coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जिरी नगरपालिकाको एउटा वडाः जसले एमालेको विरासत जोगाइदियो

पाँच वर्ष अघि २०७४ सालको पहिलो स्थानीय तहको चुनावमा एमालेले फराकिलो अन्तरले जितेको जिरी नगरपालिकामा यसपटक उसको विरासत तोड्न कांग्रेस र माओवादीले गठबन्धन गर्ने सहमति गरेका थिए।

सत्ता गठबन्धनको वागमती प्रदेश स्तरिय संयन्त्रको सहमति अनुसार जिरी कांग्रेसको भागमा परेको थियो। कांग्रेसले लाक्पा शेर्पालाई मेयरमा उतार्‍यो। जिरी नगर कांग्रेसलाई सुम्पिएको भन्दै माओवादी भित्र असन्तुष्टी देखिएपछि माओवादीका नगर ईन्चार्ज गेल्बु शेर्पाले वागी उम्मेदवारी दिए।

यो नगरमा माओवादीले आफ्ना बागी उम्मेदवार शेर्पाको धारा चिन्हको पक्षमा आधिकारिक रुपमा प्रचार थाल्यो। त्रिपक्षीय प्रतिस्पर्धा चलेको नगरमा निर्वाचनको नतिजाले सबैलाई चकित तुल्याइदियो। यसअघि ६ ओटा वडा जितेको एमालेले जितेका प्राय वडा गुमाउँदै आएको थियो। नौ ओटा वडाको गणना हुँदै गर्दा ७ ओटा वडासम्म कांग्रेस उम्मेदवार लाक्पाले अग्रता लिए।

एमाले उम्मेदवार मित्र जिरेल पछि पछि थिए। ८ नं मा समेत ठूलो भिन्नता थिएन। मंगलबार अन्तिम वडा ९ को गणना हुँदा लाक्पा र एमाले उम्म्मेदवार जिरेलले भाग्यमा विश्वास गरेका थिए। तर त्यही ९ नम्बर वडाले जिरी नगरपालिकामा एमालेको विरासत जोगाइदिएको छ।

अल्पमतको कार्यपालिकासहित एमालेका मेयर मित्र र उपमेयर कृष्णमाया बुढाथोकी विजयी भएका छन्। मेयर जिरेलले कांग्रेसका शेर्पालाई २ सय ५७ मतको अन्तरले हराएका छन्। ‘८ ओटा वडासम्म आइपुग्दा केही भन्न सकिने अवस्था रहेन’ एमालेका नगर अध्यक्ष केशब कार्कीले भने, ‘९ नं वडाले विजयी गराइदियो’ उनले ४ नं बाहेक अन्य वडामा आफ्नो पार्टीको अनपेक्षीत नतिजा आएको स्विकार गरे।

एमालेले यो नगरमा दुई ओटा वडाध्यक्षसहित मेयर र उपमेयर जितेको छ। यस्तै माओवादी केन्द्रले ४ ओटा र दुई ओटा वडा कांग्रेसले जितेको छ। नेकपा एकीकृत समाजवादीले एउटा वडाध्यक्ष जितेको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App