१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसलाई धम्क्याउँदै दाहाल

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको सहयोगमा सोचेभन्दा धेरै स्थानमा जितेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको कांग्रेसलाई धम्क्याउन थालेका छन्। सरकारले संघीय संसद्को निर्वाचन तयारी थालेका बेला दाहालले एमालेको जस्तै हालत कांग्रेसको पनि बनाइदिने भन्दै धम्क्याउन थालेका हुन्।

सत्ता गठबन्धन बैठकमा आगामी कात्तिक वा मंसिरभित्र संघीय संसद्को निर्वाचन गर्ने विषयमा छलफल चलिरहँदा दाहालले निर्वाचनमा गठबन्धनबीच सिट बाँडफाँट हुँदा धैरैभन्दा धेरै हात पार्न कांग्रेससँग बार्गेनिङ (मोलमोलाइ) गर्न थालेका छन्। उनले आफूले भने जति सिट नपाए कांग्रेसको हालत पनि एमालेको जस्तै बनाइदिने भन्दै धम्क्याउन थालेको स्रोतले बतायो। संघीय निर्वाचनमा माओवादीले कांग्रेसको साथ लिएर एमालेभन्दा ठुलो पार्टी बन्ने रणनीति लिएको छ।

दाहालले बुधबार पनि काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा कांग्रेसमा पनि एमालेमा जस्तै अहंकार र दम्भ चुलिएको उल्लेख गर्दै एमालेलाई जस्तै ठेगान लगाउने दिन नआओस् भन्ने धम्की दिए। ‘कांग्रेसमा पनि एमालेमा जस्तै अहंकार र दम्भ चुलिएको छ। माओवादी केही होइन भन्ने कांग्रेसको व्यवहार धेरै ठाउँमा देखिएको छ। एमालेलाई ठेगान लगाएजस्तै भोलि हामीले कांग्रेसलाई पनि ठेगान लगाउनुनपरोस्,’ स्थानीय निर्वाचनमा माओवादीबाट चुनिएका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै अध्यक्ष दाहालले भने।

२०७४ सालको संघीय निर्वाचनअघि पनि माओवादी अध्यक्ष दाहालले यसैगरी कांग्रेसलाई धम्क्याएका थिए।

त्यसबेला कांग्रेसले दाहालको प्रस्ताव नमानेपछि उनी निर्वाचनमा एमालेसँग गठबन्धन गर्न पुगेका थिए। २०७४ सालमा स्थानीय तह निर्वाचनपछि संसदीय निर्वाचन भएको थियो। स्थानीय निर्वाचन भएपछि माओवादी केन्द्रका दुई प्रभावशाली नेताहरू जनार्दन शर्मा र वर्षमान पुनले संघीय निर्वाचनमा एमाले र कांग्रेससँग सहकार्यका लागि छुट्टाछुट्टै कुराकानी गरेका थिए।

 माओवादीले मागेजति सिट कांग्रेसलेले नदिएपछि उसले एमालेसँग गठबन्धन गरेको थियो। एमाले अध्यक्ष केपी ओलीले निर्वाचन जित्न माओवादीले मागेजति सिट दिएका थिए। त्यतिबेला एमाले र माओवादीले संयुक्त चुनावी घोषणापत्र बनाएर निर्वाचनमा भाग लिएका थिए। निर्वाचनपछि दुवै पार्टीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनाइएको थियो।

शक्तिमा पुग्न जसो पनि गर्न सक्ने दाहालको स्वभावलाई नजिकबाट बुझेका एमाले अध्यक्ष ओलीले गत वैशाख २५ गते उनैलाई लक्षित गरेर दुधभात खान पल्केकाहरू जसले बढी दुधभात दिन्छ उसैतिर ढल्कने बताएका थिए। २०७४ सालको संघीय निर्वाचनमा कांग्रेसले माओवादीलाई ३० प्रतिशतभन्दा बढी सिट दिन नमानेपछि दाहाल एमालेको कित्तामा पुगेका थिए। एमालेले ४० प्रतिशत सिट दिएर माओवादीसँग चुनावी गठबन्धन गरेको थियो। त्यही कुरालाई स्मरण गर्दै ओलीले दाहालप्रति लक्षित गर्दै जसले धेरै दुधभात दिन्छ त्यतैतिर लाग्ने भनेका हुन्।

अहिले पनि सत्ता गठबन्धन दलको बैठकमा कांग्रेसका नेताकार्यकर्ताले स्थानीय निर्वाचनमा असहयोग गरेको गुनासो माओवादी र एमालेबाट विभाजित भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा एस) ले गर्दै आएका छन्। माओवादीका नेताहरूले कांग्रेसलाई सत्तामा पुर्‍याउन आफूहरूले सहयोग गरेको तर कांग्रेसले स्थानीय निर्वाचनमा अपेक्षित सहयोग नगरेको बताउँदै आएका छन्। यसै सन्दर्भमा दाहालले कांग्रेसमा पनि एमालेमा जस्तै दम्भ बढ्दै गएको बताएका हुन्।

विभिन्न स्थानीय तहको प्रमुख र उपप्रमुखमा माओवादीबाट निर्वाचित २४९ जनालाई प्रशिक्षण दिने क्रममा दाहालले कांग्रेसलाई दम्भ नपाल्न चेतावनी दिँदै आफ्ना कार्यकर्ताको मनोबल उच्च बनाउने कोसिस पनि गरे। ‘कांग्रेसले पनि एमालेले जस्तै दम्भ देखायो भने ठेगान लगाइदिन्छौं। अहंकार र दम्भले कसैलाई राम्रो गर्दैन, ख्याल गरे हुन्छ। कांग्रेस फेरि एमालेजस्तै अहंकारी हुने हो कि भनेर देशभरबाट हामीलाई रिपोर्ट आइरहेको छ। हामी त क्रान्तिकारी हौं, अहंकार र दम्भ आयो भने हामी कांग्रेसलाई पनि ठोक्दै जान्छौं,’ उनले भने।

दाहालले स्थानीय तहमा पार्टीबाट चुनिएका जनप्रतिनिधिमाझ यस्तो कुरा बताएको भए पनि केही दिनअघि भएको पार्टीको आन्तरिक छलफलमा भने संघीय निर्वाचनमा कांग्रेससँगको गठबन्धनबाट मात्रै एमालेभन्दा ठुलो दल बन्न सक्ने र वाम पार्टीबीच एकता हुँदा पनि माओवादीको हैसियत ठुलो हुने बताएका थिए।

स्थानीय तह निर्वाचन सकिए पनि गठबन्धनका तीन ठुला दल एमाले, कांग्रेस र माओवादीले आन्तरिक समीक्षा गरिसकेका छैनन्। माओवादी नेताहरूबीचको अनौपचारिक छलफलमा भने संघीय निर्वाचनमा कांग्रेससँगै गठबन्धनलाई अघि बढाउनुपर्ने, संघीय संसद्मा एमालेभन्दा ठुलो दल बन्न कोसिस गर्ने, नेकपा एसलाई साथमा लिँदा घाटा हुनेजस्ता विषयले प्रवेश पाएको स्रोतले बतायो।

दाहालले बुधबार पनि एमाले र ओलीलाई गाली गरे। ‘मुखले जे भने पनि मन रोएकै छ, उनीहरूमा चैन छ त? चैनमा छैनन् उनीहरू। निर्वाचन परिणामपछि चेते होलान् भनेको त झन् संसद्मा हेर्नुस् त केके बोलेको छ। त्यसपछि मैले पनि जवाफ दिनैपर्‍यो। कसैको बैसाखी टेक्दैनौं रे। दुईचोटि प्रधानमन्त्री कसरी बनेका हुन्? जनतालाई थाहै छ। त्यसकारण हामी भन्छौं–कांग्रेसले पनि माओवादीलाई हल्का रूपले नलिओस्,’ दाहालले एमाले अध्यक्ष ओलीसँगै कांग्रेसलाई पनि लक्षित गर्दै भने।

दाहालले अघिल्लो पटकको संघीय निर्वाचनमा एमालेसँग सहकार्य गरेको पनि स्मरण गरे। ‘गठबन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं तर एमालेको लिडरसिपमा अति धेरै अहंकार आयो। अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। हामीले प्रधानन्त्री बनायौं। मिहिनेत गरेरै बनाएको हो। देउवा (शेरबहादुर) नै प्रधानमन्त्री भइराख्नुस् भन्नेछ,’ दाहालले भने।

सत्ता गठबन्धनको आइतबार बसेको बैठकमा माओवादी नेताले आफूहरू कांग्रेससँग सहकार्य गर्न तयार रहेको तर कांग्रेसले साह्रै हेपेको गुनासो गरेका थिए। कांग्रेस नेताहरूले केन्द्रमा गठबन्धन भएपछि त्यसको कार्यान्वयन तलसम्मै लैजाने भन्दै नआत्तिन आश्वासन दिएका थिए।

बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचनमा गठबन्धनका सहयात्री दलबाट आफ्नो पार्टीका उम्मेदवारलाई अपेक्षाकृत सहयोग नभएको गुनासो गरेका थिए। माओवादी र नेकपा एसका नेताको कुरा सुनेपछि कांग्रेसले आगामी कात्तिकभित्रै संघीय संसद्को निर्वाच गर्न प्रस्ताव गरेको थियो। 

कांग्रेसले यस्तो प्रस्ताव राखेपछि माओवादी र नेकपा एसका नेताहरूले फागुनमा गर्दा उपयुक्त हुने बताएका थिए। माओवादी र नेकपा एस एमालेसँग मिल्न सक्ने खतरालाई ध्यानमा राखेर कांग्रेसले संघीय संसद्को निर्वाचन कात्तिक/मंसिरमा गर्न प्रस्ताव राखेको स्रोतको दाबी छ।

प्रकाशित: १९ जेष्ठ २०७९ ००:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App