१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपतिबाट दोस्रो पटक संविधान उल्लंघन भयो: पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा.रामवरण यादवले संघीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाएका छन्।राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले सो विधेयक प्रमाणिकरण नगरेर संविधानको उलंघन गरेको पूर्वराष्ट्रपति यादवको भनाई थियो। 

बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा विघटन गरेर पहिलो चोटी संविधान उलंघन गरेकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणिकरण नगरेर फेरी संविधान उलंघन गरेको भन्दै आपत्ति जनाए। दोस्रो पटक पनि संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको सो विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण हुनबाट रोक्न मिल्ने अवस्था नै नरहेको पूर्व राष्ट्रपति यादवले पटकपटक दोहोर्‍याए।  

उनले बेलायत, भारत, अमेरिकालगायतका लोकतान्त्रिक मुलुकहरुको परम्परा र संविधानविद् तथा कानुनविद्हरुसँग परामर्श गरेर सो विधेयकलाई प्रमाणिकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि व्यक्त गरे। पूर्वराष्ट्रपति यादवले राष्ट्रपतिले सो विधेयक प्रमाणिकरण नगरेर नेपालको लोकतन्त्रमै कालो बादल मडारिएको उल्लेख गर्दै संविधानलाई बचाउन नेपाली जनतालाई सजग भएर लाग्न पनि आग्रह गरे।

पूर्वराष्ट्रपति यादवले केपी ओली नेतृत्वको सरकारले संविधान विपरित प्रतिनिधिसभा भंग गर्दा दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवि, सञ्चार क्षेत्र र आम नेपाली जनताले बचाएको उल्लेख गर्दै नेपाली जनताले फेरी पनि संविधान बचाउन पहल गर्नुपर्ने बताए। उनले राष्ट्रपति भण्डारीको यो कदम पनि नसच्चिए फेरी मुलुकमा प्रतिगमन हुने बताए।

प्रकाशित: ५ आश्विन २०७९ ११:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App