१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कृषि क्षेत्रमा सुधार नगरी समृद्धि आउँदैन: उम्मेदवार दुलाल

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इलाम–२ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशप्रसाद दुलालले कृषि क्षेत्रमा आमूल परिवर्तन नभएसम्म देशमा समृद्धि आउन नसक्ने बताएका छन्। उनले ठूलो संख्यामा किसान रहेको देशको सरकारले कृषि क्षेत्र नै नदेखेको बताए।  

सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी उम्मेदवार दुलालले कृषिको विकास अपरिहार्य रहेको जनाए। ‘कृषिमा आधुनिकीकरण र यान्त्रीकरण जरुरी छ,’ उनले भने, ‘कृषिको मात्रै समुन्नत विकास गर्ने हो भने रोजगारी आफैं सिर्जना हुन्छ, ठूलो संख्याका युवा विदेश जानुपर्दैन।’ दुलालले किसानलाई उम्मेदवारहरूले अहिलेसम्म भोट माग्ने थलो मात्रै बनाएको आरोप लगाए। ‘भोट माग्ने बेला सबैथोक गरिदिन्छौं भनेर आउने र जितेर गएपछि फर्केर नहेर्ने प्रवृत्ति छ,’ उनले भने, ‘किसानलाई सहयोग नगर्ने, कृषिलाई उपेक्षा गर्ने र यसलाई अझै परम्परागत रूपमै रहन दिने हो भने देश वर्षाैंसम्म जस्ताको तस्तै रहन्छ।’  

दुुलालले यसपटक इलाम क्षेत्र २ का मतदाताले आफूलाई जिताउने आश्वासन दिएको दाबी गरे। ‘यो क्षेत्रका मतदाता अब राप्रपालाई जिताउन सचेत भएका छन्,’ उनले भने, ‘कृषिमा सुधार चाहने हो भने राप्रपालाई जिताउनुको विकल्प पनि छैन।’ दुलालले कृषिउपजले बजार नपाएको, सरकारले कृषि उत्पादनमा सहयोग नगरेको र किसानलाई समेत वास्ता नगरेको बताए। ‘यहाँको तरकारी बारीमै कुहिएको छ, दूधले मूल्य पाएको छैन,’ उनले भने, ‘जितेर जाने नेताका आँखा यस्ता ठाउँमा पुगेनन्, उनीहरूको दृष्टि सधैं भ्रष्टाचारतिरमात्रै गएकाले देश उँभो लाग्न सकेन।’

उनले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, सडकलगायत सबै क्षेत्रमा अहिलेसम्मका सरकारले कुनै काम गर्न नसकेको बताए। यो क्षेत्रमा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र गठबन्धनतर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्कालगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।  

प्रकाशित: १ मंसिर २०७९ ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App