coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुनसरी-१ मा सुकुम्बासी नेता कुमार कार्कीको स्वतन्त्र उम्मेद्वारी घोषणा

उम्मेद्वारी घोषणा सभालाई सम्बोधन गर्दै कुमार कार्की।

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट सुकुम्बासी नेता कुमार कार्कीले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन्।

देशभरका सुकुम्बासीहरुको साझा संस्था नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्षसमेत रहेका कार्कीले बिहिबार धरानको भानुचोकमा सभा गर्दै उम्मेद्वारी घोषणा गरेका हुन्। उनले ‘इमान्दारिता र शुद्धता: पाँच बर्ष, पाँच प्रतिवद्धता’ नारासहित उम्मेद्वारी घोषणा गरेका हुन्। सुनसरी क्षेत्र नं १ मा धरानको २० वटा वडा, बराहक्षेत्र नगरपालिकाको ५ वटा वडा र रामधुनी नगरपालिकाको २ वटा वडा पर्छ। धरान क्षेत्रमा मात्रै १३ हजार ६७० भन्दा बढी घरधुरी सुकुम्बासी छन्। धरान र सुनसरीको क्षेत्र नं १ को निर्वाचनमा सुकुम्बासी भोट निर्णायक मानिन्छ।

यो क्षेत्रबाट २०४६ सालको राजनीतिक परिवर्तनपछि हरेक निर्वाचनमा कम्युनिष्ट उम्मेद्वारले जित्दै आएको छ। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीले जितेको थियो भने अन्य सबै निर्वाचनमा नेकपा एमालेले जित्दै आएको छ। धरान र सुनसरी क्षेत्र नं १ एमालेको सुरक्षित क्षेत्र मानिन्छ।  

सुकुम्बासीको हकअधिकारको लागि लामो समयदेखि लडिरहेका नेता कार्कीले आफले ५ बर्षमा गर्ने ५ प्रतिवद्धता पनि सार्वजनिक गरेका छन्। केही समयपछि विस्तृत घोषणा पत्र र क्षेत्र नं १ (क) र (ख) बाट प्रदेशसभामा उठ्ने उम्मेद्वारको पनि घोषणा गर्ने उनले बताए। ठूला राजनीतिक दलहरुले सुकुम्बासीहरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरेको र सक्कल लालपुर्जा अहिलेसम्म नदिएकोले अब सुकुम्बासीकै सांसद गएर अधिकारको आवाज संसद भवनभित्र उठाउने कार्कीले बताए।  

नेता कार्कीले आफ्ना ५ बुँदे प्रतिवद्धतामा फास्ट ट्रयाकमा निःशर्त स्थानीय लालपुर्जासहित सुकुम्बासीमुक्त राष्ट्र घोषणा र समुदायमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, निब्र्याजी आवास ऋण सहायता प्रदान गरी हरेक झुप्रा घर रंगित बनाउने र खानेपानीको दीर्घकालिन स्रोत खोजेर निःशुल्क खानेपानी र विद्युतको नीति अघि सार्ने बताएका छन्। यस्तै, सर्दु सेउती लगायत खोलामा वस्तीको क्षति नहुने गरी दीर्घकालिन तटबन्धनसहित रिंग रोडको कार्यक्रम ल्याएर पर्मको नीतिबाट भौतिक पुर्वाधारको विकास गर्ने र बीच बजारबाट जाने भनेको ६ लेनको बाटो ओभर फ्लाई वा अण्डरग्राउण्डबाट बजारको क्षति नहुने गरी निर्माण गर्ने पनि कार्कीले घोषणा गरेका छन्।  

यसैगरी, भिभिआइपी र भिआइपीको सेवा सुविधा खारेज गरेर सरकारी स्रोतसाधनको दुरुपयोग हुन नदिई एक सहर एक ठूलो उद्योगको स्थापना, एक घर एक रोजगारको प्रबन्ध गर्दै हरेक ६० बर्ष पुगेका असहाय र फरक क्षमता भएका नागरिकको निःशुल्क स्वास्थ्य उपचार र आजिवन पालनपोषण गर्ने नीति ल्याउने पनि घोषणा गरेका छन्।

प्रकाशित: ३० भाद्र २०७९ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App