१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

व्यवसायी र मजदुर नेताबीचको रोचक प्रतिस्पर्धा

कास्की २ (१) मा प्रदेश सभा सदस्यका लागि नेकपा एमालेकी उम्मेदवार मीना गुरुङ र गठबन्धनबाट कांग्रेस उम्मेदवार विन्दुकुमार थापा।

कास्की निर्वाचन क्षेत्र नम्बर २ (२)मा मजदुर र व्यवसायी दुई नेताको रोचक भिडन्तले कास्की तातेको छ। सो क्षेत्रमा एमालेबाट मजदुर नेता मीना गुरुङ र गठबन्धनतर्फ कांग्रेसबाट उद्योगी–व्यवसायीका नेता विन्दुकुमार थापा बीचको भिडन्तका कारण कस्केली राजनीति तातेको हो।

गुरुङ र थापा दुबै निवर्तमान गण्डकी प्रदेश सभा सदस्य हुन्। थापा २०७४ सालमा यहि क्षेत्रबाट निर्वाचित सांसद हुन् भने गुरुङ समानुपातिकबाट सांसद हुन्। थापालाई आफ्नो विरासत जोगाउने चुनौति छ भने गुरुङलाई प्रत्यक्ष निर्वाचित भएर ईतिहास कोर्नु छ।

पोखरामा साढे दुई दशकदेखि सौन्दर्य व्यवसाय गर्दै आएकी गुरुङ नेकपा एमाले निकट जिफण्टको केन्द्रीय उपाध्यक्ष तथा महिला विभाग प्रमुख हुन। सौन्दर्य व्यवसायी मिनाले सयौं जनालाई सौन्दर्य पेशा सम्बन्धी तालिम दिएर रोजगारी र स्वरोजगारी बनाएकी छन्। रियलस्टेट, अटो, पर्यटन लगायतका व्यवसाय गर्दै आएका थापा भने पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्। उनले पनि पचासौं जनालाई रोजगारी दिएका छन ।

फरकफरक राजनीतिक पृष्ठभूमि र फरकक पेशा, व्यवसाय गर्दै आएपनि सामाजिक कार्यमा उनीहरुबीच समानता छ। दुबैले अघिल्लो पटक सांसद हुँदा होस् वा मन्त्री हुँदाको सम्पूर्ण तलव, भत्ता सामाजिक सेवामा खर्चिएर उदाहरणीय बनेका छन्। गुरुङले सांसद भएदेखि हालसम्मको करीब २५ लाख र त्यसमा ५ लाख थपेर करीब ३० लाख रुपैयाँ समाजसेवामा खर्चिएकी छन। त्यस्तै, थापाले २०७४ सालमा निर्वाचित भएदेखि सांसद भएवापत प्राप्त तलव, भत्ता तथा २०७८ साल असार अन्तिमबाट मन्त्री भएदेखि हालसम्म प्राप्त गरेको तलव भत्ता दुबै गरेर प्राप्त ४० लाख ७१ हजारमा १८ लाख ३० हजार थपेर कुल ५८ लाख ३० हजार रुपैयाँ सामाजिक सेवामा खर्चिएका छन्।

फरक समुदायका यी दुबै उम्मेदवारको भर जातिय संस्थालाई मानिन्छ। यो क्षेत्र गुरुङ र क्षेत्री बाहुल्य क्षेत्र भएकाले जित हारमा जातिय समुदाय नै निर्णायक हुने विश्लेषण गरिन्छ। यसअघिको निर्वाचनमा पनि थापाले जातिय नारा दिएर परिणाम आफ्नो पक्षमा पार्न सफल भएका थिए। यसअघि २०७४ को चुनावमा थापाले तत्कालीन नेकपाका उम्मेदवार राजकाजी गुरुङलाई करीब ७ सय मतले पछि पार्दै बिजय हासिल गरेका थिए। तर उनलाई यसपटक क्षेत्री समुदायको सम्पूर्ण भोट आउनेमा आशंका गरिन्छ। 

किनकी क्षेत्री समाज स्थापनाका योजनाकार तथा संगठक कुमार खड्का उनीसँग चिढिएका छन। दुबै गण्डकी प्रदेशका मन्त्री हुँदादेखि नै बढ्दै गएको विवाद, एकअर्काप्रति लगाएको लाञ्छनासँगै यो क्षेत्रमा कांग्रेसबाट कसले टिकट पाउने भन्नेमा भएको अस्वस्थ प्रतिष्पर्धाका बीच थापाले टिकट ल्याएका कारणपनि खड्काले थापालाई असहयोग गर्ने कांग्रेस निकटकाहरु बताउँछन्। तर थापा भने खड्कासँग सुमधुर सम्बन्ध भईसकेकाले आफूलाई जित्न कुनै अप्ठेरो नहुने दाबी गर्छन्। भन्छन्,‘सबै राम्रै छ। विगतका कुराहरु मिलिसके। अब हामी एक ढिक्का छौं।’

उसो त गुरुङलाई पनि चुनाव जित्न सजिलो छैन। यसअघिको चुनावमा सिंगो नेकपा हुँदापनि थापाको जित भएको र अहिले नेकपा छुट्टिएर एमाले र माओवादी मात्र बनेको नभई एमालेबाट पनि चोईटिएर नेकपा एकीकृत समाजवादी बनेकाले गुरुङलाई थप सकस हुने एमाले निकटका कार्यकर्ता बताउँछन। तर महिलाको सहानुभूति भोट र जनजातिको समेत मत आउने भएकाले आफू बिजयी हुने उनको दाबी छ। ‘एमालेको बलियो संगठन, विकास र समृद्धिको योजना, महिला र जनजातिको एकछापे भोट नै मेरो जितको आधार हो,’ उनले भनिन्।

प्रकाशित: २४ कार्तिक २०७९ १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App