coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्नेछुः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आशय व्यक्त गरेका छन्।

बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिले देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताए।

अध्यक्ष दाहालले राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने स्पष्ट पारे। उनले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानूनमा आवश्यक सुधार र संशोधन गर्ने प्रतिवद्धता जनाए। उनले राजनीतिक पार्टी र अन्य देशहरुसँगको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने दाबी गरे।

दाहालले भने, ‘अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौं। अब देश विकासको निम्ति वातावरण तयार भएको छ। अहिले नेपालमा जुन परिवर्तन आएको छ। राजनीतिक नेतृत्वको हैसियतले मैले केही समय अगाडि संविधान सभाबाट संविधान घोषणा भएपछिको निर्वाचन अगाडि नेपाली जनता र अन्तर्राष्ट्रिय मित्रहरुकोसामु पनि राजनितिक परिवर्तन र स्थिरताको निम्ति धेरै मेहनत गर्‍यौँ। अब बाँकी आर्थिक समृद्धिको लागि हाम्रो ध्यान केन्द्रित हुनेछ भनेर केही प्रयोग गर्न खोजियो। त्यो प्रयोग गरियो र सफल भएन। अब हामी दोस्रो लोकतान्त्रिक निर्वाचनलाई सम्पन्न गर्ने प्रक्रियामा छौं। मलाई विश्वास छ। मैले त्यतिबेला जे प्रतिवद्धता गरेको थिएँ। अब मेरो हैसियतमा राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन अब आर्थिक विकास, आर्थिक समृद्धिको लागि र सामाजिक न्याय र समान्ताका निम्ति समर्पित गर्ने प्रतिबद्धता जनाएको थिएँ। अब चाहन्छु आगामी निर्वाचनपछि फेरि एकपटक देशलाई आर्थिक विकासमा गति दिनको निम्ति ऐन कानूनमा आवश्यक सुधार र संशोधनसहित राजनीतिक पार्टीहरु र अन्तर्राष्ट्रिय मित्रहरु बीचको सहकार्यलाई नयाँ उचाइमा उठाइनेछ। यसमा परिसंघका पदाधिकारीहरुले खेलेको भुमिका धेरै महत्वपूर्ण छ।’

यस्तै उनले वर्तमान अवस्थामा निजी क्षेत्रको सहभागिता र विश्वास नलिकन देशले आर्थिक विकास र समृद्धिको यात्रालाई गति दिन नसक्ने बताए। उनले संविधान सभाबाट संविधान निर्माण गर्दा नै निजी क्षेत्रलाई महत्व दिएको दाबी गरे।

उनले संविधान निर्माणपछि हरेक राजनीतिक दलको घोषणामा निजी साझेदारी अवधारणा अघि सारिएको पनि बताए। अध्यक्ष दाहालले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दिनप्रतिदिन सुमधुर बन्दै गएको उल्लेख गर्दै सहकार्यमा निजी क्षेत्रसँगको सम्बन्ध सुदृढ भइरहेको बताए।

प्रकाशित: २३ भाद्र २०७९ १४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App