१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सीमा विवादमा भारत मौन

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक मंगलबार नयाँ दिल्लीमा भएको छ। परराष्ट्र मन्त्रालयका सचिव भरत पौड्याल र उनका भारतीय समकक्षी विनयमोहन क्वात्राबीच हैदराबाद हाउसमा दुई पक्षीय बैठक भएको हो। विभिन्न विषयमा छलफल भएको बैठक मंगलबार नै सम्पन्न भएको हो।

बैठकमा परराष्ट्र मन्त्रालयका सचिव पौड्यालले नेपाल–भारत सीमा विवादको विषय उठान गरेका थिए। बैठकमा सीमा विवादसम्बन्धी बाँकी कामलाई दुईपक्षीय स्थापित संयन्त्रमार्फत पुरा गर्नेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतीय विदेश मन्त्रालयले भने यो विषयमा मौनता देखाएको छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छलफलका अजेन्डा उल्लेख भए पनि सीमा विवादको विषय उल्लेख छैन। बैठकमा व्यापार पारवहन, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा क्षेत्र, सिँचाइ तथा तटबन्ध, कृषि, लगानी, विकास सहकार्य, स्वास्थ्य, संस्कृति, जनस्तरीय सम्बन्धलगायत नेपाल–भारत सहयोगका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

बैठकमा दुवै पक्षले प्रधानमन्त्री शेरबहादुर देउवाको गत अप्रिलमा भएको भारत भ्रमण र मे महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका बेला भएका छलफलको प्रगतिमा पनि समीक्षा भएको थियो। दुई पक्षीय बैठकमा बहुपक्षीय मञ्चहरूमा सहकार्यका विषयमा पनि छलफल भएको थियो।  

दुवै पक्षले ऊर्जा क्षेत्र, विद्युत् प्रसारण लाइन निर्माण, रेलवे कनेक्टिभिटीलगायतका महत्वपूर्ण पूर्वाधार निर्माणमा भइरहेको प्रगतिबारे सन्तोष व्यक्त गरेका थिए। छलफलमा रासायनिक मलको आपूर्ति, गहुँ, चिनी, धान र चामलको निर्यातमा भारतले लगाएको प्रतिबन्धबारे पनि छलफल भएको थियो। भारतीय विदेश सचिव क्वात्राले नेपाली समकक्षीको सम्मानमा मंगलबार रात्रिभोजको आयोजना गरेका थिए। परराष्ट्र सचिव पौड्यालले बुधबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गरे। भेटपछि ट्विट गर्दै भारतीय विदेशमन्त्री जयशंकरले नेपालका परराष्ट्र सचिव पौड्यालले भारतीय पक्षसँग गरेको कुराकानी फलदायी भएको जानकारी प्राप्त गरेको भन्दै प्रसन्नता व्यक्त गरेका छन्।

प्रकाशित: ३० भाद्र २०७९ ०१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App