७ वैशाख २०८१ शुक्रबार
राजनीति

चौथौ जित तर्फ अग्रसर रहेका शाहलाई रोक्लान मंगलले

लगातार तीन पटक सांसद जितेर अहिले फेरी चौथौ जितकालागि सत्ता गठबन्धन तर्फ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका अभिषेक प्रताप शाह अहिले चुनावी मैदानमा उत्रेका छन्। उनको मुख्य प्रतिस्पर्धी विभिन्न दल बदलेर एमालेमा गएका मंगलप्रसाद गुप्ता रहेका छन्। ७७ बर्षे गुप्ताको संभतः यो नै अन्तिम पटक उम्मेदारी हो। अहिलेसम्म कुनै निर्वाचन नजितेका अभागी नेताका रुपमा परिचित गुप्ताको भाग्य खुल्छ कि नाई त्यो मंसिर ४ पछि नै बाहिर आउनेछ।  

कपिलबस्तु–३ बाट संसद प्रवेशको ‘ह्याट्रिक’ पार गरेका प्रतिनिधिसभा सदस्यका बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार अभिषेकप्रताप शाह र नेकपा एमालेका तर्फका उम्मेद्वार मंगलप्रसाद गुप्ताबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। सदावहार विजेता अभिषेकप्रताप शाह सोही क्षेत्रबाट निर्वाचित हुने सफल उम्मेद्वार मानिन्छन्। उनी चौथोपटक सांसद बन्ने प्रयासमा अहिले छन्। उनी २०६४ र २०७० सालमा संघीय समाजवादी फोरम, नेपालबाट विजयी भएका थिए।  

यस्तै शाह २०७४ मा नेपाली कांग्रेसबाट र अहिले पुनः गठबन्धनबाट उम्मेदवार बनेका हुन्। २०७४ को निर्वाचनमा शाहले २० हजार १ मत ल्याएका थिए। प्रतिस्पर्धीलाई करिब ५ हजार मतान्तरले पराजित गरेका थिए। यस क्षेत्रमा शाहको पुरानै प्रतिस्पर्धी हुन्, मंगलप्रसाद गुप्ता।  

हाल एमालेका उम्मेदवार गुप्ता २०७४ सालमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका थिए। उनले २०७४ सालको निर्वाचनमा १५ हजार ८२६ मत प्राप्त गरेका थिए। यहि क्षेत्रमा जनता प्रगतिशील पार्टी (जप्रपा)का राष्ट्रिय महासचिव ईश्वरदयाल मिश्र उम्मेदवार छन्। गत निर्वाचनमा स्वतन्त्र समूहबाट सूर्य चिह्न लिएर उठेका मिश्र यसपटक भने आफ्नै पार्टीबाट उम्मेदवार बनेका हुन्।

०७४ सालको निर्वाचनमा मिश्रले पनि राम्रै मत पाएका थिए। उनले सो निर्वाचनमा १४ हजार ३३० मत प्राप्त गरेका थिए।  मिश्रलाई समेत उक्त क्षेत्रमा बलिया उम्मेद्वारका रुपमा लिने गरिन्छ।

शाहको बिरासत अहिले कायम रहने छ या रहने छैन्? त्यो निर्वाचन परिणामले जनाउने छ। शाह २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा देशकै कान्छो उम्मेद्वारको रुपमा सभासद बनेका थिए। त्यसयता निरन्तर सांसद भएकाले पनि यसपटक पनि उनकै पल्लाभारी हुने विश्लेषण गरिएको पाइन्छ। यसपटक भने उनलाई गठबन्धनका अन्य दलहरुको पनि सहयोग छ।

देशमा प्रजातन्त्र होस्, पञ्चायत होस् या बहुदल हुँदै लोकतन्त्र, गणतन्त्रसम्म पनि शाह परिवार कुनै न कुनै तरिकाबाट राजनीतिमा आबद्ध छ। कपिलवस्तुको कृष्णनगर क्षेत्रमा दशकौंदेखि बसोबास गर्दै आएका शाह परिवार विभिन्न माध्यमबाट राजनीति र जनतासँग प्रत्यक्ष परोक्ष रुपमा जोडिएको छ।

त्यसैले पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा शाह बलियो प्रत्यासीको रुपमा देखिन्छन्। ०७४ को निर्वाचनमा यस क्षेत्रमा दोस्रो भएका गुप्ता हालै एमाले प्रवेश गरेका हुन्। जसपाका केन्द्रीय सदस्य रहेका उनी यसअघिको निर्वाचनमा संघीय समाजवादी फोरमबाट चुनाव लडेका थिए।

फोरमबाट लगातार दुईपटक संसद बनेका शाह कांगे्रस प्रवेश गरेपछि फोरमले गुप्तालाई उम्मेद्वार बनाएर दोस्रो स्थान कायम गरेको थियो। ०७४ मा फोरमबाट निर्वाचनमा होमिएका गुप्ता अहिले एमाले प्रवेश गरि निर्वाचनमा उम्मेद्वार बनेका छन्। त्यतिबेला (०७४) एमालेले आफ्नै उम्मेदवार नउठाएर हृदयेश त्रिपाठीका उम्मेदवार ईश्वरदयाल मिश्रलाई समर्थन गरेको थियो। उनी तेस्रो नम्बरमा रहेका थिए। यसपटक गुप्तालाई एमालेको समर्थन हुने भएकाले कडा प्रतिस्पर्धा हुने पक्का छ।

तीन पटकको संसद प्रवेशको यात्रा अबिचलित राखेका शाहले चौथो प्रवेशको द्धार खोल्ने हुन् या खोल्दैनन्? त्यो मतदाताको विवेकमा भरपर्छ।

एमालेमा गएको स्थानीय निर्वाचन र अहिले उम्मेद्वारी चयनमा असन्तुष्ट नेताहरुले असहयोग गर्न सक्ने आशंका भएपनि एमाले एक ढिक्का भएको दाबी एमालेका नेता कार्यकर्ताको छ। शिवराज नगरपालिकाको नगरप्रमुखमा एमाले भित्रैको आन्तरिक किचलोका कारण हार बेहोर्न बाध्य भएको जानकार बताउँछन्।

कपिलबस्तु–३ अन्र्तगत महाराजगंज नगरपालिकाका आशिंक वडाहरु, शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र बिजयनगर गाउँपालिका गरि ३३ वटा वडाहरु पर्दछन्। आमनिर्वाचन २०७९ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुको मतका आधारमा एमालेले १२ वटा वडामा जित हासिल गरेको छ। यस्तै कांगे्रसले ८ वटा वडामा जित हासिल गरेको छ, यस्तै सत्ता गठबन्धनको एक घटक माओवादी केन्द्रले ४ वटा वडामा जित हासिल गरेको छ। यसर्थ पनि सत्ता गठबन्धनले १२ वडामा जित हासिल गरेको छ।

सत्ता साझेदार दलले शिवराज नगरपालिकाको वडा नं. २, ८, ९ र ११ मा जित हासिल गरेको छ। यस्तै कृष्णनगर नगरपालिकाको वडा नं. ४, ५, ८, १० र १२ मा जित हासिल गरेको छ्। महाराजगंज नगरपालिकाको वडा नं. ५ र ६ मा समेत सत्ता साझेदार दलले जितेको छ। बिजयनगर गाउँपालिकामा भने सत्ता गठबन्धनका कुनैपनि उम्मेद्वारले वडाध्यक्ष पदमा जीत हासिल गर्न सकेका छैनन्।

एमालेले बिजयनगर गाउँपालिकाका ७ वटा वडाहरुमा वडा नं. ३ बाहेक सबै वडाहरुमा जित हासिल गरेको छ। यस्तै कृष्णनगर नगरपालिकाको वडा नं. २, ३, ६ मा एमालेले जित हासिल गरेको छ। शिवराज नगरपालिकाको वडा नं. १, ३, र ५ मा एमालेले जितेको थियो।

लोसपाले कपिलबस्तु–३ अन्र्तगत शिवराज नगरपालिकाको वडा नं. ४ र १० मा जित आफ्नो हातमा लिएको छ। जसपाले शिवराज नगरपालिकाको वडा नं. ६, बिजयनगर गाउँपालिकाको वडा नंं ३, कृष्णनगर नगरपालिकाको वडा नं. ७ र ११ वडामा जितको बाजी मारेको छ।  

राप्रपा, बहुजन शक्ति पार्टी र जनता प्रगतिशील पार्टीले निर्वाचन क्षेत्र ३ मा एक÷एक वडाहरुमा जित सुनिश्चित गरेको थियो। कृष्णनगर नगरपालिकाको वडा नं. १ मा राप्रपा, वडा नं. ९ मा बहुजन र महाराजगंज नगरपालिका वडा नं. ७ मा जप्रपाले जित हासिल गरेको थियो।

स्थानीय तहको निर्वाचन २०७९ मा पालिकाअनुसार वडाध्यक्षहरु पाएको मतका आधारमा महाराजगंज नगरपालिकाका तीनवटा वडामा पाएको मतानुसार गठबन्धनले २ हजार २०३, एमालेले १ हजार ४६३ मत प्राप्त गरेका छन्। राप्रपाको मत एकसय ३० छ।

बिजयनगर गाउँपालिकामा एमालेको मत सत्ता गठबन्धनको भन्दा दुइहजार मत बढि रहेको छ। एमालेका वडाध्यक्षहरुले पाएको मतानुसार यहाँ ५ हजार २५९ मत छ। सत्ता गठबन्धनको ३ हजार २३५ मत छ। बिजयनगरमा राप्रपाको मत २६ रहेको छ।

कृष्णनगर नगरपालिकामा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार एमालेको भन्दा सत्ता गठबन्धनको मत झण्डै ४० प्रतिशत बढि रहेको छ। यहाँ एमालेको मत ४ हजार ४१३ रहँदा सत्ता गठबन्धनको मत ६ हजार ९१३ मत रहेको छ। राप्रपा तेस्रो शक्तिको रुपमा रहँदै २ हजार २१७ मत प्राप्त गरेको छ।

शिवराज नगरपालिकामा एमालेको मत ७ हजार ६१२ रहँदा सत्ता गठबन्धनको १० हजार ४२४ मत रहेको छ। स्थानीय तहको निर्वाचन २०७९ मा वडाध्यक्षहरुले पाएको मतका आधारमा राप्रपाले ३ हजार ७०१ मत प्राप्त गर्दा जनता प्रगतिशील पार्टीले चारसय ३९ मत पाएको छ।

कपिलबस्तु–३ मा नेकपा एमाले पनि प्रभावशाली मानिन्छ। बिजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, शिवराज नगरपालिकाको उपप्रमुख समेत जितेकाले एमालेका मंगलप्रसाद गुप्ताको संसद प्रवेशको यात्रा मंगलमय हुने संभावना बलियो देखिन्छ। यद्यपि कृष्णनगर नगरपालिकाका प्रमुख र उपप्रमुख, महाराजगंज नगरपालिकाको प्रमुख उपप्रमुख नेपाली कांगे्रस विजयी हुँदा अभिषेक प्रताप शाहको यात्रा पनि अबिछिन्न रहने देखिन्छ।

कृष्णनगर नगरपालिकामा स्थानीय तहको निर्वाचनको मतानुसार माओवादी केन्द्र पनि दोस्रो शक्तिको रुपमा रहेको छ। प्रमुख र उपप्रमुखमा दोस्रोशक्ति रहेको माओवादी केन्द्रको साथ अहिले शाहलाई छ, यसर्थ पनि शाहको नियात्रालाई रोक्ने शक्ति नदेखिएको कृष्णनगरका पाका पुस्ताको भनाइ छ।

समग्रतामा गत वैशाख स्थानीय तहमा वार्ड अध्यक्षहरु पाएको मतको आधारमा कपिलबस्तु–३ मा सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र) को मत २२ हजार ७७५ छ। एमालेको मत १८ हजार ७४७ रहँदा राप्रपाको मत ६ हजार ७४ रहेको छ। जसपाको ९ हजार ९७४, लोसपाको ४ हजार ६७५, नेकपा एसको १ हजार ९८६ मत रहेको छ।

यसक्षेत्रमा राप्रपालाई प्रभावशाली पार्टीका रुपमा चित्रित गर्नेहरु पनि छन्। अभिषेकप्रताप शाहका राइट हेन्ड मानिने अजय थापा कांगे्रसमा बिद्रोह गरि परित्याग गर्दै राप्रपा प्रवेश गरेर शिवराज नगरपालिकाको प्रमुखमा विजयी भएकाले पनि राप्रपा बलियो बनेको विश्लेषण गर्ने गरिन्छ। यद्यपि थापालाई विजयी गराउन आन्तरिक रुपमा एमालेकै सहयोग रहेको पनि बताइन्छ।

प्रतिनिधिसभा सदस्यका लागी कपिलबस्तु–३ मा १८ जनाको उम्मेद्वारी रहेको छ। सत्ता गठबन्धनका तर्फबाट अभिषेक प्रताप शाह, एमालेको तर्फबाट मंगलप्रसाद गुप्ता, जनता प्रगतिशिल पार्टी नेपालका तर्फबाट इश्वरदयाल मिश्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रजौरिया, जनमत पार्टीका तर्फबाट नरसिंह चौधरी, मौलिक जरोकिलो पार्टीका यमनाथ उपाध्याय रहेका छन्।    

प्रदेश सभा ३ (१) तर्फ सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार एहसान अहमद खाँ, एमालेका उम्मेद्वार अर्जुन कुमार केसी, राप्रपाका कृष्ण प्रसाद पौडेल, नेकपा एसका जिवलाल पौडेल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रविदत्त मिश्रा लगायतका उम्मेद्वार चुनावी मैदानमा छन्।

प्रदेश ३ (१) मा १९ जना उम्मेद्वार निर्वाचनमा होमिएका छन्। यसक्षेत्रमा एमालेका उम्मेद्वार केसी ०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा विजयी उम्मेद्वार हुन्। उनले ९ हजार ४३ मत प्राप्त गरि विजयी भएका थिए। केसीले तत्कालिन राजपाका उम्मेद्वार रबिदत्त मिश्रालाई पराजित गरेका थिए। मिश्राले ८ हजार १९७ मत ल्याएका थिए। यस्तै तेस्रो शक्ति बनेका तत्कालिन नेपाली कांगे्रसका उम्मेद्वार अजय थापा (हालका शिवराज नगरप्रमुख)लाई पराजित गरेका थिए। थापाले ६ हजार ८६१ मत प्राप्त गरेका थिए।

सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका खाँको जित्ने संभावना बलियो देखिन्छ। साथै केसीको मत पनि राम्रो आउने तर्क आउने गरेका छन्। राप्रपा र नेकपा एसका आशलाग्दा उम्मेद्वार पौडेलद्धयको प्रभाव पनि राम्रो रहेको स्थानीय बताउँछन्। कपिलबस्तु–३ मा लोसपाको समेत प्रभाव क्षेत्र भएकाले पनि मिश्राको दाबेदारी बलियो देखिन्छ। मिश्रा ०७४ मा दोस्रोशक्तिका रुपमा उदाएका थिए।

यस्तै ३(२) तर्फ सत्ता गठबन्धनका तर्फबाट काँगे्रसका बिरेन्द्र कुमार कनौडिया प्रतिस्पर्धामा छन्। यहाँ २५ जना उम्मेद्वार रहेका छन्। ०७४ को निर्वाचनमा कनौडियाले ६ हजार ६७९ मत ल्याएर झिनो मतान्तरले विजयी भएका थिए, उनले माओवादी केन्द्रका जावेद आलम खाँलाई पराजित गरेका थिए। खाँले ६ हजार ३०७ मत प्राप्त गरेका थिए। यी दुबै उम्मेद्वार पूर्व प्रतिस्पर्धी रहेतापनि हाल सहकर्मी रहेका कारण पनि कनौडियाको जित निश्चित प्रायः देखिन्छ।

पञ्ंचायती ब्यवस्था अन्त्य भएपछि कांग्रेसमा सकृय भएर लागेका कनौडिया २०४९ सालमा तत्कालीन जिल्ला विकास समितका उप–सभापति समेत बनेका थिए। कांग्रेसको महाधिबेशन प्रतिनिधि समेत रहेको कनौडिया २०५६ सालमा तत्कालीन निर्वाचन क्षेत्र नम्बर ३ बाट सांसदमा समेत निर्वाचित भएका थिए।

२०५८ सालमा उनी जलश्रोत राज्यमन्त्री समेत बनेका थिए। २०६४ र २०७० सालमा भने उनी सांसदमा पराजित भएका थिए। २०७४ सालमा कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ (२)बाट प्रदेशसभामा निर्वाचित भएका थिए। मंसिर ४ मा हुने निर्वाचनमा सत्ता गठबन्धनबाट प्रदेशसभाको उम्मेदवार कनौडिया कपिलवस्तु ३(२) का लागि प्रचार प्रसारमा जुटेका छन।

यता यसक्षेत्रमा एमालेले रजाउर्र रहमान खाँलाई उम्मेद्वार बनाएको छ। जनता समाजवादी पार्टी नेपालले अशोक कुमार यादवलाई उम्मेद्वार बनाएको छ। राप्रपाबाट जानकीप्रसाद यादव र जनता प्रगतिशिल पार्टी नेपालबाट मिर्जा राशिद बेग उम्मेद्वार छन्। यादव र बेग दुबैको जित्ने संभावना बलियो देखिन्छ।

राजनीतिक खानदानबाट आएका मिर्जा युवा र नयाँ भिजनसहित चुनावी मैदानमा छन्। लामो समय नेकपा एमालेमा रहेर राजनीति गरेका मिर्जाको परिवार एमाले अध्यक्ष केपी ओलीका नजिकका मानिन्छन्। निर्वाचनमा एमालेबाट टिकट नपाएपछि अन्तिम समयमा जनता प्रगतिशिल पार्टीमा प्रवेश गरेका मिर्जा रसिद बेगको चुनावी प्रचार प्रसारमा आम जनताले उनी प्रति गरेको विश्वासलाई तोड्न अन्य उम्मेद्वारलाई हम्मेहम्मे पर्ने देखिन्छ।

प्रकाशित: २८ कार्तिक २०७९ ०७:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App