४ वैशाख २०८१ मंगलबार
राजनीति

‘विद्रोह’ बाट उदाएका लवराज

कांग्रेसबाट विद्रोह गरेर राप्रपाबाट वडाध्यक्षमा निर्वाचित राप्ती सोनारी–६ का लवराज खरेल।तस्बिर/नागरिक

स्थानीय तह निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यासम्म लवराज खरेल राप्ती सोनारी गाउँपालिका–६ को कांग्रेस वडा सभापतिको जिम्मेवारीमा थिए। मनोनयन दर्ता गर्न जाँदा बीच बाटामै ‘टिकट खोसिएको’ भन्दै उनी कांग्रेस छाडेर दलबलसहित सोही दिन राप्रपा प्रवेश गरे। उनी उक्त वडामा राप्रपाका तर्फबाट वडाध्यक्षका उम्मेदवारसमेत बने।

४३ वर्षीय खरेल मात्र नभएर नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिका कार्यसमिति सदस्य लक्ष्मी थारू, वडा उपसभापति रामबहादुर थारू, वडा सदस्य पतरी दमाईले पनि कांग्रेस परित्याग गरी राप्रपाबाटै वडा सदस्यको टिकट लिए।

खरेलका अनुसार उक्त वडामा २५ सदस्यीय कांग्रेसको वडा कार्यसमिति मध्ये २१ जनाले पार्टी त्यागेर राप्रपा प्रवेश गरेका थिए। खरेलको टिकट खोसिँदाको आक्रोशले क्षेत्र र प्रदेशसभाका सदस्य तथा पदाधिकारी पनि रुष्ट भएर पार्टी छाडे। पार्टी छाड्नेमा १६ जना कांग्रेसकै क्षेत्रीय प्रतिनिधि थिए। कांग्रेस छाडेका करिब २ सयजनाले राप्रपाको संगठन नै नभएको वडा ६ मा चुनावी माहोल आफ्नो पक्षमा बनाए।

यसले गर्दा तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा माओवादी आधार इलाकाका रूपमा चिनिने वडा ६ मा राप्रपा आफ्नो बिरासत कायम गर्न सफल भयो। २०७४ सालको माओवादी बिरासत यसपटक तोडियो। राप्रपाले यहाँ अप्रत्यासित रूपमा आफ्नो अस्तित्व स्थापित गराउँदा कांग्रेस तेस्रो स्थानमा खुम्चियो। कांग्रेसभित्र विद्रोह गरेर फरक दलबाट उम्मेदवार बनेका लवराजका लागि यो निर्वाचन चुनौतीपूर्ण थियो।

यो निर्वाचनमा पराजित भए आफ्नो राजनीतिक भविष्य अन्योलमा पर्ने लवराजलाई चिन्ता थियो। तर निर्वाचनले उनलाई राजनीतिमा झन् बलियो गरेर स्थापित गरिदियो। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जनकबहादुर थारूलाई ३ सय १० मतको अन्तरले पराजित गरे। खरेलले १ हजार ४ सय १४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान वडाध्यक्ष समेत रहेका माओवादी केन्द्रका थारूले ११ सय ४ र तेस्रो स्थानमा आएका कांग्रेसका सञ्जयशमशेर राणाले ८ सय ७ मत प्राप्त गरेका थिए।

संयोग नै मान्नुपर्छ, २०७४ सालको निर्वाचनमा पनि कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार रहेका खरेललाई माओवादी केन्द्रका उम्मेदवार यिनै जनकले ३ सय १० मतको अन्तरले पराजित गरेका थिए। बाँकेमा आफ्नो पार्टीबाट अन्तिम समयमा विद्रोह गरी स्वतन्त्र वा कुनै दलको चुनाव चिह्नबाट निर्वाचित हुनेमा सम्भवतः खरेल एक मात्र वडाध्यक्ष हुन्।  

को हुन् लवराज ?

२०४१ सालतिर वन कार्यालयमा जागिर गर्ने क्रममा लवराजका बुवा काभ्रेबाट बाँकेको फत्तेपुर आएका थिए। जागिरका क्रममा परिवारसहित आएका बुवाले फत्तेपुरमै घरसम्पत्ति जोडे। २०४८ सालमा बाँके–१ मा कांग्रेसले संसदीय निर्वाचनमा मेराज अहमद शाहलाई उम्मेदवार बनाएपछि बाल्यकालमा चुनाव प्रचारमा लागेका लवराजलाई राजनीतिक नसाले छोयो।

‘त्यतिबेला म विद्यार्थी नै थिए तर म बच्चा भए पनि चुनाव प्रचारमा बेस्सरी हिँडेको थिए, त्यसपछि नै मलाई राजनीति गर्नुपर्छ भन्ने लागेको हो,’ उनी सम्झिन्छन्। त्यसपछि विद्यार्थी जीवनमा पनि उनी कांग्रेसको राजनीतिमा लागिरहे। २०५६ सालको अर्को संसदीय निर्वाचनमा कांग्रेसले क्षेत्र १ बाट ज्ञानु केसीलाई उम्मेदवार बनाउँदा पनि उनी खुलेरै प्रचारमा लागे।

तत्कालीन माओवादी द्वन्द्वका क्रममा कांग्रेस भएकै कारण विद्रोही पक्षबाट आफ्नो परिवारले हरेक डर, त्रास र धम्की बेहोर्न पुगेको लवराज अहिले पनि सम्झिन्छन्। माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६६ सालमा तत्कालीन ‘ज्वाला सिंह’ नामक भूमिगत समूहले उनलाई केही दिन अपरहण गरेर छाडेको थियो।

पार्टीमा लाग्दा अनेक दुःख, संघर्ष गर्दै अगाडि बढिरहेका खरेल साबिक फत्तेपुर गाविसमा यति लोकप्रिय भए कि सबै समुदायका नजरमा गाउँको जिम्मेवार अभिभावकका रूपमा नाम दर्ज गरे। स्थानीय सिद्धबाबा सामुदायिक वन उपभोक्ता समूहको संस्थापक अध्यक्षसहित खरेलले दुई कार्यकाल अध्यक्ष चलाए।

यस्तै सामुदायिक वन तथा वातावरण संरक्षण समन्वय समितिको दुईपटक अध्यक्ष भए। राप्ती सोनारी बघौडा धार्मिक महोत्सवको वरिष्ठ उपाध्यक्ष भएर उनले गरेको कामको स्थानीय बासिन्दा अहिले पनि प्रशंसा गर्छन्। राजनीतिक र सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याएका उनले ४७औं पटक रगत दान गरेर धेरैको जीवन बचाएका छन्।

‘राप्ती सोनारी ६ मा कांग्रेसलाई बलियो बनाउन मैले यति धेरै मेहेनत गरें। पार्टीले यो निर्वाचनमा टिकट दिए पनि गुट नमिलेका कारणपछि बीच बाटामै नेताले टिकट खोस्ने काम गरे, जुन पीडा अहिले पनि म भुल्न सक्दिनँ, त्यही झोंकमा सबै साथीले पार्टी छाडेर राप्रपाबाट टिकट लियौं र अहिले जनताको अपार माया र विश्वासले निर्वाचन जित्न सफल भयौंं,’ खरेलले भने।

राप्ती सोनारी–६ का जनताले यसपटक अन्यायविरुद्ध न्याय दिएको उनी बताउँछन्। खरेलले भने, ‘वास्तवमा जनताले न्यायअन्याय छुट्याउँदा रहेछन्, जनताले जसरी हामीमाथि विश्वास गरेर अन्यायविरुद्ध फैसला गरिदिएका छन्, यो मेरो राजनीतिक जीवनकै अविस्मरणीय क्षण हुनेछ, अबको पाँच वर्ष म जनताको सेवामा समर्पित हुनेछु र उहाँहरूको अमूल्य मतको कहिल्यै अपमान गर्नेछैन।’ 

प्रकाशित: १५ जेष्ठ २०७९ ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App