शुक्लागण्डकी नगरपालिका–४ मा जिपको ठक्करबाट घाइते एक बेवारिसे व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पोखरा लगिएको छ। जिपको ठक्करबाट घाइते नाम थर वतन नखुलेका उनलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारपश्चात् बिहीबार हेम्जास्थित मानव सेवा आश्रम लगिएको हो।
शुक्लागण्डकीका युवा अभियन्ता शङ्कर पन्तको समन्वयमा उनलाई आश्रम लगिएको छ। जिपको ठक्करबाट बुधबार साँझ घाइते ती व्यक्तिलाई बुधबार नै जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र भर्ना गरिएको थियो। बेवारिसे अवस्थामा सडकमा हिँडिरहने उनलाई आश्रम पुर्याइएको पन्तले जानकारी दिए।
पन्तले भने, ‘उनको नाम, ठेगाना थाहा छैन, बोल्दा पनि बोल्नुहुन्न । यत्तिकै बेवारिसे अवस्थामा छाड्नुभन्दा मानव सेवा आश्रम लैजाने निधो गरेका हौँ ।’ शुक्लागण्डकी नगरपालिकाको सिफारिस पत्रसहित उनलाई आश्रमको जिम्मा लगाइएको पन्तले बताए। नगरपालिकाले नै एम्बुलेन्सको व्यवस्था गरिदिएको थियो।
उक्त आश्रममा हाल एक सय ८२ जनाले आश्रय लिइरहेका छन्। त्यहाँ शारीरिक अपाङ्गता भएका, मानसिक अपाङ्गता भएका, कोही बिरामीले आश्रय लिइरहेका छन्। रासस
प्रकाशित: २४ आश्विन २०८२ ०६:३३ शुक्रबार





