१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

काठमाडौँका मेयरले नक्सा पास नभएका संरचनामा डोजर आतंक मच्चाए उपत्यका बस्न लायक रहदैनः नेता बस्नेत

नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौँका मेयरहरुले नक्सा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको नरहने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन्। उनले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौँबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको बताए। उनले केही मानिसले साथ दिए भन्दै कानून मिचेर जनतालाई दुःख दिने काम नगर्न पनि चेतावनी दिए।

उनले आफ्नो निर्वाचन क्षेत्रमा ध्वसात्मक गतिविधि नगरी निर्माण गरेरै सुन्दर बस्ती बनाएको दाबी गरे। उनले निर्माणबाट नै सुन्दरता ल्याउन सकिन्छ भन्नेकुरा हेर्नका लागि आफ्नो निर्वाचन क्षेत्रमा जान काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई आग्रह दिए।

उनले भने, ‘नक्सापास नभएका घरहरु, संरचनाहरुलाई डोजर लगाएर ठोक भनेर काठमाडौँभित्रका १८ जना मेयरले १८ वटा डोजर लिएर हिँडेभने उपत्यका बस्न लायकको रहँदैन। बस्न नालायक ठाउँ हुन्छ। भागेर जानुपर्छ, निर्माणको होइन, ध्वंसको क्षेत्र बन्छ। मिडियाका ४ हजार साथी लिएर प्रोत्साहन दिए भन्दैमा विधि कानून मिचेर, सिस्टमलाई फलो नगरी क्षतिपूर्ति नदिकन जनतालाई दुःख दिने काम नगरौँ। मैले मेरो जिल्ला, मेरो क्षेत्र नमूना बनाएको छु, ध्वंस होइन, निर्माण गरेर बनाउन सकिन्छ भन्ने कुरा भक्तपुरमा गएर हेर्नुहोस्।’

नेता बस्नेतले संविधानमा दुईपटक भन्दा बढी प्रधानमन्त्री वा सांसद हुन नपाउने गरी व्यवस्था गर्न माग गरे। उनले प्रत्यक्ष निर्वाचित सांसद र मन्त्रीहरु कति पटक हुने भन्ने नीति नै निर्माण गरेर जान आह्वान गरे। नेता बस्नेतले समानुपातिक तर्फ अनिश्चितकालसम्म अवसर दिने कुरा राम्रो नभएको जिकिर गरे।

उनले भने, ‘अहिलेको बहुदलीय पद्धतिभित्र हामीले स्थिरता र सुशासन कसरी दिने भन्ने बारेमा सिस्टमले नै धेरै कुरालाई गाइड गर्नुपर्छ। नयाँ पुस्तार युवालाई कसरी ल्याउने भन्ने कुरामा पनि सिस्टमबाट नै चल्छ। हामीले पार्टीको अध्यक्ष दुईपटक भन्दा बढी हुन नपाउन कुरा लेखेका छौँ, कमसेकमम मुलुकको प्रधानमन्त्री पनि दुई पटक भन्दा हुन नपाउने कुरा बनाएर जाऔँ। प्रत्यक्ष निर्वाचित सांसद र मन्त्रीहरु कति पटक हुने त्यो पनि बनाएर जाऔँ। समानुपातिक तर्फ अनिश्चितकालसम्म अवसर दिने कुरा राम्रो हुँदैन।’

नेता बस्नेतले संक्रमणकालिन न्यायसम्बन्धी विधेयक पीडकमैत्री बनाउन खोजिएको आरोप लगाए। उनले नेकपा एमाले अहिले पनि कमजोर नरहेकोले भन्दै निर्वाचनमा प्रत्यक्षतर्फ नै ७० भन्दा बढी सिट जित्ने दाबी गरे। 

प्रकाशित: ११ भाद्र २०७९ १२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App