जिल्ला निर्वाचन कार्यालयले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। उक्त कार्यालयले आज भद्रपुरमा आयोजना गरेको ‘निर्वाचनमा सञ्चार माध्यममको भूमिका’ विषयक कार्यक्रममा निर्वाचन अधिकृत तुलसीकुमार नेपालले निर्वाचको तयारीका विषयमा जानकारी गराएका छन्।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिए पछि कूल मतदाताको सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ पुगेका र तीमध्ये तीन लाख ३१ हजार ४४ पुरुष र तीन लाख ३२ हजार दुई सय ५९ महिला रहेको उनले जानकारी गराए।
त्यस्तै जिल्लामा आठ अन्य समूहका मतदाताको सङ्ख्या रहेको छ। जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको सङ्ख्या एक हजार दुई सय १५ बढी रहेको बताइएको छ।
पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा सबैभन्दा धेरै मतदाता क्षेत्र नं५ मा रहेको र सबभन्दा कम क्षेत्र नं१मा रहेको जिल्ला निर्वाचन अधिकृत नेपालले बताए। उनका अनुसार क्षेत्र नं १ मा मतदाताको सङ्ख्या एक लाख २० हजार तीन सय ७५ रहेको र क्षेत्र नं ५ मा एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेका छन्।
जिल्लामा सात सय ६६ मतदान केन्द्र र दुई सय ८५ वटा मतदानस्थल कायम गरिएको निर्वाचन अधिकृत नेपालले बताए। जिल्लामा दुई वटा मतदानस्थल अस्थायी रुपमा तयारी गरिएकामा जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि एउटा र प्रहरी, कर्मचारीलगायतका लागि जिल्लामा अर्को रहेको छ।
जिल्लाभर छ हजार दुई सय ४२ जनाको अस्थायी मतदाता नामावाली तयारी गरिएको र उनीहरुलेसमेत मतदानमा सहभागिता जनाउने भएका छन्। कार्यक्रम मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावालीको अध्यक्षतामा सम्पन्न भएको थियो। रासस
प्रकाशित: १७ कार्तिक २०७९ ०६:४७ बिहीबार





