७ वैशाख २०८१ शुक्रबार
राजनीति

मधेस प्रदेश: कांग्रेसमा उम्मेदवार सिफारिसको विवाद उत्कर्षमा

फाइल तस्बिर

मंसिर ४ गते हुने आमनिर्वाचनका लागि मधेस प्रदेशका जिल्लामा नेपाली कांग्रेसले गरेको उम्मेदवार सिफारिसमा विवाद देखिएको छ। उम्मेदवार सिफारिस गर्दा ‘गुटबन्दी’ भएको भन्दै संस्थापन र इतरपक्षबीच विवाद भएको हो।

धनुषा निर्वाचन क्षेत्र नम्बर २ कोे प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिसको विषयमा विवाद बढेर दुई पक्षबीच शनिबार कुटाकुट नै भयो। औरही गाउँपालिका–१ स्थित झिटकोहियामा कांग्रेसको उम्मेदवार सिफारिका लागि बसेको क्षेत्रीय समिति बैठकमा नेता रामकृष्ण यादव र मुक्ताकुमारी यादवका समर्थकबीच कुटाकुट भएको हो। गत शुक्रबार बसेको क्षेत्रीय कार्यसमिति बैठकबाट दुईजना रामकृष्ण यादव र मुक्ताकुमारी यादवको नाम सिफारिस गरिएको थियो। तर, आपसी सहमतिबाट कुनै एक नेताको नाम मात्रै पठाउने भनेर पुनः शनिबार बैठक बस्यो। बैठकमा सहभागी नेता तथा कार्यकर्ता कसैले रामकृष्णले छाड्नुपर्ने त कसैले मुक्ता यादवले छाड्नुपर्ने धारणा राखे। सहभागीको धारणा सुनेपछि मुक्ताले आफ्नो धारणा सुनाइन्।  

मुक्ताको कुरा सुनेपछि रामकृष्णले आफूलाई अन्तिम पटक अवसर दिन आग्रह गरेका थिए। दुवैले एकले अर्कालाई नछाड्ने अडान लिए। दुवै नेताको अडान कायमै रहँदा साँझ पर्न लागेको थियो। बैठकमा सहभागी नेताहरू बैठक स्थगित गरेर बिहीबार फेरि बस्ने गरी बाहिरिन थाले। त्यही क्रममा रामकृष्णका विश्वासपात्र मानिएका श्रवण कुसियैतको हातमा बैठकको माइन्युट देखेपछि मुक्ता समर्थकले प्रश्न गरे, ‘माइन्युट कहाँ लगेको ?’ कुसियैतले जवाफ दिए, ‘जनकपुर।’ त्यत्तिकैमा उनीहरूबीच भनाभन भएको थियो।  

भनाभनबाट सुरु भएको विवाद दुवै समूहबीच हानाहान भएपछि आउने आइतबार जनकपुरमा पुनः बैठक बस्ने र उम्मेदवार सिफारिस गर्ने निर्णयपछि सहभागी कार्यकर्ता आ–आफ्नो घरतर्फ लागेका थिए। धनुषा निर्वाचन क्षेत्रबाट रामकृष्ण यादव २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरी विजयी भएका थिए भने २०७४ सालको निर्वाचनमा संघीय समाजवादीका उम्मेदवार उमाशंकर अरगरियाबाट पराजित भएका थिए। मुक्ता यादव दोस्रो संविधानसभामा समानुपातिक सदस्य र २०७४ सालमा राष्ट्रिय सभा सदस्य थिइन्। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा यी दुवै नेताको उम्मेदवारी थियो। रामकृष्ण सह–महामन्त्रीमा पराजित भएका थिए भने मुक्ता केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएकी थिइन्।

यस निर्वाचन क्षेत्रमा जम्मा सात पालिकाका ४४ वटा वडा छन्। जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १७ र १८, हंसपुर नगरपालिकाका १, ४, ६ र ९, विदेह नगरपालिकाका १, २, ३, ४, ५, ६, ७ र ८, जनकनन्दिनी गाउँपालिका, औरही गाउँपालिका, सहिदनगर नगरपालिका र कमला नगरपालिका पर्छ। जसमध्ये एक मात्र कमला नगरपालिकाको प्रमुखसहित १९ वटामा कांग्रेसले तिजेको छ। गत स्थानीय चुनावमा वडा स्तरमा कांग्रेसले झन्डै २२ हजार मत पाएको छ। नेकपा एमालेले १२ हजार, माओवादीले ९ हजार माओवादीकै हाराहारीमा जसपाले मत पाएको छ।

विवादको लहरो सिरहामा फैलिएको छ। यहाँ क्षेत्रीय कार्यसमितिले गरेको सिफारिसलाई जिल्लाले उल्टाइदिएपछि विवाद बढेको हो। कांग्रेसको विधानअनुसार सर्वसम्मत वा बहुमतले प्रदेशसभा समितिबाट सिफारिस भएको उम्मेदवारबारे प्रतिनिधिसभा समितिले राय सुझाव लेख्ने, त्यसपछि प्रतिनिधि र प्रदेशसभा कार्यसमितिले सिफारिस गरेको उम्मेदवारबारे जिल्ला कार्यसमितिले राय लेखेर माथिल्लो निकायलाई पठाउने भनिएको छ। महासचिवको पत्रले पनि त्यही भन्छ। तर, विधिपूर्वक सिफारिस भएका उम्मेदवारलाई जिल्ला कार्यसमितिले नाम हटाउने/थप्ने र क्रमागत हेरफेर गरी प्रदेशलाई उम्मेदवारको सूची बुझाएपछि सिरहा कांग्रेसमा विवाद उत्कर्षमा पुगेको छ।  

सिरहाको जिल्ला कार्यसमितिमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षको बहुमत छ। बहुमतकै दम्भमा प्रदेश र प्रतिनिधिसभा कार्यसमितिबाट संस्थापनइतर पक्ष शेखर कोइरालाका अधिकांश नेता उम्मेदवारको रूपमा सिफारिस भएर आए पनि जिल्ला कार्यसमितिले नाम हटाउने गरेको छ। कार्यसमिति सचिव शैलेन्द्र यादवका अनुसार ४ वटै निर्वाचन क्षेत्रका प्रतिनिधि र प्रदेशसभाको उम्मेदवारमा प्रत्यक्ष र समानुपातिक गरी १ सय ४० जनाको नाम सिफारिस भएको छ। जसमा प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले सिफारिस गरेको विधानसम्मत नै भएको उनले बताए। स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिका मेयर उम्मेदवारसमेत रहेका जिल्ला कार्यसमिति महासचिव उपेन्द्रकुमार यादवले उनीहरूमाथि उजुरी दिएका थिए। जसमा सुनवाइ गर्दै कार्यसमितिले सबैलाई निलम्बन गरेको छ। निलम्बित व्यक्तिले गरेको सिफारिसको वैधानिक आधार नभएको उनले बताए।

यता, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सञ्जयप्रकाश यादवले आफ्नो अध्यक्षतामा भदौ १६ गते भएको बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय कोषाध्यक्ष सीतादेवी यादव र महासमिति सदस्य डाक्टर सुभाषचन्द्र यादव तथा प्रतिनिधिसभा समानुपातिकमा महासमिति सदस्य अमर रेग्मीको नाम सर्वसम्मतले सिफारिस गरेको बताए। प्रदेशसभा (क) प्रत्यक्षमा महाधिवेशन प्रतिनिधि चन्द्रदेव यादव, जागेश्वर यादव, रामबाबु महतो, रामचन्द्र यादव र राजकुमार यादव, समानुपातिकमा महिलातर्फ कृष्णादेवी यादव र पुरुषतर्फ पुरुषोतम गौतम, बुधराम सिंह दनुवार, मुरली राय माझी, मायादेव चौधरी र रामदेव यादवको नाम सिफारिस गरेको थियो।  

प्रदेशसभा (ख) प्रत्यक्षमा सञ्जयप्रकाश यादव, गंगाराम यादव र आशिषलाल यादव, समानुपातिकतर्फ महिला विणाकुमारी यादव र पुरुषमा योगेन्द्र नारायण बडबरियाको नाम सिफारिस गरिएको थियो। क्षेत्रीय कार्यसमितिबाट भएको निर्णयलाई केही सुनुवाइ नै नगरी जिल्ला सभापति रामचन्द्र यादवले प्रदेशसभा (ख) सभापति रामनारायण महतोको अध्यक्षतामा कार्यसमिति बैठक बसेर क्षेत्रीय सभापतिको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय उल्टाएर जिल्ला सभापति रामचन्द्र यादवले प्रतिनिधिसभा सदस्यमा आफ्नोा एकल नाम सिफारिस गरेका छन्। प्रतिनिधिसभा समानुपातिकमा मधुसूदन यादव, बेचन महतो र सन्तोषी यादवको नाम सिफारिस गरिएको छ।  

प्रदेशसभा (क) मा रामसगुन यादव, रामनारायण महतो, राजकुमार सिंह र समानुपातिकमा कौशल मण्डल, गंगाप्रसाद यादव, विश्वेश्वर यादव, रेखा यादव, समरिकादेवी महतो र जमुनीदेवी पासमानलाई सिफारिस गरिएको छ। प्रदेशसभा (ख) प्रत्यक्षमा रामबाबु यादव, समानुपातिकमा उपेन्द्र यादव, तारकेश्वर यादव, कुसुमदेवी यादव र बबिता यादवको नाम सिफारिस गरिएको छ।  

अधिवेशनदेखिकै अहम्

१४औं जिल्ला अधिवेशनमा जिल्ला नेतृत्व चयनका लागि चुनाव भएको थियो। चुनावमा सभापतिका संस्थापन र इतर पक्षका दुई जना उम्मेदवार थिए। संस्थापन पक्षका रामचन्द्र यादव र इतर पक्षका रामसुन्दर चौधरी। मतदानको क्रममा रामचन्द्र यादवको पक्षबाट धाँधली भएको भन्दै पुनः निर्वाचन माग गर्दै रामसुन्दर चौधरीले आवाज उठाए। सुनुवाइ नभएपछि चौधरीले आफ्नै नेतृत्वमा नेपाली कांग्रेस समानान्तर जिल्ला कार्यसमिति घोषणा गरेका थिए। त्यसपछि यादव र चौधरी पक्षबीचको विवाद बढ्न पुग्यो। स्थानीय तह निर्वाचनको बेला रामसुन्दर पक्षमा खुलेका केही व्यक्तिलाई रामचन्द्रले टिकट पाउनबाटै रोकिदिए।  

२०७४ मा सर्लाही ४ बाट अमरेशकुमार सिंह निर्वाचित भएका थिए। उनले राजपाका राकेशकुमार मिश्रलाई हराएका थिए। यस क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि ४ (क) को प्रत्यक्षमा नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहको एकल नाम सिफारिस भएको छ। ४ (ख)मा अधिककुमार सिंह, अशोककुमार सिंह र नरेन्द्र रायको नाम सिफारिस भएको छ। सर्लाही कांग्रेसमा लामो समयदेखि संस्थापन र इत्तर पक्षबीच विवाद चलिरहेको छ। जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह सभापति शेरबहादुर देउवा पक्षीय हुन् भने सांसद अमरेशकुमार नेता शेखर कोइराला पक्षका हुन्।

प्रकाशित: २३ भाद्र २०७९ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App