६ वैशाख २०८१ बिहीबार
राजनीति

रवीन्द्र मिश्र राप्रपा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकता भएको छ। बुधबार राजधानीको राष्ट्रियसभा गृहमा आयोजित एकता घोषणा कार्यक्रममा शंख र घण्टी बजाउँदै राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो।  

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका थिए। सोअनुसार अध्यक्ष लिङ्देनपछिको वरियतामा रहने गरी मिश्र वरिष्ठ उपाध्यक्ष भएका छन्। विवेकशील साझा पार्टीबाट मिश्रसँगै राप्रपा प्रवेश गरेका नेताहरूको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक सातामा टुंग्याइने जानकारी राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले दिए। उनका अनुसार प्रदेश र अन्य तहको समितिमा समायोजन गर्नका लागि चार सदस्यीय कार्यदल बनाइनेछ। हाल राप्रपामा ६ जना उपाध्यक्ष रहेका छन्। राप्रपाको विधानअनुसार आठ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्था छ।  

राप्रपा र मिश्र समूहबीच चार बुँदे सहमतिसहित एकता घोषणा भएको थियो।

‘विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् र पार्टीका सबै नेतृत्वदायी समितिमा सामेल हुनेछन्,’ चार बुँदे सहमतिमा उल्लेख गरिएको थियो, ‘मिश्रसँगै राप्रपामा आउनेलाई कार्यसम्पादन, पदाधिकारी तथा केन्द्रीय समितिमा तहगत समायोजन गरिनेछ। राप्रपा अध्यक्ष लिङ्देन र मिश्रबीच समझदारीमा १० दिनभित्र समायोजनकका काम सकाइनेछ। प्रदेश तथा अन्य तहगत समायोजनका लागि राप्रपाबाट दुई र मिश्र पक्षबाट दुई गरी चार सदस्यीय कार्यदल बनाइएको छ। निर्वाचन आइसकेकोले तहगत समायोजन गर्दा काम नरोक्न र एक आपसमा मिलेर निर्वाचनका लागि जोडदार रूपमा तयारी गर्न आह्वान गर्ने सहमति भएको छ।’

विवेकशील साझा पार्टीका तत्कालीन अध्यक्ष मिश्रले संघीयता र धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग गरिरहँदा राजतन्त्र पुनःस्थापना हुनुपर्ने तर्क राख्दै आएका थिए। त्यसपछि पार्टी दुई धार देखिएको थियो। मिश्रले जेठ ११ गते विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए। उनले सोमबार विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए। उनी काठमाडौं–१ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न तयारी गरिरहेका थिए। विसं. २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीका तर्फबाट उनले काठमाडौं–१ मा उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए। त्यसबेला उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए।  

सो अवसरमा बोल्दै मिश्रले पार्टीभित्र बखेडा र विवाद नझिक्ने प्रतिबद्धता व्यक्त गरे। ‘हामी पार्टीमा बखेडा झिक्दैनौं,’ उनले भने, ‘मैले पछिल्लो पाँच वर्ष आफैंले स्थापना गरेको पार्टीबाट पनि अनुभव लिएँ। जहिले पनि विवाद र द्वन्द्व झिकिरहँदा नेतृत्वले काम सक्दैन। मलाई पश्चगामी र प्रतिगामी के मात्र भनेनन्। नेपाली कांग्रेसका नेताहरूले ममा विचलन आएको भन्नुहुन्छ। विसं.२०४६ सालपछि कांग्रेसमा धेरै विचलन आयो कि ममा धेरै विचलन आयो ? नेपाली कांग्रेसको आदर्श हामीले बोकेका छौं। राष्ट्रिय मेलमिलापको नीति हामीले बोकेका छौं। नाम र निर्वाचनमा अल्झिएर केही हुन्न भनेर हलो बोक्ने निर्णय गरें। ६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने हलो बोक्न मलाई केही लाज छैन। हामी कमजोर र भ्रष्ट सरकार र समाज लिएर बसेका छौं। जहाँ राष्ट्रपति संस्था, जुन राजनीतिक भन्दा माथि उठनुपर्ने हो। त्यो संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रधानमन्त्रीको संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रशासन र प्रहरीले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ सबै स्वार्थ केन्द्रीत छन्। जुन देश भूराजनीतिक रूपले संवेदनशील छ। कुनै पनि संस्थाले राम्रो काम गर्न नसक्ने ठाउँमा यदि द्वन्द्व भयो भने त्यसलाई कसले सम्हाल्ने विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा मिश्रको ‘विचारभन्दा माथि देश’ सिद्धान्तलाई समर्थन गर्ने केन्द्रीय सदस्य र लुम्बिनी र कर्णाली प्रदेशबाहेकका पाँच प्रदेश अध्यक्षहरू राप्रपामा जाने भएका छन्। विवेकशील साझाबाट वाग्मती प्रदेशकी निवर्तमान सांसद शोभा शाक्यले मिश्रसँगै राप्रपामा प्रवेश गरिसकेकी थिइन्। विवेकशील साझा पार्टी छाडेका कर्णकहादुर शाही, शरद पाठक, निरूपमा यादव र उज्वलकृष्ण श्रेष्ठ राप्रपा प्रवेश गर्दैछन्।

प्रकाशित: १३ आश्विन २०७९ ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App