७ वैशाख २०८१ शुक्रबार
राजनीति

संविधान दिवसको दिन लोसपाले गर्‍यो जनकपुरमा विरोध प्रदर्शन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएकाे छ। सोमबार जनकपुरमा लोसपाका कार्याकर्ताले संविधान दिवसको दिनलाई कालो दिवसको रुपमा मनाएका हुन्।

असोज ३ गते संविधान जारी भएको खुशियालीमा देशको विभिन्न स्थानमा हर्षोल्लासका साथ दीपावली मनाउँदै गर्दा लोसपाले भने संविधान दिवसलाई कालो दिवसका रुपमा मनाएको हो। अन्तरिम संविधान २०६३ ले ग्यारेन्टी गरेको अधिकार २०७२ साल असोज ३ मा जारी भएको संविधानले मधेसी समुदायको अधिकार कटौती गरेको भन्दै उनीहरूले असोज ३ गतेको दिनलाई कालो दिवस रूपमा मनाए।

केन्द्रीय कार्यालयले जारी गरेको सर्कुलर अनुसार जिल्ला पार्टी कार्यालय धनुषाले क्याम्पस चौकबाट निस्केको विरोध जुलश जनकपुरधामको जनक चौकमा पुगेको थियो। जनकचौकमा कोणसभामा बोल्दै लोसपाका धनुषा अध्यक्ष परमेश्वर साहले भने 'केन्द्रीय सर्कुलर अनुसार हरेक साल असोज ३ गते कालो दिवसको रुपमा मनाउँदै आएको छौं। हामीले संविधान दिवसको दिन कालो दिवस मनाउँदा प्रश्न गर्छ सत्तामा जाने मन्त्री हुने, भत्ता खाने र संविधानको विरोध पनि गर्ने? तर हामीले प्रष्ट रूपमा भन्न चाहन्छौं। मधेस आन्दोलन लक्ष्य सत्ता मात्रै थिएन। सत्तामा भएपनि र सत्ता भन्दा बाहिर भएपनि असोज ३ गतेलाई कालो दिवस रूपमा  मनाउँदै आएका छौं।'

'हामी सत्तामा हुँदा पनि मधेस आन्दोलनको जुन लक्ष्य थियौं त्यसलाई हामीले कहिले बिर्सेका थिएनौं। आजैको दिन संविधान जारी भएको थियो। जतिबेला संविधान जारी हुँदै थियो मधेस पुरै अन्धकार थियो भने काठमाडौमा दिपावली मनाउँदै थियो।' साहले भने 'संविधान विरोधमा उत्रेका मधेस आन्दोलनका वीर योद्धामाथि गोली चलाएर जारी गरेको संविधान हो यो। त्यसैले आजको दिनलाई हामीले कहिले बिर्सन सक्दैनौं।'

उनले वर्तमान संविधान सबैको मान्ने संविधान नभएसम्म आफूहरु कालो दिवस मनाइरहने बताए। उनले फरक प्रसंगमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म नागरिकता विधेयक प्रमाणिकरण नगरे आन्दोलन गर्ने चेनावनी दिए।

उनले आफूहरु नागरिकता विधेयक प्रमाणिकरण नभए असोज ५ गतेदेखि राष्ट्रपति र वर्तमान सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए। अहिलेको संविधानलाई जारी गर्नेहरुदेखि लिएर राष्ट्रपतिसम्मले नमानेको बताए।

जनकपुरमा साना दलहरुले पनि कालो दिवसको रूपमा मनाएका छन्। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पार्टीबाट अल्गिएर केही दिन अगाडि गठन भएको तराई मधेस लोकतान्त्रिक पार्टी, डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले कालो दिवसको रूपमा मनाए।

यी पार्टीका नेता तथा कार्यकर्ताहरु हातमा कालो पट्टी बाधेर संविधान जारी भएको दिनलाई विरोध गरेका छन्। संविधान संशोधन हुनुपर्ने र मधेशको माग पूरा गर्नुपर्ने नारा लगाउँदै उनीहरु र्‍याली पनि निकालेका छन्।

प्रकाशित: ३ आश्विन २०७९ १४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App