१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रुपन्देही २ मा जनमुक्तिका थापालाई सत्ता गठबन्धनको समर्थन

रुपन्देहीको क्षेत्र नं. २ मा पाँच दलीय गठबन्धनले प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ।

यसअघि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चले सदर गरिदिएको थियो।  एकीकृत समाजवादीका गुरुङको नाम कालोसूचीमा रहेको भन्दै निर्वाचन अयोगले गत असाेज २५ गते उनको नाम खारेज गरिदिएको थियो।

आयोगको सो निर्णयलाई सर्वोच्चले  सदर गरीदिएपछि सत्ता गठबन्धनले केन्द्रीय स्तरबाटै विकल्पको रुपमा जनमुक्ति पार्टीलाई सघाउने निर्णय गरेको हो। गत बुधबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने निर्णय गरेका थिए।

सोही निर्णय अनुरुप सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीले शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै रुपन्देही २ सँगै जिल्लाका पाँच वटा प्रतिनिधि सभा र ५ वटा प्रदेशसभा निर्वाचनमा एकले अर्कालाई सघाउने घोषणा गरेका हुन्। गठबन्धनले थापालाई समर्थन गरेसँगै जनमुक्तिले प्रतिनिधि सभा तर्फ रुपन्देही १ मा डिबी थापा, रुपन्देही ३ मा मोजिव अलि, रुपन्देही ४ मा जवाहर अली र रुपन्देही क्षेत्र नं. ५ मा भैरवबहादुर थापाको उम्मेदवारी निष्क्रिय बनाइएको छ।

प्रदेश सभा तर्फ २ नम्बर क्षेत्रको प्रदेश क र ख सँगै क्षेत्र नं. १ को क मा बिमला गुरुङ, र ख का छत्रबहादुर दर्लामी, ३ ख का मीनबहादुर पल्लीको उम्मेदवारी निष्क्रिय पारी सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरीएको विज्ञप्तिमा उल्लेख छ।

गठबन्धनका तर्फबाट वार्ता समिति संयोजक नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङ, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य वामदेव क्षेत्री, काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, लोसपाका अजय बर्मा, नेपाल समाजवादी पार्टीका कमल खनाल, राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष प्रेमबहादुर थापाले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन्।

सत्ता गठबन्धनले समर्थन गरेका केशवबहादुर थापा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष हुन्। सत्ता गठबन्धनको समर्थन पाएपछि थापाले राजनीतिका नाममा आफूले कहिल्यै जनता ठग्ने र धनसम्पत्ति कमाउने खेलमा नलागेको भन्दै निष्ठाको राजनीतिबाटै जनताको सेवक बन्न उम्मेदवारी दिएको बताए।

निर्वाचनमा एक्लै होमिन तयार भएका बेला पाँच दलीय गठबन्धनको साथ पाएकाले जित सुनिश्चित भएको दाबी थापाले गरे। क्षेत्र नं. २ मा एमालेका बिष्णु पौडेलका विरुद्ध उम्मेदवारी नभएको भन्ने हवादारी चर्चा चलाइएको दाबी गर्दै थापाले जनताले आफूलाई एक पटक सेवक बन्ने अवसर प्रदान गर्ने दाबी गरे।

प्रकाशित: १२ कार्तिक २०७९ १४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App