति लामिछाने र मेयर बालेन शाहबीच काठमाडौंको कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम शाहको निवासमा भेटवार्ता भएको थियो।
भेटमा रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्याल र मेयर शाहका तर्फबाट सल्लाहकार कुमार बेन (ब्यञ्जनकार) सहभागी थिए।
करिब ६ घण्टासम्म चलेको उक्त छलफल राति १ बजेमात्र सकिएको थियो।
प्रकाशित: ८ पुस २०८२ १५:१८ मंगलबार





