नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जीको आवरणमा एमाले सिध्याउने सुनियोजित षड्यन्त्र भएको दाबी गरेका छन्।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले जेन-जी शब्दावलीलाई नै कृत्रिम र अयथार्थ भएको सुनाए।
‘जेन-जी भन्ने एउटा आर्टिफिसियल (कृत्रिम) शब्द अगाडि सारियो। कम्प्युटरको विकासको चरणलाई मानिसको पुस्तासँग जोडेर जेन-जी भनिनु नै अयथार्थ हो।’ उनले भने।
उनले यो शब्दावली युवाहरूलाई दिग्भ्रमित पार्न र उनीहरूको सेन्टिमेन्ट (भावना) दुरुपयोग गर्न रचिएको प्रपञ्च भएको दाबी गरे।
सम्बोधनका क्रममा ओली निकै आक्रामक रूपमा प्रस्तुत भए। उनले गत भदौ २३ गतेको आन्दोलनलाई स्मरण गर्दै त्यसलाई ‘हाइज्याक’ गरिएको बताए।
युवाहरूको भ्रष्टाचार विरोधी र सुशासनको मागलाई आफूहरूले समर्थन गरे पनि सो आन्दोलन माइतीघरबाट एभरेष्ट होटलसम्म पुग्दा षड्यन्त्रमा परिणत भएको ओलीको दाबी थियो।
ओलीले भने, ‘गुगल म्याप दिएर, यहाँ-यहाँ एमालेका घर छन् भनेर पहिल्यै म्यापिङ गरियो। जलाउने र तोडफोड गर्ने सामग्रीसहित तयारीका साथ आएर राज्यका अंग र एमालेका पार्टी कार्यालय तथा नेताका घर छानी-छानी जलाइयो।’
अध्यक्ष ओलीले एमाले सधैं प्रेस स्वतन्त्रता, सुशासन र विकासको पक्षमा लडिरहेको पार्टी भएको जिकिर गरे। उनले व्यावसायिक संस्थाहरूले नेपालको कानुन मान्नुपर्छ भन्दा र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न खोज्दा राष्ट्रिय स्वाभिमानमाथि नै प्रहार गर्ने गरी अराजकता मच्चाइएको बताए।
‘युवाहरूलाई जेन-जीका नाममा उचालियो, तर उनीहरूलाई थाहा भएन कि त्यसको पछाडि कत्रो षड्यन्त्र लुकेको थियो,’ ओलीले भने, ‘त्यसपछिका घटना, आगजनी र तोडफोड त्यही षड्यन्त्रका उपज हुन्।’
प्रकाशित: ६ मंसिर २०८२ १५:२८ शनिबार





