२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

गठबन्धनविरुद्ध बागी दिने उम्मेदवारमाथि कारबाही

कारबाहीमा परेका प्रतिनिधिसभा उदयपुर २ का बागी उम्मेदवार काँग्रेसका रामकुमार राई। तस्विरः महेश्वर

आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा सत्तारुढ दलहरुको गठबन्धनविरुद्ध ‘बागी’ उम्मेदवारी दिने नेपाली काँग्रेस उदपुरका नेता तथा कार्यकर्ताहरु कारबाहीमा परेका छन्।

सगठबन्धनविरुद्ध प्रतिनिधि तथा प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने नेता र तिनका प्रस्तावक तथा समर्थकसमेतलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको काँग्रेस उदयपुरका कार्यवाहक सभापति भिमचन्द्र राईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। कार्यवाहक सभापति राईले बिहीबार जारी गरेको विज्ञप्तीमा उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का स्वतन्त्र उम्मेदवार रामकुमार राई र प्रदेशसभा १ (१) का उम्मेदवार जयप्रसाद सुबेदीलगायत ५ जनाको नाम उल्लेख छ।

बागी उम्मेदवार बनेका राईका प्रस्तावक र समर्थकहरु क्रमशः लिलाराज अधिकारी र मीनकुमार दाहाल तथा सुबेदीका प्रस्तावक भरत कार्कीमािथ पनि उम्मेदवारसरह ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको विज्ञप्तीमा जनाइएको छ। राईले बागी दिएको क्षेत्रमा गठबन्धनले नेकपा (एकीकृत समाजबादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई चुनावी मैदानमा उभ्याएको छ। त्यसैगरी सुबेदीले दिएको बागी क्षेत्र १ (१) मा नेकपा (माओबादी केन्द्र) का प्रदेश सदस्य राजन किराती (बासु) गबन्धनको तर्फबाट चुनाव लड्दैछन्।

गठबन्धनबिरुद्ध नजान पार्टीले दिएको निर्देशनको पालना नगरी उम्मेदवारी दिएको तथा निर्वाचन आयोगले तोकेको समयसम्म फिर्ता नलिएको भन्दै कारबाही गर्नु परेको विज्ञप्तीमा जनाइएको हो। काँग्रेस पार्टीको केन्द्रीय निर्देशन अनुसार गठबन्धनलाई असहयोग हुने कुनै पनि कार्य गरेमा स्वतः कारबाहीमा पर्ने नीति बमोजिम उनीहरुमाथि कारबाही गर्नु परेको कावा सभापति राईले बताएका छन्।  

प्रतिनिधिसभा २ मा स्वतन्त्र उम्मेदवार बनेका राई काँग्रस २ नं. प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति तथा पूर्व जिल्ला सचिवसमेत हुन्। सुबेदी १ न. निर्वाचनमा इनेगिनेकै नेता मानिन्छन्। उनीहरुलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४–९१० (घ) बमोजिम र धारा ३४–९४० अनुसार पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिएको विज्ञप्तीमा उल्लेख छ।  

यसैगरी खोटाङको प्रदेश (१) मा स्वतन्त्र उम्मेदवारी दिने काँग्रेसकै नेता धर्मराज पोखरेललाई पनि साधारण सदस्यसमेत नरहने गरी पार्टीले अघिल्लो दिन नै कारबाही गरेको एक विज्ञप्तीमार्फत जनाइएको छ।

प्रकाशित: २७ आश्विन २०७९ १५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App