coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राजनीतिक दलदलमा प्रहरी: कार्यकालमा दलीय सेवा अवकाशपछि नेता

नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप हुने गरेको आरोप जबर्जस्त छ। हरेक बढुवामा मुद्दा नपरेको बिरलै हुन्छ। यस्तै सरुवामा त उच्चतम राजनीतिक चलखेल हुने गरेको तथ्य ‘ओपन सेक्रेट’ नै छ।

प्रहरी संगठनभित्र राजनीतिक दलहरूले राजनीति भित्र्याएको आरोप लाग्दै आएको छ। तर प्रहरीभित्र दलभन्दा बढी राजनीति भने प्रहरी अधिकारीले नै गर्छन्। दलका नेताहरूको विश्वासपात्र बनेर दलीय स्वार्थमा संगठनलाई प्रयोग गरी त्यसबाट लाभ लिने काम प्रहरी अधिकारीबाटै हुन्छ।

यही कुराको एउटा प्रमाण पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले दिएका छन्। प्रहरी संगठनमा हुँदा पनि अनौपचारिक रूपमा उनी नेकपा एमालेमै रहेको कुुरा लुकेको थिएन। तर बिहीबार औपचारिक रूपमै उनी एमाले प्रवेश गरे।

अवकाश प्राप्त प्रहरी अधिकारी राजनीतिक दलमा प्रवेश गर्न पाउँछन्। उनले पनि त्यसै गरे। तर दलमा प्रवेश गर्दैगर्दा उनले जुन अभिव्यक्ति दिए, त्यसले प्रहरीभित्रको राजनीति छताछुल्ल पारेको छ। एमाले प्रवेश कार्यक्रममा खनालले प्रहरी संगठनमा रहँदा पनि आफूले अध्यक्ष केपी शर्मा ओलीका लागि काम गरेको अभिव्यक्ति दिए। आधा घन्टा बढी भाषण गरेका उनले ओलीकै गुनगान गाए।

‘मैले करिब सातवटा प्रधानमन्त्री भोगेेंं। जागिरको दौरानमा मैले अध्यक्ष केपी कमरेडजत्तिको राजनेता अर्को कोही भेटाइनँ। म उहाँका कुराबाट लालायित हुन्थें,’ खनालले भने, ‘त्यसैकारण मैले उहाँको निकट रहेर काम पनि गरें।’

सेवाकालमा ओलीले आफूलाई र आफूले ओलीका लागि सक्दो काम गरेको उनले बताए। ‘हाम्रा श्रद्धेय कमरेडको शीतल छहारी अझै पनि पाउनेछु भन्ने विश्वास लिएको छु,’ उनले भने।

सेवाकालीन दौरानमा आफूलाई अन्याय हुँदा एमाले पार्टी कार्यालय बल्खु पुगेर ओलीलाई भेटेको स्मरण गर्दै खनालले त्यहाँबाट न्याय पाएको बताए। त्यसो त खनालले एमाले र ओलीकै आशीर्वादले सुखद कार्यकाल बिताएको बताउनेहरू पनि छन्। ओली नेतृत्वमा एमालेको सरकार बन्दा उनी २०७४ चैत २७ मा डिआइजीबाट आइजिपीमा बढुवा भएका थिए। उनी आइजिपी हुँदा असन्तुष्ट हुँदै अर्का डिआइजी रमेश खरेल राजीनामा दिई संगठनबाट बाहिरिएका थिए। खनाल २०७६ माघ २८ मा उमेर हदका कारण सेवानिवृत्त भएका थिए। अवकाशपछि पनि एमालेनिकट रहेर काम गरेको उनी स्वयंले स्विकारेका छन्।

तत्कालीन नेकपाभित्र विवाद बढ्दै जाँदा ओली नेतृत्वको सरकार टिकाउन ‘सांसद अपहरणमा संलग्न रहेको’ आरोप खनालमाथि लाग्दै आएको छ। २०७७ वैशाखमा ओलीले राजनीतिक दल फुटाउन सहज हुनेगरी ‘राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेश’ ल्याएका थिए। अध्यादेश जनता समाजवादी पार्टी (जसपा) फुटाउन सहज हुनेगरी ल्याइएको थियो। कोभिड–१९ को महामारी चलिरहेका बेला २०७७ वैशाख १० गते पूर्वआइजिपी खनाल, एमाले नेता महेश बस्नेत र तत्कालीन एमाले नेता किसान श्रेष्ठले धनुषा पुगेर जसपा सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याएको आरोप छ।

यसअघि २०७४ सालमा आइजिपी बन्न नपाएर सर्वोच्च अदालत पुगेका तत्कालीन डिआइजी नवराज सिलवाल पनि एमाले प्रवेश गरेका थिए। तत्कालीन कांग्रेससँगको गठबन्धनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले कांग्रेसनिकट जयबहादुर चन्दलाई आइजिपीमा बढुवा गरेपछि सिलवाल अदालत पुगेका थिए। प्रहरीभित्रको दलीयकरणको त्यो चरम नमुना थियो।एमालेनिकट सिलवाललाई रोक्दै तत्कालीन सरकारले कांग्रेस सभापति शेरबहादुर देउवानिकट चन्दलाई आइजिपी बनाएको थियो। सर्वोच्च अदालतले चन्दलाई आइजिपी नियुक्त नगर्न अल्पकालीन आदेश दिएको थियो।

सरकारले प्राविधिकतर्फका एआइजी डा. दिनेशचन्द्र पोखरेललाई कार्यबाहक आइजिपी तोक्यो। त्यसपछि सिलवालले राजीनामा दिए। राजीनामा स्वीकृत नहुँदै उनी एमाले प्रवेश गरे। त्यसपछि सिलवाल एमालेबाट ललितपुर-१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भए। उनले चुनाव जिते।

सेवाकाल सकिएपछि दलमा प्रवेश गरेर नेता बन्ने यी दुई पूर्वप्रहरी अधिकारी मात्र होइनन्, यस्ता प्रहरी अधिकृतहरूको सूची लामै छ। उनीहरूले अवकाशपछि मात्र नभई सेवाकालमै ‘दलको सेवा’ गर्ने गरेको आरोप लाग्दै आएको छ। पञ्चायतकालमा आइजिपी बनेका दिलबहादुर (डिबी) लामा बहुदल आएपछि कांग्रेसमा पसेका थिए। त्यसपछि उनी २०५६ सालमा रसुवाबाट कांग्रेस टिकटमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्य प्रशासन सहायकमन्त्री भए।

यस्तै पूर्वआइजिपी ध्रुवबहादुर प्रधान अवकाशपछि राप्रपामा प्रवेश गरे। उनी अहिले पनि राप्रपाको उपाध्यक्ष छन्। यस्तै अर्का पूर्वआइजिपी प्रदीपशमशेर राणा पनि एक समय राजनीतिमा प्रवेश गरेका थिए। पूर्वआइजिपी रविन्द्रप्रताप शाह पनि २०७० सालमा भएकोे दोस्रो संविधानसभा सदस्य निर्वाचनमा माओवादी कोटामा समानुपातिक सांसद भएका थिए। प्रहरी संगठनमा काम गर्दा भने उनी कांग्रेसनिकट थिए। नेपाल प्रहरीका पूर्वएआइजी गणेशराज राई, पूर्वडिआइजी भक्तिनाथ माझी, पार्वती थापा पूर्वएसएसपीहरू विक्रमसिंह थापा र लक्ष्मीनरसिंह वादे, सशस्त्र प्रहरीका पूर्वएआइजीहरू सुबोध अधिकारी, रिषभदेव भट्टराई र कृष्ण तामाङ, पूर्वडिआइजी गणेश केसी, पूर्वएसएसपी लव बिष्ट लगायत पनि अहिले राजनीतिमा छन्।

अवकाशपछि राजनीतिक दलमा पसेका पूर्वप्रहरी अधिकारीहरू कार्यकालमा पनि दलीय सेवामै तल्लीन भएको आरोप छ। यो आरोप असत्य भएको पूर्वप्रहरी अधिकारीहरूले दिने गरेका अभिव्यक्तिले पुष्टि गर्छ।

नेपाल प्रहरीका पूर्वएआइजी रवि थापा बहुदल आएसँगै नेपाल प्रहरीमा राजनीति छिरेको दाबी गर्छन्। त्यो घुसाउने पहिलो काम कांग्रेसबाटै भएको बताउँछन्। ‘निर्दल हुँदा प्रहरी दलको थिएन्। बहुदल आउँदा दलहरूले प्रहरीलाई भोट स्वार्थमा प्रयोग गर्न थाले,’ उनले भने, ‘प्रहरीहरू पनि गर्वले म फलानो दलको, फलानो नेताको भनेर भन्छन्। यो प्रहरी संगठनको सबैभन्दा दुःखलाग्दो पक्ष हो।’

प्रहरी संगठनभित्र सरुवा/बढुवामा दलीय हस्तक्षेप सामान्य भएको उनको भनाइ छ। ‘अहिले त इन्स्पेक्टर भर्नादेखि नै यो फलानो-फलानो पार्टीको भनेर छुट्याइन्छ। त्यसैअनुसार दलले तिनलाई प्रयोग गर्छन,’ थापाले भने। कार्यकालमा छँदा दल र नेताको चाकडी गर्ने र अवकाशपछि दलमा प्रवेश गर्ने प्रवृत्ति स्वस्थ प्रहरी संगठनका लागि घातक भएको उनको टिप्पणी छ।

प्रकाशित: ७ आश्विन २०७९ ०१:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App