१४ आश्विन २०८३ बुधबार
image/svg+xml
समाज

बिहीबारदेखि फेरि मौसम परिवर्तन हुँदै, यसो भन्छन् मौसमविद्

मौसमविद् विनोद पोखरेलले आगामी दिनमा देखिने मौसम परिवर्तनलाई लिएर धेरै डराउनुपर्ने अवस्था नरहेको बताएका छन्। उनले केही चिसो बढ्ने भए पनि आइतबारदेखि अर्को साताको अधिकांश समय मध्यपहाडी र हिमाली क्षेत्रमा मौसम बदलीसँगै वर्षा तथा हिमपातको सम्भावना रहेको बताए।

पोखरेलका अनुसार बिहीबारदेखि नै आकाशमा बादल देखिन थाल्नेछ। नेपालमाथि माथिल्लो वायुमण्डलमा ट्रफ रहने भएकाले यस्तो मौसम देखिन लागेको उनले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार (असोज १३ गते) दिउँसो देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली र पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। राति पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

बुधबार (असोज १४ गते) देशभर आंशिक बदली रहनेछ। हिमाली र पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

बुधबार राति कोशी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान छ। तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

बिहीबार (असोज १५ गते) कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ।

बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

बिहीबार राति पनि कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहने तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ।

मौसमविद् पोखरेलका अनुसार आगामी दिनमा मध्यपहाड र हिमाली क्षेत्रमा चिसो महसुस हुने भए पनि हालको अवस्थालाई लिएर आत्तिनुपर्ने अवस्था भने छैन।

प्रकाशित: १३ आश्विन २०८३ ०९:४६ मंगलबार