१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रचण्डले मतपेटिका हेरफेर गरेर पनि उपेन्द्रलाई जिताउन आश्वासन दिएको छः सिके राउत

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले सप्तरी निर्वाचन क्षेत्र नम्बर दुईबाट मतपेटिका हेरफेर गरेर पनि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई जिताउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अश्वासन दिएको आरोप लगाएका छन्।

मंगलबार उनले सिके राउत सचिवालय नामक फेसबुक पेजमार्फत् यस्तो आरोप लगाएका हुन्। दाहालले दिएको अश्वासनकै कारण यादवले सप्तरी दुईबाट उम्मेदवारी दिएका छन्, नत्र यहाँका जनताले उनलाई स्वीकार गर्ने विल्कुलै अवस्था नरहेको बताएका छन्।

‘जसपाका कार्यकर्ताले जनमत पार्टीलाई मत हालेपनि केही हुनेवाला छैन हामीले प्रहरी प्रशासन मिलाएर मतपेटिका हेरफेर गर्ने भनेर जनतामा भंयत्रास सिर्जना गरेको राउतको आरोप छ।’ सप्तरी प्रहरी–प्रशासन प्रचारप्रसारमा पक्षपात गरिरहेको उनको आरोप छ।

सप्तरीका प्रहरीहरु जसपाको कार्यकर्ता भएर काम गरिरहेको उनको बुझाइ छ। ‘प्रहरीले धाँधली गरिरहेको छ। जसपाको कार्यकर्ता बनेर काम गरिरहेको छ,‘ उनले भने, 'जिल्ला प्रशासन कार्यालय जसपाको पार्टी कार्यालय बनेको छ।’ यो अवस्थामा निर्वाचन निष्पक्ष नहुने उनको जिकिर छ। निर्वाचन भएपनि मतपेटिका फेरिन सक्ने उनको शंका छ।

सप्तरीका एक डिएसपीको सरुवा भएपनि जसपाका नेताहरुको आडमा अहिलेसम्म रमना नभएको उनले लाइभमार्फत् बताएका छन्। सो डिएसपीले प्रयोग गरिरहेको गाडीमा रातीराती मतदातालाई पैसाँ बाँड्ने काम भैइरहेको उनको दाबी छ।

ती डिएसपी जसपाको एक नेताको भाइ रहेको बताएका छन्। तर ती जसपा नेता र डिएसपीको नाम खुल्लाएको छैन। अन्य पार्टी खुलेरै आचारसंहिता उल्लंघन गरेपनि प्रहरी प्रशासन हस्तक्षेप गरेको छैन। तर जनमत पार्टीले आचारसंहिता पालना गरे पनि प्रचारप्रसारमा रोक लगाएको उनको आरोप छ।

‘सबै पार्टीको झण्डा र ब्यानर भित्ताभित्तामा टाँसिएकै छ। अरु पार्टीले निर्वाचन आचारसंहिता उल्लंघन गरी राखिएको पर्चापम्पलेट राखिएकै छ।’ उनले भने, 'जनमत पार्टीले नियम कानुनको दायरामा रहेर प्रचारप्रसार गरेपनि पक्राउ गर्छ। स्पष्टीकरण सोधेको छ पक्राउ गरी डरत्रास देखाइएको छ।’

यो अवस्थामा निर्वाचन निष्पक्ष हुन नसक्ने भन्दै उनले निर्वाचन आयोग, प्रहरी प्रशासन र अन्तर्राष्ट्रिय समुदायलाई समेत ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: २३ कार्तिक २०७९ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App