coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गभर्नर अधिकारीमाथि छानबिन गर्न सांसदहरुको माग

आज प्रतिनिधि सभाको बैठकमा केही सांसदहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न संसदमा माग गरेका छन्।

नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि छानबिन गर्न संसदमा माग गरेकी छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बिशंखेले गभर्नर अधिकारीको विषय उठाएकी हुन्। उनले नेकपा एमालेको अन्तरपार्टी निर्देशन (अपानी) मा अर्थ विभागमा एम अधिकारी, खोटाङ भनि समावेश गरिएका व्यक्ति नै भएको भन्दै छानबिन हुनुपर्ने बताइन्। उनले यो राष्ट्र बैंकको ऐन विपरित भएको बताइन्।

यस्तै, एमाले सांसद कृष्णभक्त पोखरेलले सत्तापक्षको सांसदहरुले अर्थमन्त्रीको अनैतिक काम लुकाउनको लागि गभर्नरमाथि प्रश्न उठाएको बताए। उनले गभर्नर अधिकार आफैँले यो विषयमा स्पष्टीकरण दिएपछि संसदमा प्रश्न उठाउनुको औचित्य नभएको बताए। सांसद पोखरेलले अर्बौं रुपैयाँलाई वैध बनाउन गठबन्धन सरकारले दिएको आदेश नमान्दा श्रीलंका हुने रहेछ भन्ने सत्तापक्षका सांसदहरुको बुझाइप्रति दयाभाव लागेको बताए।

सांसद अमृता थापाले राष्ट्र बैंक ऐन विपरीत अमुक पार्टीको कार्यकता राष्ट्र बैंकको गभर्नर भए तुरुन्त छानबिन गर्न माग गरिन्। उनले विश्व राजनीतिक र अर्थतन्त्रको परिस्थितीले अर्थतन्त्रको गम्भीरता चर्चा मात्रै नभएर अत्याश्वयक भएको बताइन्। उनले नेकपा एमालेप्रति लक्षित गर्दै यो वर्षको बजेटमा चक्लेट खानुभन्दा दुध पिउनतिर केन्द्रित भएर आएकाले ठिकै होला भन्ने लाग्दै गर्दा पुलपुलिएको छोराले नाई मलाई त्यही केटी चाहिन्छ भनेझैँ प्रतिपक्षले गरेर अर्थमन्त्री हटाएको बताइन्।

सांसद गजेन्द्र महतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले बाँधेर राख्नुपर्ने बताए। उनले दुबै बा र छोरा भएर देशलाई श्रीलंका बनाएर देशै जलाउन लागेको टिपप्णी गरे। उनले बा बार्दलीमा बसेर र छोरो राज्यको ढुकुटीमा बसेर देश श्रीलंका बनाउन खोजेको आरोप लगाए।

त्यस्तै सांसद कृष्णप्रसाद दाहालले कोरोना बीमा र स्वास्थ्य बीमाको रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गरे। उनले तीन वर्षदेखि कोरोना बीमा भुक्तानी नभएर अहिले सरकार हतियार खरिद गर्न लागेको बताए। उनले नेपालको विदेशी मुद्रा सञ्चिती घटिरहेको सन्दर्भमा हतियार किन्न लालायित हुने तर नागरिकलाई बीमा वापतको रकम भुक्तानी गर्न नसकेको बताए।

सांसद इन्दुकुमारी शर्माले नागरिकता सम्बन्धि समस्या तत्काल हटाउन सरकारसँग माग गरिन्। उनले नेपालको संविधानले कुनैपनि नागरिक नागरिकताको हकबाट वञ्चित गर्ने छैन भनिएको भएपनि वर्षौंदेखि नागरिकता विधेयक पास नहुँदा नेपाल आमाका सन्तानहरु राज्यबिहीन भएर बाचिरहेको बताइन्।

यसैगरी  सांसद कृष्णगोपाल श्रेष्ठले रिङ रोड सितापाइला चोकदेखि रामकोट हुँदै धादिङ जाने ८ किलोमिटरको राजमार्गको खाल्डाखुल्डी तत्काल पुर्न माग गरे। उनले विगत लामो समयदेखि ८ किलोमिटर सडक, सडक नभएर हिलाम्मे र खाल्डाखुल्डी मात्रै भएर मानिसहरु समेत हिँड्न समस्या रहेको बताए।

सांसद केदार सिग्देलले आदिकवि भानुभक्त आचार्यले नेपालको नेपाली भाषा र साहित्यको योगदान विकास गर्ने बजेट विनियोजन गर्न माग गरे। उनले आदिकविको योगदानलाई सरकारले कदर गर्न नसकेको दाबी गरे।

सांसद गणेशकुमार पहाडीले गठबन्धन सरकार गठन भएको एक वर्षमा सबैभन्दा बढी विकृति र भ्रष्टाचार बढेको बताए। उनले वर्तमान सरकारले पेस गरेको राष्ट्रिय सभामा संवैधानिक परिषद् विधेयक मितको तिल्के घोडा खरिद गर्ने कार्यविधि जस्तो भएको बताए। सांसद पहाडीलले गठबन्धनको सरकारले देशमा सुशासन कमजोर र भ्रष्टाचार बढाउने काम मात्रै गरेको आरोप लगाए।

प्रकाशित: २९ असार २०७९ ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App