२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन लक्षित नेपाल–भारत सुरक्षा बैठक सम्पन्न

मंसिर ४ गते हुन लागेको निर्वाचनलाई लक्षित गरेर शनिबार नेपाल–भारतका सुरक्षा बैठक सम्पन्न भएको छ। भारत अररिया जिल्लाको जोगबनीमा निर्वाचन लक्षित गरेर दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठक सम्पन्न भएको हो।

निर्वाचनका समयमा खुला सीमाका कारण हुन सक्ने विभिन्न आपराधिक गतिविधि लगायतलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा बैठक भएको थियो। निर्वाचन अघिपछि पनि दुवै देशमा हुन सक्ने विभिन्न आपराधिक गतिविधि, चोरी तस्करीलाई कसरी नियन्त्रण गर्न भन्ने विषयमा समेत छलफल भएको बताइएको छ।  

संयुक्त बैठकमा अररियाका जिल्ला मजिष्ट्रेड (डिएम) इनायक खाँन, एसपी अशोककुमार सिंह, सीमा सुरक्षा बल (एसएसबी) बथनाहाका प्रमुख सुरेन्द्र विक्रम, अररियाका प्रमुख ब्रजेस कुमार लगायतका भारतीय सुरक्षा अधिकारीको सहभागिता रहेको थियो।

नेपालका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धानका प्रमुख बासुदेव सिग्देल तथा सुनसरीबाट प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकाल, सशस्त्रका प्रमुख एसपी विक्रम होमागाईं, राष्ट्रिय अनुसन्धानका प्रमुख कूलचन्द्र नेपाल र सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराईको सहभागिता थियो।  

नेपालमा हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष सम्पन्न गर्न दुई देशीय सीमा क्षेत्रमा कडाइ गर्ने भारतीय अधिकारीहरुले बताएका छन्। बैठकमा उनीहरुले सीमा क्षेत्रको सुरक्षा व्यवस्था मजबुत बनाउने तथा सीमा क्षेत्रको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिने प्रतिवद्धता भारतीय अधिकारीले जनाएका छन्।  

निर्वाचनका समयमा सीमा क्षेत्रमा दुई देशको संयुक्त रुपमा सुरक्षाकर्मीको गस्ती बढाइने भएको छ। निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमा शील गर्ने, लागूऔषध एवं साना हतियार तथा नक्कली नोटको ओसारपसार नियन्त्रणमा लिने। सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाउने, सीमा शील भएका बेला अतिआवश्यक सेवाहरु, बिरामीको उपचार, वैवाहिक कार्यक्रम र वारुणयन्त्रको आवतजावतलाई सहज बनाइने छ भने अन्य सवारीसाधन र मानिसको आवतजावतलाई पूर्ण रूपमा रोक लगाउने संयुक्त बैठकले निर्णय गरेको छ।

बैठकमा लामो समयदेखि अवरुद्ध रहेको मिरगञ्ज पुलको विषयमा भारतीय अधिकारीहरुले उक्त पुल आगामी नोभेम्बर अन्तिमसम्ममा सञ्चालनमा ल्याइसकिने जानकारी दिए। मीरगञ्ज पुलको मर्मत सम्भार समयमा नहुँदा नेपाली उद्योगी व्यवासायीले समस्या भोग्दै आउनु परेको छ। मिरगञ्गको पुल सञ्चालन भएको भए छोटो दुरीबाट मालवाहक सवारीसाधन आवतजावत गर्दा ढुवानी खर्च कम हुने थियो। तर, लामो समयदेखि पुल नहुँदा लामो बाटोको रुटबाट उद्योगको कच्चा पदार्थलगायत आवतजावत गर्नुपर्दा खर्च बढेको थियो।  

प्रकाशित: २६ कार्तिक २०७९ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App