१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रोल्पा: चुनावमा चुनौती

रोल्पा सदरमुकाम लिवाङ। फोटो: दिनेश/नागरिक

रोल्पामा हुने प्राय निर्वाचनहरु चुनौतीपूर्ण हुने गर्दछन्। त्यसो त अन्य जिल्लाहरुमा पनि चुनौती नहुने भने हैन। भौगोलिक विकटता सँगै यहाँ हरेक कालखण्डमा कुनै न कुनै शक्ति विद्रोहका नाममा आउने गर्दछ। आफूलाई मन लाग्दा यही संसदीय अभ्यास अन्र्तगतको गत स्थानीय तह निर्वाचनमा स्वतन्त्रका नाममा चुनावी मैदानमा भिडेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतको बहिष्कार÷खारेज अभियानले फेरि एक पटक मतदातालाई तर्साएको छ।  

नेत्रविक्रम चन्द विप्लव सहित आधा दर्जन बढी बामघटकहरुले मंसिर ४ को निर्वाचन बहिष्कार÷खारेज गर्ने घोषणा गरेसँगै रोल्पामा थप सुरक्षा चुनौती बढेको छ। गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी भन्दै चुनावी प्रतिस्पर्धामा आए पनि विप्लव समूहले मंसिर ४ को निर्वाचन भने बहिष्कारको घोषणा गरेको हो। उसले केहि दिन अघि पत्रकार सम्मेलन गर्दै निर्वाचन ‘बिथोल्ने’ समेत जनाइसकेको छ।

रोल्पालाई विप्लव नेतृत्वको नेकपाको प्रभाव क्षेत्र मानिन्छ। त्यसैले सुरक्षा निकायले पनि सोहि अनुसारको सुरक्षा रणनीति तयार पारेको जनाएको छ। मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाका लागि रोल्पामा तय भएका ८६ मध्ये ३१ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन्। जिल्लाका ४२ मतदान स्थल संवेदनशील र १३ मतदान स्थल सामान्य रहेको एक सुरक्षा अधिकारीले बताए।  

थबाङ गाउँपालिकाका तीन, रोल्पा नगरपालिकाका दुई, त्रिवेणी र माडी गाउँपालिकाका एक÷एक, रुन्टीगढी गाउँपालिकाका ६, परिवर्तन गाउँपालिकाका दुई, गंगादेव गाउँपालिकाका ६, सुनछहरी गाउँपालिकाका पाँच र लुंग्री गाउँपालिकाका पाँच मतदान केन्द्रलाई सुरक्षाका कारण अति संवेदनशील मानिएको हो। जिल्लाका मतदान स्थलको पहिलो घेरामा जनपद प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई राखिएको छ।

प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले सुरक्षा चुनौती भएको स्वीकार नगर्दै हुन सक्ने सम्भावना मात्र रहेको बताउँछन्। ‘संवैधानिक दायरामा रहेर बिरोध गर्ने हक सबैलाई हुन्छ तर नियम विपरीत गर्ने छुट कसैलाई छैन।’ सापकोटा भन्छन् ‘सुरक्षा तयारी चुस्त छ। उम्मेदवार मात्र नभएर मतदाता समेत सुरक्षित हुनुहुन्छ। ढुक्कले मतदान गर्ने वातावरण बन्छ।’ जिल्लास्थित सुरक्षा अधिकारीहरुका अनुसार अप्रिय गतिविधि गर्न खोजेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिने देखि स्पोट मै हदै सम्मको कार्बाही गर्ने अर्थात गोली हान्ने सम्मको अधिकार राज्यले दिएको छ।  

रोल्पाको प्रदेश सभा (क) मा ६८ हजार १ सय ६४ र प्रदेश सभा (ख) मा ७७ हजार ३ सय ७ सहित १ लाख ४५ हजार ४ सय ७१ मतदाता रहेका छन्। त्यसो त यहाँ चुनाब बिथोल्ने शक्तिसँग जस्तै प्रदेश सभा (ख) को चुनावी माहोलले जिल्लाको सुरक्षा निकायलाई गम्भिर बनाएको छ। यो क्षेत्रमा गठबन्धनबाट उठेका कांग्रेस प्रदेश सभापती अमरसिंह पुनसँग माओवादी पोलिटब्युरो सदस्यबाट राजिनामा दिएर स्वतन्त्रमा उम्मेदवारी दर्ता गरेका दीपेन्द्र कुमार पुनबीचको प्रतिस्पर्धाले सुरक्षा निकायलाई थप गम्भिर बनाएको एक सुरक्षा अधिकारीले बताए।

प्रकाशित: २४ कार्तिक २०७९ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App