नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘सुरक्षा थ्रेट’ भन्दै मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
थ्रेट के थियो? कसले दिएको थियो? सूचना कहाँबाट आयो? भन्ने प्रश्नहरूको जवाफ सरकारले नागरिकसामु दिनुपर्ने उनले बताएका हुन्। सरकार यस विषयमा अहिलेसम्म मौन रहेको बताउँदै उनले भने, 'पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘सुरक्षा थ्रेट’ भन्दै मध्यरातमा नियन्त्रणमा लिइयो, करिब १२ घण्टापछि छोडियो। तर थ्रेट के थियो? कसले दिएको थियो? सूचना कहाँबाट आयो? अहिलेसम्म सरकार मौन छ।'
सुरक्षा खतरा थियो भने खतरा दिने व्यक्ति वा समूहको पहिचान गरेर कारबाही गर्ने कि खतरा भोगिरहेको व्यक्तिलाई नै नियन्त्रणमा लिने भन्दै उनले प्रश्न गरे।
'सुरक्षा खतरा थियो भने खतरा दिने व्यक्ति वा समूहको पहिचान गरेर कारबाही गर्ने कि खतरा भोगिरहेको व्यक्तिलाई नै नियन्त्रणमा लिने? अझ गम्भीर प्रश्न- १२ घण्टामै समाप्त हुने कस्तो सुरक्षा थ्रेट थियो?' सामाजिक सञ्जालमा लेख्दै उनले भने, 'सरकारले नागरिकलाई जवाफ दिनुपर्छ। ‘सुरक्षा थ्रेट’ भन्ने दुई शब्दको पर्दा पछाडि लुकेको वास्तविकता सार्वजनिक गर्ने हिम्मत सरकारसँग छ कि छैन?'
प्रकाशित: १३ आश्विन २०८३ ०९:५५ मंगलबार





