२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

कार्यदललाई सहमति गर्न थप दुई दिन

फाइल तस्बिर

सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको टुंगो लगाउन थप दिन समय लिएको छ। आइतबार अपराह्न प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले कार्यदललाई सोमबार र मंगलबार संख्यामा सहमति खोज्न समय दिएको हो।

कार्यदलले दुई दिनभित्र सहमति जुटाउन नसकेका विषयमा बुधबार बस्ने शीर्ष नेताहरूको बैठकले टुंगो लगाउन समझदारी भएको छ। गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन अझै दुई दिन लाग्ने जानकारी दिँदै सरकारका प्रवक्ता तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘अझै तपाईंहरूले दुई दिन पर्खिनुपर्छ।’

सोमबार र मंगलबार कार्यदलले संख्यासहित क्षेत्रहरूका विषयमा पनि सहमतिको प्रयास गर्नेछ। यसअघि बसेको शीर्ष नेतासहित कार्यदल बैठकले आन्तरिक छलफल गरेर सिट संख्या टुंगो लगाउने समझदारी गरेको थियो। गठबन्धनको नेतृत्व गर्दै आएको कांग्रेस विगतमा राख्दै आएको एक सय सिटको अडानबाट पछि हटेको थियो।  

सहमतिका लागि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको पक्षमा ८६ सिट राखेर सहमति खोज्न कार्यदल सदस्यहरूलाई आग्रह गरेका थिए। तर, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका केही नेतालाई पनि ल्याउनुपर्ने भन्दै त्यो संख्यालाई पनि ख्याल गर्न आग्रह गरेको स्रोतको दाबी छ। देउवाले शीर्ष नेताहरूको बैठकमा पनि सोही कुरा राखेको सहभागी एक नेताले जानकारी दिए।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाको कुल सिट संख्याको आधा कांग्रेसलाई र बाँकी आधा गठबन्धनका दललाई छाड्न प्रस्ताव गरेको बताइएको छ। त्यो गर्दा कांग्रेस ८३ सिटमा सीमित हुनेछ। त्यसमा कांग्रेस सहमत भए माओवादी आफ्नो पक्षमा ४५ देखि ५० सिट लिने रणनीतिमा देखिन्छ। तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने कांग्रेसलाई ७० सिट मात्र लिन आग्रह गरेका थिए।  

कांग्रेसलाई ८५ देखि ९०, माओवादी केन्द्रलाई ४० देखि ४५ र जनता समाजवादी र एकीकृत समाजवादीलाई १५ देखि २० सिट प्रत्यक्षतर्फ भागबन्डा गरेर सहमतिमा पुग्ने अन्तिम गृहकार्यमा कार्यदल सक्रिय रहेको छ।  

प्रकाशित: २० भाद्र २०७९ ०१:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App