१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कालिकोट: प्रतिस्पर्धामा महेन्द्र र नगिन्द्र

महेन्द्रबहादुर शाही र नगेन्द शाही (नेश्नल)।

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालिकोटमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धन दल र नेकपा एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। गठबन्धनदलबाट नेकपा (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाही र एमालेबाट नगिन्द्र शाही (नेशनल) उम्मेदवार छन्। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र शाही तेस्रो पटक विजयी भएर ह्याट्रिक गर्ने दाउमा छन्। भने नगिन्द्र शाही पहिलो पटक प्रतिनिधिसभामा प्रवेश गर्ने मौकाको पर्खाइमा छन्।

माओवादी केन्द्रका उम्मेदवार रहेका महेन्द्र २०७० सालमा प्रतिनिधिसभा,२०७४ सालको प्रदेशसभामा निर्वाचित भएका थिए। विसं २०७० को निर्वाचन जितेर उनी जलस्रोत सिँचाइ तथा ऊर्जामन्त्री बनेका थिए। उनले त्यसबेला एमालेका कुर्मराज शाहीलाई पराजित गरेका थिए। विसं २०७४ को प्रदेशसभाको निर्वाचनमा विजयी भएका महेन्द्रले नेपाली कांग्रेसका कालीबहादुर सहकारीलाई पराजित गरेर कर्णालीका मुख्यमन्त्री बनेका थिए।

नगिन्द्र शाही विसं २०७४ को निर्वाचनमा वाम–गठबन्धन हुँदा महेन्द्रको चुनावी सहयात्री थिए भने अहिले महेन्द्रलाई उनले नै चुनौती दिएका छन्। महेन्द्रका सहयात्री माओवादी केन्द्रका केन्द्रीय लेखा आयोगका सदस्य काशीचन्द्र बरालले स्वतन्त्र उम्मेदवारी दिएर दुवैलाई चुनौती दिइरहेका छन्। त्योसँगै कांग्रेस बिपीबाट कालिकोट कांग्रेसका संस्थापक सभापति पङ्खबहादुर विष्ट,नेमकिपाबाट जिल्ला अध्यक्ष खड्कराज शाही,राप्रपाका धनबहादुर बुढा र स्वतन्त्ररुपमा कांग्रेसका पुराना नेता धनप्रसाद पाण्डेले चुनौती दिंदै मैदानमा उत्रिएका छन्।

जिल्लामा नौ स्थानीय तह रहेका छन्। ती तहका ८२ वडा रहेका छन्। ती वडामध्ये माओवादी केन्द्रले ४९ वडामा विजयी भएको छ। अन्यमा अरु दल वडाध्यक्ष विजयी भएका छन्। स्थानीय तहको निर्वाचनको परिणामअनुसार माओवादी १९ हजार मत, कांग्रेस १४ हजार मत र एमाले १३ हजार पाएको थियो। जिल्लाको विकास निर्माणमा लामो समयदेखि काम गरेको अहिले केही अधुरा योजना बाँकी रहेकाले त्यो पूरा गर्नका लागि आफूले उम्मेदवारी दिएको माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुरले बताए।

‘मैले लामो समयदेखि कालिकोटको प्रतिनिधिका रुपमा काम गरेको छु। मेलै कालिकोटका विकासका लागि गरेका कैयौँ काम अधुरा रहेका छन्’, उनले भने, ‘ती काम पूरा गर्नका लागि मेरो उम्मेदवारी रहेको छ। मलाई त्यसै आधारमा अनुमोदन गर्नेमा विश्वास लिएको छु।’

कालिकोटको सुनथराली विमानस्थल,कर्णाली करिडोरको स्तरोन्नति,फुकोट कर्णाली जलविद्युत आयोजनाको निर्माणलगायतका अन्य सरोकारका विषयलाइ महेन्द्रबहादुर शाहीले अलपत्र पारेको बताउदै यस्ता गौरवका विषयलाइ र युवारोजगारलाई आफ्नो चुनावी एजेण्डा बनाएको प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार काशीचन्द्र बरालले बताए।

विगत लामो सयमदेखि एउटै व्यक्तिले विकास गर्न नसक्ने त्यसका लागि युवाको काँधमा जिम्मेवारी दिनुपर्ने र अहिले आफूले नागरिकको न्यूनतम आधारभूत आवश्यकता पूर्ति गर्ने रोजगारी प्रमुख चुनावी एजेण्डा भएको एमालेका प्रतिनिधिसभाका उम्मेदवार नगिन्द्र शाहीको भनाइ छ।

‘अहिले ठूलाठूला नाराले मात्र कुनै पनि काम गर्न सकिन्न। मेरो चुनावी एजेण्डा भनेका घर घरमा खानेपानी धारा,सडक,विद्युत,सञ्चार र रोजगारी रहेका छन्’, उनले भने, ‘ठूलाठूला चुनावी नाराले केही पनि गर्न सकिन्न। पहिलो विषय नागरिकको आधारभूत आवश्यकता पूरा गर्नु हो।’  

बागीले एमालेलाई राहत

गठबन्धन भित्रै भएको असन्तुष्टि र पार्टीभित्रै भएको बागीको उम्मेदवारीले एमालेले भने राहत महसुस गरेको छ। एमालेबाट उम्मेदवार बनेका नगिन्द्र शाही गठबन्धनका आधा मत बागी उम्मेदवारले काट्ने दाबी गर्छन्।  

गठबन्धन भित्रको तिक्तता र माओवादी पार्टी भित्रको आन्तिर किचलोको फाइदा एमालेले उठाउने अनेरास्ववियूका जिल्ला अध्यक्ष धर्मबहादुर शाहीले बताए। उनले भने ‘मुख्यगरी चार जनाको लडाइँ हुने देखिन्छ। जसमा गठबन्धनको तर्फबाट माओवादीका महेन्द्रबहादुर शाही, एमालेका नगिन्द्र शाही, राप्रपाका धनबहादुर बुढा र स्वतन्त्र उम्मेदवार काशीचन्द्र बराल।’ उनले थपे,‘माओवादीबाट बागी बनेका उम्मेदवार बरालले कम्तिमा पनि माओवादीका करिब १८ हजार मतमा ५ हजार हराहारीमा काट्छन्, राप्रपाले धेरैमा ४ हजार भोट काट्छ।’  साथै, उनले प्रदेश सभा (१)मा कांग्रेसले टिकट नपाएका कारण माओवादीलाई भोट कम आउने भएकाले एमाले ढुक्क रहेको दाबी गरे। एमाले कालिकोटले कालिकोटबाट एक प्रदेश सभा र प्रतिनिधि सभा ढुक्कका साथ जित्ने दाबी गरेको छ।  

यस्तै, कालिकोटमा दुई प्रदेश सभाका लागि १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। प्रदेश सभा (१)मा गठबन्धनको तर्फबाट दुर्गबहादुर रावत र एमालेका कुर्मराज शाहीबीच टक्कर हुने भएको छ। एमालेका शाही कर्णालीमा फ्लोर क्रस गर्ने नेता हुन्। उनी एमालेबाट टिकट पाउनु अघिल्लो दिनसम्म समाजवादीमा थिए। समाजवादीको कालिकोट इन्चार्जसमेत रहेका शाही समाजवादीलाई गठबन्धनले नमिसाउने भएपछि एमालेमा फर्केका थिए। माओवादीका रावत र एमालेका शाहीसँगै प्रतिस्पर्धामा राप्रपाका सूर्यबहादुर शाही, नेमकिपाका रविन्द्र बहादुर शाही छन्। यस्तै, प्रदेश सभा (२)मा एमालेबाट वीरेन्द्रबहादुर बोगटी,गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट हिक्मतबहादुर विष्ट,समाजवादीबाट विश्वराज बम, नेमकिपाबाट जनकबहादुर विष्ट, नेपाली कांग्रेस (बिपी)बाट कर्णबहादुर विष्ट र स्वतन्त्रबाट लक्ष्मणबहादुर बम उम्मेदवार बनेका छन्।

प्रकाशित: २५ कार्तिक २०७९ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App