१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बैतडी निर्वाचन: माओवादी केन्द्र र एमालेको प्रतिस्पर्धा

आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै यहाँका उम्मेदवारले प्रचारप्रचारलाई तीव्रता दिएका छन्। यसले गर्दा चुनावी सरगर्मी पनि बढेको छ। निर्वाचन नजिकिँदै गर्दा विभिन्न आकलन पनि भइरहेका छन्।

प्रतिनिधिसभाका लागि एकमात्र क्षेत्र रहेको बैतडीमा सत्ता गठबन्धन दल र नेकपा ९एमाले०बीच मुख्य प्रतिस्प्रर्धा हुने देखिएको छ। गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र) पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवरलाई साझा उम्मेदवार बनाइएको छ। यस्तै एमालेबाट उक्त पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारी चुनावी मैदानमा रहेका छन्।

यि दुवैबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। कुँवर २०७४ सालको निर्वाचनमा भने वाम गठबन्धन भएपछि भण्डारीका सारथीका रुपमा रहेका थिए। विसं २०६४ र २०७० मा भने एक अर्काविरुद्ध उम्मेदवार बनेका थिए। अहिले पनि दुवै जना एकापसमा भिडिरहेकाले रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

विसं २०७० र २०७४ मा गरेर दुई पटक विजय हासिल गरिसक्नुभएका भण्डारी ह्याट्रिक गर्ने दाउमा छन्। विसं २०६४ मा कुँवरले भण्डारीलाई पराजित गर्दै विजय हासिल गरेको भए पनि २०७० सालमा व्यहोरेको हारको बदला लिने दाउमा कुँवर रहेका छन्। गठबन्धन दलको पनि साथ रहेकाले कुँवरले सहजै जित निकाल्न सक्ने आँकलन गरिएको छ।

पूर्वअर्थ राज्यमन्त्रीसमेत भइसकेका भण्डारी भने यो पटकको चुनावलाई आफ्नो पक्षमा पर्दै ह्याट्रिक गर्ने रणनीतिमा छन्। एमाले संगठनका हिसाबले माओवादी केन्द्रभन्दा बलियो भएकाले भण्डारी चुनाव जित्नेमा ढुक्क छन्। माओवादी केन्द्र संगठनमा कमजोर देखिए पनि सत्ता गठबन्धनको साथ रहेकाले निर्वाचनको मत परिणाम आफ्नो पक्षमा आउने भन्दै कुँवर पनि ढुक्क छन्।

विसं २०७४ मा वाम गठबन्धनका साझा उम्मेदवार बनेका भण्डारी नेपाली कांग्रेसका नरबहादुर चन्दलाई पराजित गर्दै प्रतिनिधिसभामा विजयी भएका हुन् भने २०७० को निर्वाचनमा दुई क्षेत्र रहेका बेला भण्डारीले कांग्रेसका लोकराज अवस्थीलाई हराएका थिए।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा बैतडीमा  गठबन्धन दलको मत ५१ हजार आठ सय २१ रहेको छ। एमालेको भने ३५ हजार ४८ मात्रै रहेको छ। यो मत संख्यालाई आधार मान्ने हो भने कुँवरले सहजै रुपमा जित हात पार्ने देखिए पनि गठबन्धन दलको असन्तुष्टिको फाइदा उठाउँदै आफूले बाजी मार्ने भण्डारीको रणनीति देखिएको छ।

स्थानीय निर्वाचनमा यहाँ एमालेको ३५ हजार ४८, कांग्रेसको ३३ हजार छ सय ८३, माओवादीको १४ हजार नौ सय ९८, नेकपा (एकीकृत समाजवादी)को तीन हजार एक सय ४० र राप्रपाको दुई हजार चार मत छ। यो मतसंख्या हेर्दा कांग्रेसले गठबन्धनका तर्फबाट उम्मेदवार पाउने अनुमान गरिएको भए पनि माओवादी केन्द्रको उम्मेदवार भएकाले असन्तुष्टि रहेको देखिएको छ।

गठबन्धनभित्रको असन्तुष्टि र १० वर्षसम्म गरेको काम नै आफ्नो जित्ने आधार रहेको भण्डारीले बताए। उनले भने, 'हामी हाम्रो पौरखमा चुनावमा लड्दैछौंँ, १० वर्षको  काम जनताले देखेका छन्, समृद्ध बैतडीको संकल्प लिएर चुनावमा होमिएका छौँ।'

यता सत्ता गठबन्धनका साझा उम्मेदवार कुँवर भने गठबन्धन एकढिक्का भएर चुनावमा होमिएकाले कुनै असन्तुष्टि नरहेको दाबी गरे। उनले भने,' टिकटका लागि गठबन्धनमा सामेल सबै दलका नेता लागेको भए पनि अहिले कुनै असन्तुष्टि छैन, सबै एकजुट भएर निर्वाचनमा होमिएका छौँ।'

एक सिटका लागि ११ प्रतिस्पर्धी

प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्। प्रतिस्पर्धामा रहेका भए पनि लोकतान्त्रिक –वाम गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पनि चुनाव जित्ने दाबी गरिरहेका छन्।

बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य कुँवर चुनावी मैदानमा रहेका छन्। यस्तै एमालेका तर्फबाट प्रदेश कमिटी अध्यक्ष भण्डारी चुनावी मैदानमा छन् भने स्वतन्त्रबाट नेपाली कांग्रेसका नेता केशवबहादुर चन्द पनि चुनावी मैदानमा उत्रिएका छन्।

यस्तै राप्रपाबाट देवबहादुर चन्द, स्वतन्त्रबाट त्रिलोकबहादुर चन्द, नेश्नलिष्ट पिपल्स पार्टीबाट कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशचन्द्र भट्ट, नेपाल मजदूर किसान पार्टीबाट कृष्णप्रसाद गोसाइँ, जनता समाजवादी पार्टीबाट आनसिंह भण्डारी र स्वतन्त्रबाट मानसिंह विष्ट चुनावी मैदानमा छन्।

यसैबीच  प्रदेशसभा (क) का लागि गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर विष्ट, एमालेका सुरेन्द्र पाल, राप्रपा नेपालका कृष्णा पन्त, नेकपा (एकीकृत समाजवादी)का नरेन्द्र विष्ट, राप्रपाका रणबहादुर विष्ट र स्वतन्त्रबाट नेपाली कांग्रेसका हरिमोहन भण्डारी चुनावी मैदानमा छन्।

प्रदेशसभा (ख) मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिवराज भट्ट, एमालेका  लीलाधर भट्ट, राप्रपा  नेपालका प्रेमबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीका रेवती बोहरा र राप्रपाका नारायणदत्त जोशी प्रतिस्पर्धामा छन्। हाल उम्मेदवारले प्रचारप्रसारमा तीव्रता दिएका छन्। यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन्। रासस 

प्रकाशित: १७ कार्तिक २०७९ ०८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App