coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'राप्रपालाई विजयी हुनबाट कसैले रोक्न सक्दैन'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सांसद पद आफ्नो पार्टीले मात्रै नबेचेको दाबी गरेका छन्।

अध्यक्ष लिङदेनले सो पदमा लागि कसैको नातेदार र नजिक–टाढाको मानिस भनेर आफूहरुले चयन नगरेको जिकीर समेत गरे। तिहारसहितको चाडपर्वको अवसर पारेर शनिबार पार्टीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कुनै नातेदारलाई त्यसरी नराखेको र राखेको भए सबैको प्रोफाइल पल्टाएर हेर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

अध्यक्ष लिङदेनले सबैलाई सन्तुलन मिलाएर समानुपातिकतर्फको उम्मेदवार समावेश गरिएको उल्लेख गर्दै सबैलाई न्याय गरेर जान आफ्नो पार्टी मात्रै सक्षम रहेको बताए। उनले एउटा पद एकै व्यक्तिले पाउने भएकाले अर्को व्यक्तिले पाउने अवस्था नरहेको बाध्यात्मक अवस्था रहेको उल्लेख गर्दै उनीहरुको पनि पालो आउने आश्वासन समेत दिए।

अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी हुनबाट कसैले रोक्न नसक्ने उल्लेख गर्दै हिनताबोधबाट माथि उठेर निर्वाचनको प्रचारमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

यस्तै कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर राणाले आगामी निर्वाचनपछि आफ्नो पार्टीले ठूला दलहरुलाई मुलुकलाई दुर्भाग्यतिर लैजान नदिने बताए। त्यसका लागि राप्रपाका नेताहरुले एकतावद्ध भएर निर्वाचनमा विजयी हुने गरी प्रचार अभियानलाई तीव्रता दिन उनको आग्रह थियो।

त्यस्तै काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका शीर्ष नेताहरुलाई सच्याउन पनि काँग्रेस र एमालेका कार्यकर्ताले आफ्नो पार्टीलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने जिकीर गरे।

उनले राप्रपा मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएकाले नेपाली जनताले यस पार्टीलाई आगामी निर्वाचनमा साथ दिने विश्वास समेत व्यक्त गरे। मिश्रले जनताको जीवन परिवर्तन गर्नै नसक्ने पार्टीमा काँग्रेस–एमालेका कार्यकर्ताले बस्न नमिल्ने पनि पटकपटक दोहोर्‍याए।

प्रकाशित: ५ कार्तिक २०७९ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App