२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

जबरजस्ती ‘टुरिस्ट’ बनाउन खोजेः सांसद राई

सांसद सुरेशकुमार राई (हिमाल)।

प्रतिनिधिसभा उदयपुर निर्वाचन क्षेत्र २ का संघीय सांसद सुरेशकुमार राई (हिमाल) ले केही व्यक्तिहरुले आफूलाई जबरजस्ती ‘पाहुना (टुरिस्ट) नेता’ भनेर भ्रम फैलाइरहेको गुनासो गरेका छन्।

आगामी मंसिर ४ गते तोकिएको प्रदेश तथा प्रतिनिधिसभा चुनाव नजिकिदै गर्दा केही व्यक्तिहरु सुनियोजित रुपमा आफूविरुद्ध भ्रमको खेतीमा लागेको उनको दुःखेसो छ। ०७४ को प्रतिनिधिसभा चुनावमा एमाले र माओवादीबीच भएको गठबन्धनबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद राई नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य समेत हुन्।

एमाले माओवादीबीच एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य र १ नं. प्रदेश कमिटी अध्यक्षसमेत भइसकेका राईले चुनावको मुखमा टुरिस्ट नेता भनेर प्रचार गर्नुलाई आफूविरुद्धको ‘गम्भीर षडयन्त्र’ भएको संज्ञा दिए। स्थायी बसोबास उदयपुर निर्वाचन क्षेत्र १ अन्तर्गत बेलका नगरपालिका ४ गुरुङचौरी भए पनि राई २ नं. बाट चुनाव जितेको वर्ष नै कटारी नगरपालिका ५ मा घरजग्गा जोडेका छन्।

त्यति मात्र होइन, मतदाता नामावलीसमेत उनले एकवर्षअघि नै कटारी ५ स्थित देवी मावि भुल्के मतदान केन्द्रमा सारिसकेका छन्। चुनावताका केही विरोधीहरुले टुरिस्ट नेता भनेको सुनेपछि उनले त्यतिबेलै कटारी ५ मा २ कठ्ठा जमिन किनेर घर बनाएका हुन्। पाहुना नेताको आरोपको खण्डन गर्नकै लागि राईले २ नं. क्षेत्रकै रौतामाई गाउँपालिका ६ नामन्तमा पनि ७ रोपनी जमिन जोडेका छन्।

आफ्नो निर्वाचन क्षेत्रमै पर्ने ताप्ली, लिमचुङबुङ र उदयपुरगढी गाउँपालिकामा पनि केही जमिन किन्ने तयारी गरिरहेको उनले बताए। ‘संसदीय चुनावमा भोट माग्दै जाँदा एक ठाउँमा फ्याट्टै पाहुना नेता भनेर खिसी गरे’ उनले विगतको घटना स्मरण गरे ‘मलाई नमिठो लाग्यो, चुनाव जितेपछि तपाईंहरुसँगै करेसा जोडेर बस्छु भनेँ। नभन्दै चुनाव जितेलगत्तै कटारीमा जमिन किनेर झुप्रो घर हालिहालेँ।’ त्यसको एक वर्षपछि रौतामाईमा ७ रोपनी जग्गा किनेको उनले बताए।

अब लिमचुङबुङ, ताप्ली र उदयपुरगढीमा पनि धेरथोर जमिन किन्ने योजनामा रहेको बताए। २ नं. क्षेत्रभित्र पर्ने १ नगरपालिका र ४ वटै गाउँपालिकामा थोरै भए पनि जग्गा किन्ने योजना उनको छ। अझै कम्तीमा २०/२५ वर्ष प्रत्यक्ष राजनीति गर्ने योजना बनाएका राईले राजनीति गर्दा उदयपुर २ बाटै गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। आउँदो मंसिर ४ गते हुने चुनावमा गठबन्धनबाट टिकट पाए उनी उदयपुर २ बाटै दोहोरिने योजनामा छन्।

राईले आफू सांसद हुन भोट माग्ने क्रममा गरेको सबै बाचा पूरा गर्दै आएको दाबी गर्दै टिकट पाए चुनाव जितेर अधुरा योजनाहरु पूरा गर्ने अठोट लिएको सुनाए। ०७४ को चुनावमा ‘गठबन्धनलाई भोट, गाउँ-गाउँमा विद्युत, खानेपानी र रोड’ भन्ने नारा लिएर भोट मागेको स्मरण गर्दै जितेपछि त्यही नारा कार्यान्वयन गर्न लागिपर्दै आएको उनको दाबी छ।

स्थानीय तहहरुको बजेट बाहेक हरेक वर्ष संघीय सरकारबाट खानेपानी, सडक र विद्युतका लागि अर्बौं बजेट ल्याउने गरेको उनले बताए। जसअनुसार विद्युत र सडक लगभग सबै स्थानीय तहमा निर्माण भएर स्तरोन्नतिको तयारी भइरहेको र खानेपानीका लागि चालु वर्षदेखि नै कार्यान्वयन गर्ने गरी अढाइ अर्ब बजेट सुनिश्चित गरेर काम अघि बढेको सांसद राईले बताएका छन्।

आफ्ना जनमैत्री कामहरु देखेर आत्तिएका प्रतिपक्षी दल र विरोधीहरुले संगठित र सुनियोजित रुपमा गलत प्रचारशैली अपनाएकोमा उनको चित्त दुखाइ छ। नेकपा माओवादी कटारी नगर कमिटीका अध्यक्ष मणिराज दाहालले सांसद राई निर्वाचन क्षेत्रमा लोकप्रिय र विकासवादी सावित भएको बताए।

उनले यसअघिका सांसदहरुले झिँगो नमारेको बताउँदै उनीहरुको दाँजोमा सांसद राई सयौं गुना बढी जनप्रेमी, लोकप्रिय र विकासवादी भएको भन्दै वर्षेनी उनको पहलमा निर्वाचन क्षेत्रमा अर्बौं बजेट विभिदै आएको बताए। स्थानीय साझेदारी कार्यक्रमबाहेक संघीय सरकारबाट अर्बौं बजेट ल्याएर सडक, विद्युत, खानेपानी, सिंचाइ, शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार संरचना निर्माणको अनगिन्ती काम राईले गरिरहेको दाहालको भनाइ छ।

प्रकाशित: १ भाद्र २०७९ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App