८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

पहिले जितेको ठाउँ लिने भन्ने छ,म गोरखा २ बाटै लड्छु: भट्टराई

पत्रकारहरु सँग कुराकानी गर्दै बाबुराम भट्टराई।

नेपाल समाजवादी पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आसन्न निर्वाचनमा गोरखा २ बाट चुनाव लड्ने बताएका छन्। गृहजिल्लामा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘यस अघिको निर्वाचनमा जसले जहाँ जितेको हो त्यहाँ लिने भन्ने आन्तरिक सहमती छ, त्यो अनुसार म स्वतः गोरखा २ बाट चुनाव लड्छु।’ त्यसको अन्तिम टुङ्गो भने गठबन्धनले लगाउने उनले बताए।  

कुनै दल विशेषको नेता वा उम्मेदवार भन्दा पनि गोरखाबाट एउटा साझा व्यक्तिको हिसाबले आफूलाई हेर्दा उपयुक्त हुने उनले बताए। ‘सबै दलको साझा उम्मेदवारको रुपमा अघि बढ्न चाहेको छु’ उनले भने, ‘गठबन्धनका कांग्रेस, माओवादी लगायत दलको त सहयोग हुनेछ, त्यो बाहेकका दलहरुले पनि यस पटक गोरखाको प्रतिनिधित्व गर्ने अवसर दिनुहुनेछ भन्ने अपेक्षा छ।’

गठबन्धका अन्य दलले गोरखा २ का लागि आफ्नो पार्टीबाट उम्मेदवारको नाम सिफारिस गरेको विषयलाई उनले त्यो पार्टीहरुको औपचारीक प्रक्रिया भएको भन्दै अन्यथा लिन नमिल्ने बताए। ‘अन्तिम टुङ्गो पार्टीको केन्द्रिय समितिले लगाउँछ, गठबन्धनले लगाउँछ’ उनले भने। गोरखा २ गठबन्धनबाटै आफ्नो भागमा पर्नेमा उनी ढुक्क छन्।  

गठबन्धन भित्र सिट बाँडफाँडको विषय पेचिलो भईरहेको प्रसंगमा उनले भने ‘खाजा बाँडफाँड गर्दा त समय लिन्छ, यो त राजनीतिक शक्ति, सत्ताको बाँडफाँड हो, दुई, चारसिट तलमाथि होला, केहीदिन ढिला होला अन्तत मिल्छ।’ पहिलो जसले जुन क्षेत्र जितेको छ त्यो लिने र एमालेले जितेको ठाउँ बाँडफाँड गर्ने भन्ने सहमती भएकाले सोही अनुसार सिट बाँडफाँड हुने उनले बताए।  

यो निर्वाचनमा शुसासन र समृद्धीको ठोस मार्गचित्र बनाएर आफू अघि बढ्ने डाक्टर भट्टराईले बताए। यसअघि प्रधानमन्त्री हुँदा छोटो अवधीमा धेरै काम गर्न नसकेको बताउँदै उनले बिगतमा थालेका काम पुरा गर्ने योजना रहेको बताए।

माओवादी केन्द्रको चुनाव चिन्ह लिएर लड्ने घोषणा गरेका उनले चुनावपछि पार्टी एकताको विषयमा पनि छलफल भइरहेको बताए। ‘नयाँ समाजवादी धार निर्माण गर्ने योजना अनुसार एकै ठाउँमा उभिएर जाने हो’ उनले भने। नेपाल समाजवादी पार्टी गोरखाको पहिलो विस्तारित बैठकमा सहभागी हुन उनी गोरखा आएका थिए।

प्रकाशित: १८ भाद्र २०७९ १०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App