५ वैशाख २०८१ बुधबार
राजनीति

मतदाता नै ‘छठीमैयाँ’

छठपर्वका अवसरमा आइतबार साझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै वीरगन्जका ३२ का श्रद्धालु। तस्बिर: उपेन्द्र/नागरिक

मन्जुदेवी वर्णवालले वीरगन्जमा चिया बेच्न थालेको दुई दशकभन्दा बढी भइसक्यो। निम्नवर्गीय परिवारकी उनले चुनावमा भोट हाल्न थालेको भने त्योभन्दा बढी समय भइसक्यो। चियाको आम्दानीबाट उनले केही प्रगति गरेकी छन्। तर नेताहरूले बुद्धि नपुर्‍याएका कारण आफू बस्ने गाउँठाउँमा विकास र परिवर्तन हुन नसकेको उनले बताइन्।  

‘हे छठीमैयाँ ! नेता सवके सदबुद्धि दिई,’ परिवारको सुखका लागि छठको व्रत बसेकी उनले भनिन्, ‘व्रतले मात्र हैन, नेतामा सदबुद्धि आए मात्र बालबच्चाले सुख पाउनेछन्।’ छठ सकिएपछि छिमेकीसँग राम्ररी सल्लाह गरेर मात्र मत खसाल्ने उनले बताइन्।  

उनको जस्तै बुझाइ छ, वीरगन्ज–३२ परसवाका पन्नालाल साहको पनि। जीवनमा थुप्रैपटक भोट हालेका उनलाई फेरि पनि चुनाव आएकोमा कुर्न हर्क छैन। ‘चुनाव आउँछ, जान्छ तर हाम्रो जीवन जस्ताको तस्तै रहन्छ,’ आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिँदै गरेका उनले भने, ‘डुब्दै गरेको सुरजको दिन आउँछ तर हामी गरिबको चाहिँ किन आउँदैन?’  

पन्नालालजस्तै श्रद्धालु छठघाटको पूजामा व्यस्त हुँदा उम्मेदवारहरू हात जोड्दै आइपुगे। नगरका आधुनिक पोखरीदेखि नदी र खोलामा पुगेर नेताहरूले भोट मागे। ‘नेताहरूलाई भ्याइनभ्याई छ,’ वीरगन्जका प्रवीण गुप्ताले भने, ‘उनीहरूका लागि मतदाता नै छठीमैयाँ भएका छन्।

गुप्ताले भनेजस्तै छठघाटहरूमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै गरेका व्रतालुको सामुन्ने हात जोड्दै गरेका उम्मेदवारको दृश्य धेरै ठाउँमा देखियो। अझ एउटै छठघाटमा फरकफरक पार्टीका नेता मतदाताका सामुन्ने पर्दाको दृश्य भने झनै रोचक देखियो। ‘छठघाटहरू भोट माग्ने अखडाजस्तै देखिए,’ गुप्ताले भने, ‘हुन लागेका माननीयहरूले हात जोड्दै गर्दा थोरै समयका लागि भए पनि सर्वसाधारण सम्माननीयजस्तै देखिए।’  

पर्सामा चुनावी आँकडा

संघीय प्रतिनिधिसभाका चार निर्वाचन क्षेत्र र प्रदेशसभाका आठ निर्वाचन क्षेत्र रहेको पर्सामा ३ लाख ४५ हजार ९२८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। करिब ७७ हजार मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का लक्ष्मणलाल कर्ण सत्ता गठबन्धन दलका तर्फबाट उम्मेदवार छन्। त्यस्तै एमाले र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धनबाट जसपाका प्रदीप यादव उम्मेदवार छन् । उनी अघिल्लो निर्वाचनमा पर्सा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यसै क्षेत्रबाट सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेसका नेता अजय द्विवेदी स्वतन्त्र उम्मेदवार बनेपछि चुनाव रोचक हुने देखिएको छ। पर्साको सदरमुकामसँगै सिंगो मुलुकको आर्थिक केन्द्र वीरगन्ज सहर यसै क्षेत्रमा पर्ने भएकाले यहाँको निर्वाचनलाई थप चासोका साथ हेरिएको छ।

२०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार रहेका यादवले नेपाली कांग्रेसका अनिल रुंगटालाई ४ हजार ६५१ मतले पराजित गरेका थिए।

यादवले २१ हजार १३२ मत ल्याउँदा रुंगटाले १६ हजार ४८१ मत पाएका थिए। पर्सा १ मा वीरगन्ज महानगरपालिकाको १९ वटा वडा समेटिएको छ। २०७९ मा भएको स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरका ८ वटा वडामा जसपा, ६ वटा वडामा एमाले, ४ वटा वडामा कांग्रेस र एउटा वडामा लोसपाले जितेको छ। स्थानीय तह निर्वाचमा प्राप्त मतका आधारमा यो क्षेत्रमा जसपाका उम्मेदवार केही भारी देखिए पनि वीरगन्जका जनताले ‘मुड’ बदलिरहने भएका कारण चुनाव परिणाम यसै हुन्छ भनेर अनुमान गर्न नसकिने मतदाता बताउँछन्। यसैगरी ८६ हजार नौ सय ६६ मतदाता रहेको पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अजयकुमार चौरसिया र एमाले–जसपा गठबन्धनबाट सुरेन्द्र कुर्मी उम्मेदवार छन्।  

९० हजार ४ सय ३२ मतदाता रहेको पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट कांग्रेसका सुरेन्द्र चौधरी र एमाले–जसपा गठबन्धनबाट राजकुमार गुप्ता उम्मेदवार छन्। चौधरी कांग्रेसका पुराना तथा बौद्धिक नेता हुन् भने गुप्ता जनतामाझ लोकप्रिय छन्। पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका नेपाली कांग्रेसका रमेश रिजाल र एमाले–जसपा गठबन्धनका जालिम मियाँ प्रतिस्पर्धामा छन्। मियाँ माओवादी केन्द्र छाडेर केही समय अघि एमालेमा आएका हुन् भने रिजाल लामो समयदेखि कांग्रेसमा आबद्ध नेता हुन्।  

प्रकाशित: १४ कार्तिक २०७९ ००:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App