२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

आगामी निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटरः नारायणमान बिजुक्छे

फाइलतस्बिर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताएका छन्। मंगलबार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले आगामी निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताएका हुन्। 

उनले ब्यारोमिटरको पारो तल झर्दा आधीबेरी आउने संकेत भएजस्तै निर्वाचनमा आफ्नो पार्टीको मत माथि भएमा क्रान्तिको सम्भावना छ भन्ने देखाउने उल्लेख गरे। उनले देशमा बिकराल समस्या देखा परिरहेको बताए। उनले संसारमा तेस्रो विश्वयुद्धको सम्भावना देखिएको भन्दै निर्वाचनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा जनतालाई जानकारी गराउने बताए।  

उनले राष्ट्रिय परिस्थितिलाई बिगार्नेहरु को–को हुन् र अन्तर्राष्ट्रिय परिस्थितिमा ठूला दलहरुको दृष्टिकोण र आफ्नो दृष्टिकोणमा के फरक छन् भन्ने विषय लिएर जनताकोमा जाने पनि बताए। सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष बिजुक्छेले आफ्नो पार्टी देशमा बनेका दुवै गठबन्धनमा जानु गलत सावित हुने भएकाले एक्लै निर्वाचनमा होमिएको बताए। 

उनले गठबन्धनमा मिसिने कुरालाई फोहोर पानीमा नुहाएर सफा हुन नसकिने भनि टिप्पणी गरे। उनले गठबन्धनका दलहरुको झुठा कुरा गरेर, जात, क्षेत्रको कुरा गरेर र लोभ लालच देखाएर भएपनि मत लिने मात्रै भएको बताए। मत पाएपछि पुनः सरकारमा गएर गलत सन्धि सम्झौताहरु गर्ने उद्देश्य दुवै गठबन्धनका दलहरुको रहेको उनको भनाई छ।  

उनले पुष्पकमल दाहाल, बाबुराम भट्टराई, केपी शर्मा ओली र माधवकुमार नेपालहरु सच्चा कम्युनिष्ट नभएको टिप्पणी गरे। उनीहरु सरकारमा जाँदा कम्युनिष्टले गर्ने काम र निर्णयहरु नगरेको भन्दै उनीहरुलाई कम्युनिष्टको दर्जा दिनु नहुने बिजेक्छेले बताए। उनले कम्युनिष्टको नाममा सरकारमा गएका पार्टीहरुले जनताको पक्षका काम गर्न नसकेका बताए।

प्रकाशित: ८ कार्तिक २०७९ १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App