coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले केन्द्रीय कमिटी बैठक: निर्वाचन केन्द्रित एजेण्डा तय

नेकपा (एमाले)ले भोलीबाट सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकका लागि आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन केन्द्रित एजेण्डाहरु तय गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी पोलिटब्यूरो बैठकले सो निर्वाचनको तयारीमा केन्द्रित भइ भोलीबाट सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको हो। एमालेको केन्द्रीय कमिटी बैठक भदौं १० र ११ गते बस्दैछ। सोही बैठकमा लागि आगामी निर्वाचन केन्द्रित एजेण्डाहरु पार्टी पोलिटब्यूरो बैठकले तय गरेको सचिव योगेशकुमार भट्टराईले बताए।

उनका अनुसार केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु हुने र त्यसमा सामूहिक छलफल गरी प्राप्त सुझावलाई समावेश गरी पारित गरिनेछ। त्यसैगरी बैठकमा सात वटै प्रदेशका प्रदेश कमिटीका अध्यक्षहरुले आ–आफ्ना प्रदेश मातहतका निर्वाचन क्षेत्रको अवस्थासहितको रिर्पोटिङ गर्नेछन्।

सचिव भट्टराईले आगामी निर्वाचनमा पार्टीको अवस्थाबारे सो रिर्पोटिङले पनि जानकारी गराउने भएकाले प्रदेश कमिटीका अध्यक्षहरुको रिर्पोटिङको विषयलाई पनि केन्द्रीय कमिटी बैठकको एजेण्डा बनाइएको बताए। बैठकमा निर्वाचनका लागि घोषणा पत्र बनाउने कुरालाई पनि एजेण्डाका रुपमा प्रस्तुत गरिनेछ।

एमालेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनका लागि उम्मेदवारहरुको मापदण्ड पनि तय गर्नेछ। पोलिटव्यूरो बैठकले पार्टीप्रति प्रतिवद्ध, राजनीतिक, वैचारिक हिसाबले स्पष्ट, जित्न सक्ने, सिनियर र लोकप्रियलाई उम्मेदवार बनाउने निर्णय गरेको र सोही विषयमा पनि केन्द्रित कमिटी बैठकमा छलफल हुने सचिव भट्टराईले बताए।

बैठकले केन्द्रीय कमिटी बैठकमा फरक मतलाई पनि छलफलमा सहभागी गराउने निर्णय गरेको छ। पार्टी स्थायी कमिटीका नेता घनश्याम भुसालले फरकमत प्रस्तुत गर्ने तयारी गरिरहेका बेला एमाले सचिव भट्टराईले केन्द्रीय कमिटी बैठकमा पनि त्यसबारे छलफल हुने बताए। पार्टीलाई एकतावद्ध राख्दै आजका चुनौतीहरुको सामना गरेर अघि बढ्ने गरी केन्द्रीय कमिटी बैठकमा छलफल हुने एमालेले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७९ १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App