coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चितवनमा महिला जनप्रतिनिधिको संख्या खुम्चिदै

चितवनमा स्थानीय तहको निर्वाचनमा निर्वाचित महिला जनप्रतिनिधिको उपस्थिति न्यून रहेको छ। जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखमा ५ जनामात्र निर्वाचित भएका छन्। २ पालिका प्रमुख र ३ पालिकामा उपप्रमुख पदमा महिलाले जितेका छन्।

यसअघि जिल्लामा तीन पालिका प्रमुख र ५ उपप्रमुख पदमा महिलाले जितेका थिए। २०७४ सालको निर्वाचनमा भन्दा पालिका प्रमुखमा १ र उपप्रमुखमा २ महिलाको संख्या घटेको छ। यसपटक भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहाल, माडी नगरपालिकाको प्रमुखमा एमालेकी ताराकुमारी काजि महतोले मात्र जितेकी छन्।

त्यस्तै खैरहनी नगरपालिकाको उपप्रमुखमा कल्पना उप्रेती, कालिका नगरपालिकाको उपप्रमुखमा विमला तामाङ र इच्छाकामना गाउँपालिकाको उपाध्यक्षमा मायाँ सिलवालले मात्र विजयी भएका छन्। राप्ती र रत्ननगर नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा महिलाको संख्या शुन्य छ। वडाध्यक्षमा महिला निर्वाचन हुनेको संख्या झिनो छ।

जिल्लामा झण्डै ४ प्रतिशत मात्रै महिला वडाध्यक्षमा निर्वाचित भएका छन्। ९८ वडा रहेको जिल्लामा ३ जना महिलाले मात्र वडाध्यक्ष जितेका छन्। निर्वाचन हुनेमा रत्ननगर नगरपालिकाको वडा नम्बर ७ मा एमालेबाट उम्मेदवार बनेकी सुमिता डल्लाकोटी, माडी नगरपालिकाको वडा नम्बर ७मा नेकपा (एकीकृत समाजवादी) की चन्द्रकुमारी बानियाँ, र राप्ती ७मा स्वतन्त्रबाट सुमिता डल्लाकोटी निर्वाचत भएकी थिइन्।

खुल्ला सदस्य पदमा पनि महिलाको संख्या नगन्य छ। खुल्ला सदस्य महिला सदस्य झण्डै २ प्रतिशत मात्रै महिला निर्वाचित भएका छन्। १ सय ९६ निर्वाचन हुने पदमा ३ जना मात्र महिला निर्वाचित भएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ। खुल्ला सदस्यमा कालिका नगरपालिका ८ बाट कांग्रेसकी गिता मगर, खैरहनी १ बाट एमालेकी अनिता नेपाल र भरतपुर १४ मा कांग्रेसकी कृष्णकुमारी लामा निर्वाचित भएकी छिन्।

चितवनमा रहेका ठुला राजनितीक दलका पार्टीले यसपटक वडाध्यक्षमा महिला उम्मेदवार नै कम उठाएका थिए। जिल्लाभर कांग्रेस, एमाले, राप्रपा र समाजवादी पार्टीले ९ जनालाई मात्र उम्मेदवार बनाको थियो। माहिला तथा जनजातिको बढी वकालत गर्ने नेकपा (माओवादी केन्द्र) ले वडाध्यक्षमा एक जना महिलालाई पनि वडाध्यक्षमा उम्मेदवार बनाएको छैन।

सबैभन्दा धेरै नेकपा एमालेले ४ जना महिलालाई वडाध्यक्षमा उठाएको थियो। त्यसपछि राप्रपा र समाजवादीले समान २/२ र नेपाली कांग्रेसले एक जनालाई वडाध्यक्षमा उठाएको थियो। त्यसमध्ये २ जना मात्र निर्वाचित भए। एक जना महिला वडाध्यक्षमा स्वतन्त्रबाट निर्वाचित भएकी थिइन्। अघिल्लो निर्वाचनमा भन्दा पनि यसपटक महिलाहरु कम निर्वाचित भएका छन्।

नेपाली कांग्रेस चितवनका सविच धुर्वप्रसाद पोख्रेल गठबन्धनका कारण दलहरुमा महिलाहरुलाई प्राथमिकता दिन नसकिएको स्वीकार गरे। ‘गठबन्धनका कारण महिलाहरुको उम्मेदवारी प्रतिशत नै घट्यो। हामीले समेत जम्मा एक ठाउँमा मात्र वडाध्यक्ष उठाउन सक्यौँ,’ उनले भने, ‘एउटा पार्टीले पालिका प्रमुख उपप्रमुख मध्ये  एक जना महिला अनिर्वाय उम्मेदवार बनाउनु पर्दथ्यो । तर, अहिले गठबन्ध गर्दा महिला उठाउन सकेनौँ।’

अघिल्लो निर्वाचनमा जिल्लामा ३४ जना महिलाले वडाध्यक्षमा उम्मेदवारी दिएका थिए। त्यसमध्ये २ जना महिला निर्वाचित भए। यो अहिलेभन्दा १ को संख्या कम हो। तर, खुल्ला सदस्यमा महिलाको संख्याभने ४ ले घटेको छ। अघिल्लो निर्वाचनमा ५१ जनाले उम्मेदवारी दिएकोमा ७ जना निर्वाचित भएका थिए। संविधान मै महिला सदस्य र दलित महिला सदस्य अनिवार्य गरेको स्थानमा बाहेक महिलाको प्रतिनिधित्व कम हुने गरेको छ।

‘पहिलाको भन्दा केही सन्तोस जनक त छ। तर, हामीले सोचेजस्तो उपस्थिति छैन,’ अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सरस्वती विष्टले भनिन्, ‘कार्यकारीणी पदमा पार्टीहरुले पनि महिलालाई जिम्मेवारी दिन खोजेको देखिदैन।’ चितवनमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसहित ५ सय ४ जना प्रनिनिधि निर्वाचित हुने गर्दछन्।

महिला सदस्य र दलित महिला सदस्यको आरक्षित संख्या १९६ छ। त्यसबाहेक अन्य पदमा महिलाको उपस्थित झिनो छ। संविधान अखिल नेपाल महिला संघ क्रान्तिकारी चितवनकी अध्यक्ष संगिता भट्टराई पार्टीलाई दाबाव दिँदा पनि नेतृत्व तहले नहेरेको बताइन्।

‘अहिले संविधानले व्यवस्था गरेको स्थानमा महिला नेतृत्व आउनुभएको छ। तर, खुल्ला प्रतिस्पर्धामा महिलाको संख्या न्यून छ,’ उनले भनिन्, ‘आगामी दिनमा दलहरुले महिला प्रतिहेर्ने दृष्टिकोण बदल्न आवश्यक छ।’ स्थानीय तहको निर्वाचनमा जिल्लामा महिला सदस्य र दलित महिला सदस्यसहित २ सय ७ जना महिला निर्वाचित भएका छन्। अघिल्लो निर्वाचनमा भने २सय १३ जना महिला निर्वाचित भएका थिए।

चितवनमा २२ जना चेपाङ समुदायका प्रतिनिधि निर्वाचित

चितवनमा चेपाङ समुदायका २२ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। जिल्लाका तीन पालिकामा ६ जना वडाध्यक्षसहित २२ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। इच्छाकामना गाउँपालिका, कालिका र राप्ती नगरपालिकामा समान २/२ जना चेपाङ समुदायका वडाध्यक्षमा निर्वाचित भएका छन्। इच्छाकामना गाउँपालिकामा एमालेबाट वडा नम्बर २ मा पंचबहादुर प्रजा, ६ मा लक्ष्मण प्रजा निर्वाचित भएका छन्।

त्यस्तै राप्ती नगरपालिकामा नेपाली कांग्रेसबाट वडा नम्बर १२मा अुर्जन प्रजा र १३ मा अशोक कुमार प्रजा निर्वाचित भएको निर्वाचन कार्यालय चितवनले जानकारी दिएको छ। त्यसैगरी कालिका नगरपालिकामा वडा नम्बर १०मा नरजंग प्रजा र ११ मा कृष्णबहादुर प्रजा निर्वाचित भएका छन्। कालिकामा नौ जना जनप्रतिनिधि चेपाङ समुदायका छन्।

प्रकाशित: २३ जेष्ठ २०७९ ०५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App