८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्धक्क भएर मदाधिकारको प्रयोग गर्नुस्: गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो गृहनगर तिलोत्तमा ८ बाट मतदान गरेका छन्। तिलोत्तमा नगरपालिका ८ को ज्योती आधारभुत स्कुलको मतदान केन्द्रबाट गृहमन्त्री खाँणले पहिलो मत खसालेका हुन्।

मतदान गरेपछि संचारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले छिटपुट ठाउँमा बाहेक देशैभर शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको बताए। शान्तिपूर्ण रुपमा मतदान गर्ने सम्पूर्ण व्यवस्था सरकारले गरेकाले निर्धक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न आम मतदातालाई गृहमन्त्री खाँणले आग्रह गरे।

जनताको शक्तिलाई शसक्तिकरण गर्न र स्थानीय जनतालाई घरआगनमै सरकारको अनुभति गराउन स्थानीय निर्वाचन अपरीहार्य रहेकाले यसलाई सबै मिलेर सफल बनाउनु पर्नेमा गृहमन्त्री खाँणले जोड दिए। गठबन्धनका तर्फबाट तिलोत्तमाको मेयरका उम्मेदवार कांग्रेसका रामकृष्ण खाँणले पनि सोही केन्द्रबाट गृहमन्त्री लगत्तै भोट खसाले।

मेयरका उम्मेदवार खाँण गृहमन्त्रीका भाइ हुन्। यो नगरमा एमालेका तर्फबाट मेयरका उम्मेदवार पत्रकार मोहन चापागाईंले तिलोत्तमा वडा नं. २ को शंकरनगर दुर्गादत्त माविको मतदान केन्द्रबाट मतदान गरे। तिलोत्तमा ८ को ज्योति आधारभुत स्कुलको मतदान केन्द्रबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि मतदान गरेका छन्।

गृहमन्त्रीले मत खसालेर फर्केपछि बिहान ८ बजे केसीले सोही केन्द्रबाट मत खसालेका थिए। बुटवल उपमहानगरमा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेले बुटवल वडा नं. ८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट मत खसाले। एमालेका उपाध्यक्ष बिष्णु पौडेलले पनि बुटवलको सोही मतदान स्थलबाट बिहान मतदान गरे।

बुटवलमा एमालेका मेयरका उम्मेदवार बाबुराम भट्टराइले बुटवल ६ को चाँदबारी केन्द्रबाट मत खसालेका छन्। एमालेका स्थायी कमिटि सदस्य घनश्याम भुसालले तिलोत्तमा नगरपालिका ९ को विश्वशान्ति आधारभुत स्कलुको मतदान केन्द्रबाट मत खसालेका छन्।

रुपन्देहीका सबै मतदान स्थलहरुमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ। रुपन्देहीमा २०८ वटा मतदान स्थलमा ७ सय वटा मतदान केन्द्र राखीएको छ। निर्वाचन सुरक्षाकालागि जिल्लामा ४ हजार सुरक्षाकर्मी  परिचालन गरीएको छ। २८ वटा दल चुनावी प्रतिस्पर्धामा छन्। जिल्लामा ६ लाख ३२ हजार ३६० मतदाता छन्।

प्रकाशित: ३० वैशाख २०७९ ०५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App