'हिस्सा भनेको के हो ? कस्तो हिस्सा ?,' ओलीले सम्बोधनका क्रममा नारातिर इंगित गर्दै भने, 'तराईतिर कुस्ती, सहरतिर जुडो त्यसमा भाग लिने भनेको हो कि ? वा श्रीमान्–श्रीमतीबीच अंशबण्डाको हिस्सा मागेको हो ?' हिस्सा माग्दै हिँड्नुपर्ने अवस्था नरहेको उनले दाबी गरे । 'पहिलेजस्तो लड्नु पर्दैन, संघर्ष गर्नु पनि पर्दैन । अब भन्दिए मात्र पुग्छ,' उनले व्यंग्यात्मक शैलीमा भने, 'आफ्नै दाजुभाइ प्रधानमन्त्री हुँदाहुँदै किन माग्नु ? मलाई भने दिइहाल्छु ।' प्रधानमन्त्रीले हिस्सा खोज्ने हैन, महिला पुरुषलाई बराबरी अधिकार भन्ने भावना जगाउनुपर्नेमा जोड दिए ।
उनले महिलाको अवस्थामा सुधार हुँदै आएको भन्दै अब महिला प्रतिस्पर्धा गर्नसक्ने अवस्थातिर उन्मुख रहेको औंल्याए । पुरुषले महिलासँग बराबरी गर्नै नसक्ने उनको भनाइ थियो । महिलालाई आरक्षणभन्दा प्रतिस्पर्धी रुपमा अगाडि बढाउनुपर्ने उनले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिस्पर्धाबाटै उच्च पदमा पुगेको बताए । 'कोही जुँगेमुठे राष्ट्रपति चुनावमा लड्न गएको भए पनि उसको केही लाग्दैन थियो,' ओलीले थपे, 'आरक्षण छँदैछ छोरी तैँले किन पढ्नुपर्छ र भन्ने हैन, दुनियाँ लच्काउनुपर्छ भनेर छोरी तयार गर्ने पो हो !'
विकसित देशले भन्दा बढी अधिकार वैधानिक रुपमै ३३ प्रतिशत संविधानमै दिएको उनले बताए । महिला शिक्षा, आर्थिक सबलीकरण, अपांगलाई आरक्षण र महिला हिंसा विरुद्धको चेतना अहिलेको आवश्यकता रहेको औंल्याए ।
समाज कल्याण मन्त्री सीपी मैनालीले भने, 'महिला हिस्सा भनेको सहभागिता हो । आगामी २०३० सम्ममा पुरुषसरह बराबर हुने भन्ने हो ।' आफ्नो मन्त्रालयले महिला सशक्तीकरणसँगै आर्थिक रुपमा महिला सम्पन्न बनाउन विपन्न महिलाका लागि ३ हजार १ सय ५० ग्रामीण सेवा केन्द्र स्थापना गरिएको जानकारी दिए ।
महिला आयोगकी निमित्त अध्यक्ष मनु हुमागाईंले घरेलु हिंसा, महिला हिंसा, आर्थिक कमजोरीजस्ता चुनौती महिलाका लागि टड्कारो रहेको उल्लेख गरिन् । आर्थिक, राजनीतिक र सामाजिक विभेद हटाउन संविधानमा व्यवस्था गरिएको महिला अधिकार सुनिश्चित गराउन आयोगले अभियान थालेको उनले सुनाइन् । महिला अभियन्ता चाँदनी जोशीले शान्ति, स्वतन्त्रता र विकासका लागि महिलाले आवाज उठाएको एक शताब्दी बिते पनि भनेजस्तो परिवर्तन नभएको गुनासो पोखिन् । महिला पुरुष बराबरीमा आउन असम्भव हैन तर धेरै कुरा सुधारेर जानुपर्नेमा उनले जोड दिए । यस्तै समाज कल्याण मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले हिजो महिला सहभागिता भने पनि आज गुणात्मक अपेक्षा बढ्दै गएको उल्लेख गरे ।
महिला मजदुरले अमेरिकामा सुरु गरेको आर्थिक, सामाजिक र राजनीतिक हक अधिकारको संघर्ष स्मरण गर्दै सन् १९१० देखि हरेक वर्ष मार्च आठमा महिला दिवस मनाउन थालिएको हो । सन् २०१५ सम्मको सहस्राब्दी लक्ष्यमा पूरा नभएका विषय आगामी पन्ध्र वर्षमा पूरा गर्न सरकारी, गैरसरकारी निकायले विभिन्न कार्ययोजनासहित काम गरिरहेका छन् ।
परिवर्तनकामी महिला सम्मानित
यसै अवसरमा राजधानीमा परिवर्तनको क्षेत्रमा योगदान पु¥याएका विभिन्न महिलालाई सम्मान गरियो । 'हरियाली वन' कार्यक्रमका आयोजक संस्थाहरूले जिल्लास्तरमा रहेर पनि महिला विकास र वातवरण संरक्षणको क्षेत्रमा योगदान पु¥याएका तीन महिलाहरूलाई सम्मानित गरेको छ ।
सम्मानित हुनेहरूमा मकवानपुरकी २२ वर्षीया दुर्गा गोले, बर्दियाकी ३५ वर्षीया राधा चौधरी र मुस्ताङकी ३६ वर्षीय माया बिष्ट सम्मानित भएका छन् ।
बर्दियाकी राधा चौधरीले सहकारी स्थापना गरी महिलाहरुलाई सीप विकास तालिम, सामूहिक रुपमा गाउँ सरसफाई तथा शौचालय निर्माणको अभियानमा योगदान पु¥याएकी थिइन् । मकवानपुरकी दुर्गा गोलेले सामुदायिक वनमा महिलाकै पहलमा चोरी तस्करी नियन्त्रण गर्ने तथा सहकारीमार्फत् महिला विकासमा योगदान पु¥याएकी थिइन् । यस्तै मुस्ताङकी माया बिष्टले खाली जमिनमा विरुवा रोप्ने तथा वातावतरण जोगाउन आवश्यक वातावरणको बारेमा योजना बनाउने लगायतका काम गरेकी थिइन् ।
कार्यक्रममा सगरमाथा आरोही शैली बस्नेत, सिएनएन हिरो अनुराधा कोइराला, विश्व जंगल धावक मीना राई, वल्र्ड चिल्डे«न अनरी अवार्ड बिजेता इन्दिरा थापा मगर र नायिका गौरी मल्लले आफ्ना सफलता र संघर्षका कथा सुनाए ।
महिलाका समस्याबारे छलफल
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बिपी कोइराला इन्डिया नेपाल फाउन्डेसनले कामकाजी महिलाका समस्या र अवसर विषयमा छलफल कार्यक्रम गरेको छ । 'वाउ' म्यागेजिनको सहकार्यमा भएको उक्त छलफलमा विभिन्न क्षेत्रका पाँच महिलाले आफ्ना धारणा व्यक्त गरेका थिए ।
कामकाजी महिलाको वृत्तिविकासमा देखापर्ने समस्या र आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो । कार्यक्रममा सुभिना श्रेष्ठ, अमुदा मिश्र, सन्तोषी राना, शर्मिला थापा र शिवानी न्यौपानेले आ–आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रममा किंग्स कलेजका विद्यार्थी, महिला तथा विभिन्न क्षेत्रमा संलग्नहरूको सहभागिता रहेको फाउन्डेसनकी सचिव रुबी जस्प्रित शर्माले जानकारी दिइन् ।
७ शिक्षण संस्थाको दिवस
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ७ वटा शिक्षण संस्थाको संयुक्त आयोजनामा मंगलबार दिवस मनाइयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विपन्न महिलालाई अधिकार नै समग्र नारीको अधिकार प्राप्ति भएको बताए । सभासद् प्रेम सुवाल, जनस्वास्थविद् डा. अरुणा उप्रेती लगायतले एक दिन औपचारिक कार्यक्रम गरेर नारीको उत्थान नहुने बताए ।
प्रकाशित: २५ फाल्गुन २०७२ २२:१४ मंगलबार





