२२ मंसिर २०७९ बिहीबार
राजनीति

‘बिपी सम्झिँदा आँखा भरिन्छ’

मुजा परेको अनुहार हेर्दा लाग्छ, वीरबल विराजीलाई बुढ्यौलीले छपक्कै छोपिसकेको छ तर सक्रिय जीवनशैलीले अझै जवान बनाइराखेको छ। उनले २००७ सालदेखि राजनीतिमा लागेका उनी अझै त्यसमै क्रियाशील छन्। यही क्रियाशीलताले नै उनको उपनाम नै ‘प्रजातन्त्रका सिपाही’ बन्न पुगेको छ। उनी राजनीतिकर्मी कम र प्रजातान्त्रिक आन्दोलनका सिपाही बढी देखिन्छन्। उनी आफूलाई चिनाउँदा पनि त्यही रूपमा चिनिन चाहन्छन्।

सप्तरीको साबिक मधवापुर–६ पुख्र्यौली घर भए पनि बिराजी राजविराज सहरको मुख्य चोकको घरमा बस्दै आएका छन्। पछिल्लो समय उनी राजविराजमा भन्दा विराटनगरमा बढी समय बिताउँछन्। विराटनगरमा छोरा प्रमोदकुमारजीसँग नातिनातिना स्याहारेर बुढेसकाल बिताउँदै आएका छन् उनी।

विराजीको राजनीति प्रवेश संयोगवश वा स्वार्थका कारण नभएर प्रजातन्त्रप्रतिको समर्पणका कारण भएको थियो। प्रजातन्त्रमाथि उनको अगाध आस्था छ। जहानियाँ राणा शासनबाट किसान–मजदुरले भोग्दै आएको पीडाले उनलाई राजनीतिमा तानेको थियो। त्यो बेला व्यवस्थाको विरोध गर्नेलाई कडा दण्ड दिइन्थ्यो। त्यो बेला बिपी कोइरालाले संघर्षको अगुवाइ गरिरहेका थिए।  

विराजी बिपीको अभिव्यक्तिबाट निकै प्रभावित थिए। प्रजातन्त्रको सुन्दर पक्षबारे उनी बिपीका अभिव्यक्ति बडो चाख राखेर सुन्थे, पढ्थे तर प्रत्यक्ष रूपमा सुन्ने लालसा पूरा भएको थिएन। २००७ सालमै बिपीलाई भेट्न उनको समूह सप्तरीबाट कष्टपूर्ण यात्रा गरेर विराटनगर पुगेको थियो। त्यो बेला उनी गाउँमै (मधवापुर) बस्थे, गाउँबाट साथीहरूसँगै पैदलै कोसीसम्म पुगे। डुंगा चढेर कोसी नदी पार गरेपछि उनीसमेत पुनः पैदल हिँडेर विराटनगर पुगे।

उनी सम्झन्छन्, ‘त्यो बेला यातायातको सहज पहुँच थिएन। हिँड्दाहिँड्दा थलिएका हामी बिपीको ऊर्जापूर्ण वचनबाट तंग्रिएर घर फर्कियौं। बिपीको वचनमा जादु थियो। प्रजातन्त्रप्रति उहाँ निष्ठावान् हुनुहुन्थ्यो। उहाँको जादु छविले मलाई तानिरह्यो।’

राणा शासनविरुद्ध २००७ सालमा नेपाली कांग्रेसको पहिलो सशस्त्र क्रान्तिको सुरुवात सप्तरीको कञ्चनपुरबाट भएको थियो। कञ्चनपुरभन्दा पूर्वमा पर्ने कुशाहाघाटमा राणा शासकले फौजी क्याम्प स्थापना गरेका थिए। यही क्याम्पको उत्तरमा कृष्णबहादुरको कमान्डमा सरकारी सेनाको क्याम्प थियो। योभन्दा उत्तर बथान (जंगलछेउ) मा कांग्रेसको क्याम्प खडा गरिएको थियो। जसको कमान्ड कुलदीप झाले गरेका थिए। नजिकैको पोखरीमा झा स्नान गरिरहेका बेला अर्कोतर्फका कमान्डर कृष्णबहादुरले दुरबिनबाट देखेपछि गोली चलाए।

घटनाबारे बिराजी भन्छन्, ‘नुहाउन पोखरीमा छिरेको केही समयमै गोली चल्यो। कुलदीपले त्यहीं दम तोडे। त्यसपछि भागाभाग भयो। क्याम्पहरू तोडिए। कृष्णबहादुर पनि गोलीको सिकार भए।’ उपचारका लागि भारत लैजाँदै गर्दा सीमामा कृष्णबहादुरको प्राण गयो। राजविराजमा कांग्रेसको राम्रो प्रभाव थियो। राजविराज कब्जा गर्न सप्तरीकै सुन्द्रापकरीमा अर्को फौजी क्याम्प खडा गरिएको थियो। लडाइँमा धेरै व्यक्तिले ज्यान गुमाए। लडाइँकै बीचमा दिल्लीमा सम्झौताका लागि छलफल सुरु भयो। दिल्ली सम्झौतापछि राणाशासन अन्त्य भयो। मोहनशमशेर प्रधानमन्त्री बने अनि बिपी कोइराला गृहमन्त्री।  

राणा शासनप्रति विराजीको विकर्षणको कारण आमजनतामाथि भइरहेको दमन थियो। जमिनदार मालिक थिए र बाँकी सबै नोकरसरह थिए। जमिनदारको नोकरी नगर्ने गाउँ–समाजमा बस्नै नसक्ने वातावरण थियो। मानौं जमिनदार राजा हो र बाँकी सबै तिनका नोकर। ‘मलाई त्यो प्रवृत्ति (व्यवस्था) मन परेको थिएन,’ उनले भने, ‘त्यस्तो व्यवस्था के व्यवस्था? विरोध गर्नुपर्ने सोच दिमागमा आयो तर एक्लै सम्भव थिएन। त्यही भएर म कांग्रेससँग जोडिन पुगें।’

प्रजातन्त्र प्राप्तिकै संघर्षका बेला भारतका समाजवादी नेता जयप्रकाश नारायण राजविराज आएका थिए। उनको खुला भाषण थियो। विराजी बडो उत्सुकताका साथ जयप्रकाशको भाषण सुन्न पुगे। जयप्रकाश नारायणले भनेका केही वाक्य अझै सम्झना छ उनलाई। विराजीकै शब्दमा जयनारायणले भनेका थिए, ‘प्रजातन्त्र स्थापना भए जनता मालिक हुन्छन्, जनता नेता हुन्छन्। अभिव्यक्ति स्वतन्त्रता हुन्छ। कोही कसैको गुलाम रहँदैन, कोही शासक र शासित रहँदैन।’ जयनारायणको त्यो भाषणबाट आफू निकै प्रभावित भको उनले बताए। उनले भने, ‘लाग्यो, प्रजातन्त्र आएपछि त कोही पनि शासित हुँदैन। यस्तो राम्रो व्यवस्थाका लागि किन नलड्ने?’

बिपीलाई उनले राजनीति र परिवारको अभिभावक मानेका थिए। प्रजातन्त्र स्थापनापूर्वको प्रजातान्त्रिक संघर्षका बेला पनि उनी नियमित रूपमा बिपीसँग भेटिरहन्थे। बिपीलाई भेट्दा उनले जहिल्यै प्रेरणा र पारिवारिक वातावरण पाए। विराजीका अनुसार बिपीसँगको आकर्षणको कारण भन्नु नै उनले गर्ने सहृदयी व्यवहार हो। विराटनगरमा बिपीलाई भेट्न जाँदा उनले हाम्रो थकित गलित अनुहार हेरेर पत्नी सुशीलालाई चिया पकाउन भन्ने गरेको विराजीको दिमागमा ताजै छ। ‘चिया त घरभरि काम गर्ने जसले पकाए पनि हुन्थ्यो तर बिपीले मप्रतिको सम्मान भाव व्यक्त गर्न पत्नीलाई अह्राउनुभयो,’ विराजी भन्छन्, ‘बिपी वास्तवमै अभिभावक हुनुहुन्थ्यो, अभिभावकीय जिम्मेवारी बोध थियो। उहाँलाई सम्झँदा अहिले पनि मेरो मन भारी हुन्छ।’  

२०१२ सालमा नेपाली कांग्रेसको वीरगन्जमा महाधिवेशन भयो। त्यो बेला कृष्णप्रसाद भट्टराई सप्तरीबाट प्रतिनिधि बनेर गएका थिए। विराजी पनि सप्तरीबाटै प्रतिनिधि बनेर महाधिवेशनमा सहभागी भएका थिए। वीरगन्ज महाधिवेशनबाट सुवर्णशमशेर पार्टी सभापति निर्वाचित भए। त्यही महाधिवेशनबाट भद्र अवज्ञा आन्दोलनको निर्णय भएको विराजीले सुनाए। भद्र अवज्ञा आन्दोलनको प्रथम सत्याग्रहमा रामेश्वर सिंह, मोतीलाल पण्डित, विराजी स्वयं र प्रजापरिषद्बाट तीनजना गरी ६ जनाको टोली गठन भएको थियो। २०१४ सालमा सत्याग्रह आन्दोलन सुरु भयो। तत्कालीन राज्यसत्ताले ठेक्का लगाएको जंगलमा खर र बाँस काटेर भद्र अवज्ञा आन्दोलनको सुरुवात गर्दा आफूहरू पक्राउ परेको घटना विराजीको मनमा ताजै छ। त्यो बेला आफूहरूलाई समातेर खाँडो नदीनजिक ल्याएर प्रहरीले छाडिदिएको उनले सम्झिए।

२०१५ सालमा आमनिर्वाचन घोेषणा भयो। कांग्रेसले चुनावको व्यापक तयारी थाल्यो। विराजीले पनि आफ्नो क्षेत्रवरपर पार्टीलाई जिताउन तयारी थाले। त्यो बेला देशभरि १ सय ९ वटा निर्वाचन क्षेत्र थिए। सप्तरीमा तीन निर्वाचन क्षेत्र थिए। ३५, ३६ र ३७ निर्वाचन क्षेत्र नम्बर। ३६ नम्बर निर्वाचन क्षेत्रबाट डा. नागेश्वरप्रसाद सिंह, ३७ बाट रामेश्वरप्रसाद सिंह र ३५ नम्बरबाट विराजीले चुनाव लडे। त्यो बेला गजेन्द्रनारायण सिंह सप्तरी कांग्रेसका सभापति थिए। उनी क्षेत्र नम्बर ३६ बाट आकांक्षी थिए। उनले टिकट नपाएपछि विद्रोह गरे। जसका कारण विराजीले जम्माजम्मी १ सय ७ मतले चुनाव हारे।

आमनिर्वाचनमा बिपी कोइरालाले विराजीको निर्वाचन क्षेत्रमा विशेष रूपमा भाषण गरेका थिए। ‘उहाँले मेरो निर्वाचन क्षेत्रमा विशेष समय दिनुभएको थियो तर आफ्नै पार्टीका विद्रोहीले चुनाव हराएपछि के गर्नु?’ विराजीले भने।

विराजीले चुनाव हारेपछि त्यो बेला कांग्रेस मुख्यालयले जाँच कमिसन खटायो। जाँच कमिसनको प्रतिवेदनअनुसार गजेन्द्रनारायण सिंह पार्टी सभापतिबाट हटाइए। त्यो बेला चुनाव लड्दा बिपीले पाँच हजार रूपैयाँ सहयोग गरेको उनी सम्झन्छन्।

२०१४ सालमा राजा महेन्द्रको सप्तरीमा सवारी भयो। त्यो बेला विराजीसहित करिब चार सय कांग्रेसीले पार्टीको झण्डा लिएर बघियाघाटमा स्वागत गर्न गएका थिए। कांग्रेसको झण्डा देखेर त्यो बेला राजा महेन्द्र अचम्भित भए। उनले बडा हाकिम सहदेव सिंहलाई निर्देश जारी गरे, जसरी हुन्छ आउने चुनावमा यहाँबाट कांग्रेसले हार्नुपर्छ। कांग्रेसको हर्ताकर्ता अगुवा भएकाले विराजीलाई तारो बनाइयो। षड्यन्त्रको नालीबेलीबारे विराजीले सुनाए, ‘३६ नम्बरबाट उम्मेदवार महासुदामा यादवलाई विराजीको क्षेत्र ३५ नम्बरमा ल्याएर उठाइयो। कृष्णदेव झालाई मेराविरुद्ध उठाइयो। सबै मिलेर मलाई हराए। मेरो हारको कारण सहदेव सिंह बने। जब बिपी कोइराला प्रधानमन्त्री बने, तिनै सहदेव सिंह सरुवाका लागि मसँगै गुहार लगाउन आए।’

‘बिपीलाई भेट्न मैले समय मागिरहनु पर्दैनथ्यो, सिधा प्रवेश पाउँथें म,’ उनले भने, ‘म बिपीकहाँ गएँ र सहदेव सिंहलाई सरुवा गरिदिन आग्रह गरें।’

‘बिपीले तपाईंलाई नै हराउनेको सिफारिस गर्न आउनुभयो भनी मायालु पाराले हपार्नुभयो तर मैले उहाँलाई भनें, ‘मलाई राम्रो नगर्नेलाई म राम्रो गरिदिन्छु,’ विराजीले बिपीसँगको संवाद सम्झँदै भने। यसपछि बिपीले विराजीको आग्रह मानेर सहदेवको सरुवा गरिदिए। उनले भारतबाट आउने कतिपय समाजवादी नेतालाई बिपीसँग भेटघाट गराउँथे।

२०१५ सालको चुनावमा कुल १ सय ९ सिटमा ७४ सिट नेपाली कांग्रेसले जितेको थियो, १९ सिट गोर्खा परिषद्, संयुक्त प्रजातन्त्र पार्टीले ५, नेपाल कम्युनिस्ट पार्टी ४, नेपाल प्रजा परिषद् (घन कोदालो) ले २, नेपाल प्रजा परिषद् (हलो) ले १ र स्वतन्त्रले ४ सिट जितेका थिए।

२०१७ साल पुस १ गते बिपी कोइरालाको प्रजातान्त्रिक सरकार शाही ‘कु’ बाट अपदस्थ गरियो। धेरै नेता पक्राउ परे, धेरैलाई जेल हालियो। बिपी पनि पक्राउ परे। राजाले जिल्ला–जिल्लामा दौडाहा (दूत) खटाए। राजविराजमा पनि दौडाहा आएर विराजीसँग भेटे। त्यो बेला दौडाहामार्फत आएको प्रस्ताव सम्झँदै उनले भने, ‘राजाबाट तपाईंलाई मन्त्री बन्न निम्तो छ, स्विकार्नुस्।’ विराजीले जवाफमा भने, ‘म विचार गरुँला।’ दौडाहा फर्केपछि उनी दरभंगातिर हानिए। उनले मन्त्री पद स्विकार्ने सवालै थिएन। कारण खुलाउँदै विराजीले भने, ‘प्रजातन्त्र फर्काउन राजनीतिमा आएको व्यक्तिले प्रजातन्त्र कुल्चनेसँग हात मिलाएर सरकारमा कसरी जानु? त्यसमा पनि मेरो आदर्श बिपी कोइराला जेलमा हुनुहुन्थ्यो। यस्तो अवस्थामा म कसरी सरकारमा जान सक्थें?’

त्यो घटनापछि उनका धेरै साथी पञ्चायतमा लागे तर उनको मनले तिनै साथीको हुलमा मिसिन मानेन। ‘मैले महेन्द्र सरकारको त्यो प्रस्ताव अस्वीकार गरेर सही–गलत के गरें थाहा भएन तर जीवनभर आत्मसन्तुष्टि भने अनुभूत गर्न पाएको छु,’ उनले भने।

झन्डैझन्डै मन्त्री बनेका विराजीको बिजोग त्यसपछि सुरु भयो। उनी बिहारको दरभंगाको रेलवे स्टेसनमा तीन वर्ष बसे। निकै लामो कसरतपछि मात्र पार्टीका कार्यवाहक सभापति सुवर्णशमशेरसँग भेट भयो। उनले विराजीलाई वीरपुर क्याम्प इन्चार्ज बनाएर पठाए। त्यो बेला नेपाली कांग्रेसको मुख्यालय कोलकातामा थियो। सरकारविरुद्ध सशस्त्र क्रान्ति भयो। धेरैजसो उनका साथीहरू मारिए। विराजीले समेत आफ्नो सुरक्षागार्ड सुकदेव सिंहलाई गुमाए। इन्चार्ज भएकाले मात्र उनी बाँचे।

२००७ सालपछिको प्रजातन्त्रकाल र २०१७ पुस १ गते राजा महेन्द्रको कदमपछिको प्रवासकाल दुवै अवस्थामा सक्रिय राजनीति गरेका विराजी प्रजातन्त्रलाई आफ्नो राजनीतिको मिसन मान्छन्। राणाशासनदेखि पञ्चायत र २०४६ चैत २६ गते प्रजातन्त्रको पुनस्र्थापनासम्मको संघर्षमा सक्रिय रहेका विराजी पार्टीप्रति आस्थावान्भन्दा पनि प्रजातन्त्रप्रति बढी आस्थावान् भएको बताउँछन्। यही प्रजातन्त्रप्रतिको आस्थाले राजनीतिबाट आफू अलग हुन नसकेको उनी बताउँछन्।  

प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो निर्वाचन २०४८ सालमा प्रजातन्त्रका लागि संघर्ष गर्नेले टिकट पाएनन्। त्यो बेला सप्तरी जिल्ला सभापति हरि राईले मात्र टिकट पाए। ४० वर्ष संघर्ष गरेपछि बल्ल पुनस्र्थापना भएको प्रजातन्त्रमा अधिकारको लडाइँ लड्नेले भन्दा अरूले नै जनताको ‘सेवा’ गर्ने लाइसेन्स अर्थात् सांसदको टिकट पाए। उनलाई पाखा लगाएर जयप्रकाश गुप्ता र कुबेर शर्माले टिकट पाए। यसबाट विरक्तिएका धेरै जनाले कांग्रेस पार्टी छोडे। उनी भने घात खाए पनि पार्टीमै बसिरहे।  

२०४९ सालको स्थानीय निकाय निर्वाचनमा जिल्ला विकास समिति सभापतिमा नेपाली कांग्रेसका तर्फबाट टिकट पाएका विराजी विजयी भए। उनले पाँच वर्षसम्म जिविस सभापतिका रूपमा जिम्मेवारी सम्हाले। पछि संविधानसभाको पहिलो निर्वाचनमा उनी नेपाली कांग्रेसबाट उम्मेदवारीका लागि ठिक परेका थिए तर उनको टिकट खोसियो र अर्कैको मनोनयन दर्ता भयो। देवनारायण मण्डललाई टिकट दिए पनि उनी चुपचाप पार्टीमै बसिरहे। दोस्रो संविधानसभा निर्वाचनमा उनले टिकट त पाए तर सबै मिलेर हराइदिए। ‘मलाई त्यो चुनाव हराउन पूर्वकांग्रेसीकै ठुलो भूमिका छ,’ उनले भने, ‘प्रजातन्त्रका लागि लामो संघर्ष गरियो, बाहिरी संघर्षभन्दा पार्टीभित्रै संस्कार बसाउने संघर्ष गरिएको रहेनछ। अहिले पनि म त्यही संघर्ष गर्दै छु।’ उनी भन्छन्, ‘जीवनको उतराद्र्धमा उभिँदासम्म प्रजातन्त्रकै पक्षमा अडिएको छु। मलाई यसमै सन्तोष छ।’

संघर्ष यात्रामा पत्नी सुशीला विराजीले अर्थपूर्ण सहयोग गरेको उनी बताउँछन्, उनी पत्नीप्रति कृतज्ञ छन्। तत्कालीन जमुनी मधेपुरा गाविसनिवासी सुशीलासँग विराजीको २००९ सालमा विवाह भएको थियो। सुशीलाको २०७३ सालमा मृत्यु भयो। प्रजातन्त्रका लागि संघर्ष चलिरहेकै बेला विवाह बन्धनमा बाँधिएका विराजीलाई पत्नीबाट कहिल्यै असहयोग भएन। उनी सम्झन्छन्, ‘उनले (सुशीला) सहयोग नगरेको भए मैले यति लामो संघर्ष गर्न सक्दिनथें। बच्चाको पालनपोषणदेखि पढाइ–लेखाइ सबै उनैले सम्हालिन्।’

‘राजनीतिमा सक्रिय छु, सक्रिय रहिरहन्छु,’ उनको अठोट छ, ‘तर पछिल्लो समय पार्टीमा विभिन्न गुट उपगुट हावी भएको छ। कांग्रेस मात्र होइन, सबै किसिमका पार्टीमा गुटको रोग देख्छु। कैयौं कनिष्ठहरू सांसद हुँदा आफू हुन सकिनँ। गुट–उपगुटले पार्टी र प्रजातान्त्रिक पद्धति सबैमा नकारात्मक असर परेको छ। पार्टी कमजोर हुँदै गएको छ। प्रजातान्त्रिक शक्ति कमजोर हुनु भनेको प्रजातन्त्रमाथि खतरा बढ्नु हो।’  

२०३५ सालताका बिपी जेलबाट छुटिसकेका थिए। उनी वनारसमा बस्न थालेका थिए। विराजी बाबाधाम तीर्थ गर्न गएका थिए। आफ्नो जीवनको आदर्श व्यक्ति बिपी वनारसमा रहेको थाहा पाएपछि उनी तीर्थबाट फर्कंदा वनारस गए। वनारसमा नेपाली रिक्साचालक देखेपछि उनले जिज्ञासा राखे, ‘बिपी कोइराला बस्ने स्थान देख्नुभएको छ?’ रिक्सा चालकले विराजीलाई ल बस्नुस् म पु¥याइदिन्छु भने। विराजीसँग उनका दाजु रामलखन पनि थिए। दुवैजना रिक्सा चढेर वनारसस्थित बिपीनिवास पुगे। बिपीनिवासमा सुरक्षाकर्मीको कडा पहरा थियो। रिक्सावाललाई सुरक्षाकर्मीले नराम्ररी हप्काएपछि उनी भागे। सुरक्षाकर्मीले दुवैलाई लामो सोधपुछ गरे र मात्र भित्र प्रवेश दिए। भित्र उनीहरूलाई सादा पोसाकका सुरक्षाकर्मीले रोके। उनीहरू विराजी दाजुभाइलाई सोधपुछ गरेर नाम लेखेर माथि उक्ले। केही बेरपछि ती सादा पोसाकका सुरक्षाकर्मीसँगै बिपी तल ओर्लिए। ‘बिपीले भन्नुभयो अहिले आन्तरिक बैठक चलिरहेको छ, तपाईंहरू आज यहीं बस्नुस्, भोलि कुराकानी गरेर फर्किनुहोला।’

‘भोलिपल्ट उहाँले अलि सचेत हुन सुझाउनुभयो किनभने मलाई त्यतिबेला पञ्चहरूले हत्या अभियोगमा फसाएका थिए। यो कुरा मैले उहाँलाई सुनाएको थिइनँ। उहाँ आफ्ना साथीभाइ, कार्यकर्ताकोखबर लिनुहुन्थ्यो। मलाई उहाँको यही कुरा मन पथ्र्यो। अहिलेका नेतामा यस्तो सचेतना र चिन्ता कहाँ?’ यति भनिनसक्दै विराजीका आँखा रसाए। ८७ वर्ष पार गरिसकेका विराजीलाई कैयौं विस्मृतिले छोपिसकेको छ तर बिपी सम्झँदा उनी भावुक बन्छन्।

‘बिपीले कार्यकर्ता नभई परिवारको सदस्यसरह मान्नुहुन्थ्यो,’ विराजीले सुनाए, ‘उहाँलाई सम्झँदा मात्र पनि मेरो आँखा रसाउँछ।’ आँसु पुछ्न उनले हात उठाए।

प्रकाशित: २५ भाद्र २०७९ ०६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App