८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

काठमाडौंमा नेपाल बन्दको आंशिक प्रभाव

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव आशिंक परेको छ।  

मंगलबार नेपाल बन्दको घोषणा गरेको भएपनि काठमाडौं उपत्यका र देशभर न्यून प्रभाव परेको हो। सवारी साधनहरु काठमाडौं उपत्यकामा यतिबेला सञ्चालनमा आइरहेका छन्। आज बिहान भने केही कम सवारीसाधन मात्रै सञ्चालनमा थिए। बन्दको घोषणापछि बिहानैबाट प्रमुख चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।  

सरकारसँग वि.सं. २०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता÷कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग गर्दै विप्लव नेतृत्वको नेकपाले आजका लागि देशव्यापी बन्दको घोषणा गरेको थियो। नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन्।  

पार्टीले अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज हुनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायत माग राखेर बन्दको घोषणा गरेको हो। काठमाडौं उपत्यकामा बन्दको प्रभाव खासै नदेखिएपनि देशका अन्य विभिन्न भूभागमा भने सवारीसाधन तोडफोड र शंकास्पद वस्तु फेला परेको बताइएको छ।    

प्रकाशित: ७ भाद्र २०७९ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App